काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले हिमाल आरोहण र पदयात्रा खुला गर्न सीसीएमसीमा प्रस्ताव पठाएको बताएका छन्।
कोभिड १९ संक्रमणको कारण लामो समय लकडाउन हुँदा पर्यटन क्षेत्र पूर्णरुपमा बन्द भएकोले यसलाई खुला गर्न पहिलो चरणमा कम वस्ती भएका क्षेत्रमा पदयात्रा गर्न र हिमाल आरोहण गर्न सीसीएमसीमा प्रस्ताव पठाएको बताएका हुन्।
बिहीबार आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको पर्यटन क्षेत्रका सरोकारवालाहरुसँगको भर्चुअल मिटिङमा बोल्दै मन्त्री भट्टराईले चरणवद्ध रुपमा पर्यटन क्षेत्र खोल्ने नीति अनुसार पहिलो चरणमा हिमाल आरोहण र पदयात्रालाई खोल्न लागिएको बताए। उनले पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै लैजानका लागि असोज १५ गते भित्रमा आन्तरिक उडानलाई खोल्ने तयारी भइरहेको पनि बताए। पहिलो चरणमा उच्च पहाडी र पहाडी जिल्लामा २५ प्रतिशत उडान अनुमति दिएर आन्तरिक उडान सुरु गर्न लागिएको बताए। यस्तै पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय बजारमा पहुँच स्थापना गर्न पर्यटन बोर्डलाई विभिन्न मुलुकमा सेलहरु निर्माण गरेर काम गर्न निर्देशन दिइसकेको समेत बताए।
नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले विगतमा आन्तरिक पर्यटनलाई वेवास्ता गरि डलरको पछाडि दौडदा अहिले पर्यटन क्षेत्र उठ्नै नसक्ने अवस्थामा पुगेको बताए। पर्यटन क्षेत्रलाई सुचारु गर्न बाह्य उडानलाई बढाउने, विदेशी पर्यटकलाई नियमित उडानमार्फत ल्याउने, एयरपोर्टमा पीसीआर गर्ने व्यवस्था गर्नुपर्ने र क्वारेन्टाइन बस्ने समय घटाउने लगायतका काम सरकारले तत्काल गर्नुपर्ने माग गरे। त्यसबाहेक पर्यटन व्यवसायीलाई आफ्नो व्यवसाय सुरु गर्न पुनर्उत्थान कोषबाट छिटोभन्दा छिटो चालु पूँजी उपलब्ध गराउन र दिर्भकालिन पर्यटनका लागि आन्तरिक पर्यटनलाई बढाउनुपर्ने उनको भनाई छ।
होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट ल्याएको पुनरउत्थान कोषको उपयोग अझै गर्न नपाउँदा समस्या भएको बताए। उनले व्यवसायीले पुनर्कर्जाको लागि असोज १५ गतेसम्म आवेदन दिने म्याद रहेको र त्यसपछि पनि कहिले प्राप्त हुन्छ भन्ने कुरामा अझै पनि स्पष्ट हुन नसकेको बताए। त्यसबाहेक होटल कहिले खोल्ने, पर्यटकलाई कहिलेदेखि नेपाल ल्याउने भन्ने सम्बन्धमा सरकार अझै पनि स्पष्ट हुन नसकेको उनको भनाई थियो।
नेपालको पर्यटन क्षेत्रमा करिब १५ खर्ब रुपैयाँ लगानी रहेको छ। झण्डै १० लाख मानिसहरुले रोजगारी पाएका छन्। तर कोभिड १९ संक्रमणका कारण अधिकांशले रोजगारी गुमाइसकेका छन भने देशको अर्थतन्त्रमा ठूलो नोक्सानी भइसकेको छ। त्यसैले सरकारले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना सहित पर्यटन क्षेत्रलाई तत्काल सूचारु गर्नुपनेमा सरोकारवालाहरुले जोड दिएका छन्।
अन्तर्राष्ट्रिय उडानको संख्या थप गरिँदै
मन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्न लागिएको पनि बताए। उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रम मन्त्रीको बीचमा भएको छलफल पछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री इश्वर पोखरेलबीचको उच्च स्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको बताए।
बिहीबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै पर्यटन मन्त्री भट्टराईले कोभिड संक्रमण कम भएका मूलुकबाट पीसीआर नेगेटिभ भएका व्यक्तिलाई ल्याउन एयरलाइन्सहरुबाट माग भए अनुसार नियमित उडानको संख्या थप्ने समझदारी भएको बताए। पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अथवा कुनै विदेशी कम्पनीले आफ्नै खर्चमा कादमारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने उनले बताए। विदेशमा बेखर्ची भएर बस्नुपरेका नेपालीहरुलाई भने श्रम कल्याणकारी कोषबाट उद्धार गर्न श्रम मन्त्रालय र सम्बन्धित देशको नियोगसँगको समन्वयमा उडानको व्यवस्था गरिने पनि मन्त्री भट्टराईले बताए।
नियमित उडानको संख्या बढाउँदा एयरलाइन्सहरुबिच प्रतिस्पर्धा बढ्न गई भाडादर घट्ने विश्वास समेत मन्त्री भट्टराईको छ। उनले अन्तर्राष्ट्रिय एयरलाइन्सका नीति नियमलाई समेत मान्नुपर्दा भाडादर नियन्त्रण गर्न नसकेको बताए। सरकारले अन्तर्राष्ट्रिय निकायलाई पत्र पठाएर सचेत गराउँदा दुई देशबीचमा भएको हवाई सम्झौताको विवरण पठाएर नेपालले किन पत्र पठायो भन्ने आशयको प्रतिक्रिया आएको समेत बताए। आइटा लगायतका अन्तर्राष्ट्रिय संस्थाहरुले समेत त्यसमा आपत्ति जनाएको मन्त्री भट्टराईको भनाई छ।
