PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विराटनगरको न्यूरो अस्पतालले शुरु गर्‍यो कोरोना संक्रमितको निःशुल्क उपचार, खर्च सरकारले दिने



अनन्तराज न्यौपाने

विराटनगरको न्यूरो अस्पतालले शुरु गर्‍यो कोरोना संक्रमितको निःशुल्क उपचार, खर्च सरकारले दिने

विराटनगर : विराटनगरमा निजी क्षेत्रको न्यूरो हस्पिटलले कोरोना संक्रमितको निःशुल्क उपचार शुरु गरेको छ। निजी क्षेत्रकै विराट अस्पतालले निःशुल्क उपचार शुरु गरेको दुई हप्तापछि न्युरो हस्पिटलले पनि सो सेवा शुरु गरेको हो।

प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयको स्वीकृतिपछि अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार शुरु गरेको अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए। विराटनगरको महेन्द्र चोकमा रहेको ५० शय्याको न्यूरो कोभिड अस्पतालमा जनरल बेड ४३ र आइसीयूका ७ बेड राखिएको छ। अस्पतालमा २ वटा भेन्टिलेटर छन्।

डाइरेक्टर भट्टराईले भने, ‘हाल संक्रमणको दर उच्च गतिमा बढिरहेको अवस्थामा कोरोना संक्रमितको उपचार गर्न शय्या अभावका कारण संक्रमितले पाउने स्वास्थ्य सेवाको गुणस्तरमा कमी आएको गुनासो बढिरहेकै बेला सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ।’

उनले संक्रमितको उपचार गरेको रिपोर्ट प्रदेश सरकारमा पेश गरेपछि उपचारमा खर्च भएको रकम सरकारले अस्पताललाई उपलब्ध गराउने बता। संक्रमितलाई तनावरहित सेवा दिन अस्पतालभित्रै आन्तरिक खेलकुदको व्यवस्था र टिभी हेर्ने कक्ष पनि राखिएको छ।

अस्पतालमा हाल ११ जना संक्रमित उपचाररत छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। उनीहरूलाई २४ घण्टे चिकित्सकीय परामर्श, पौष्टिक तथा सन्तुलित भोजन र चिकित्सकको सल्लाहबमोजिमका  आवश्यक औषधि लगायत सम्पूर्ण सेवासुविधा प्रदान गरिएको भट्टराईले उल्लेख गरे।

न्यूरो अस्पतालका क्राइसिस म्यानेजमेन्ट एन्ड रेस्पोन्स कमिटिका संयोजक इन्जिनियर रञ्जितराज बस्नेतले प्रदेश नम्बर १ मै पहिलोपटक नेपाल सरकारद्वारा मान्यताप्राप्त निजी कोरोना परीक्षण प्रयोगशालाको सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको स्पष्ट पारे।

कोभिड अस्पतालसँगै बनाउन लागिएको प्रयोगशालाको निर्माण कार्य सकिएर मेसिन जडानको काम भइरहेको छ। प्रयोगशाला सञ्चालनमा आइसकेपछि ६ घण्टाभित्र नतिजा आउने गरी दैनिक ५ सयको कोरोना परीक्षण गर्न सकिने बताइएको छ।

प्रयोगशाला सञ्चालनमा आएपछि अस्पतालका स्वास्थ्यकर्मीले शंकास्पद व्यक्तिको घरमै गएर पनि स्वाब संकलन गर्ने र सरकारद्वारा निर्धारित परीक्षण शुल्क लिने बस्नेतले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell