काठमाडौं : उत्तरमा कोरोलादेखि दक्षिण गैँडाकोटसम्मको कालीगण्डकी करिडोरमा हालसम्मको भौतिक प्रगति १८ प्रतिशत छ। राष्ट्रिय गौरवका तीन उत्तर-दक्षिण करिडोरमध्येको एक यस लोकमार्गमा झण्डै ५०० मिटरमा ट्र्याक खोल्न बाँकी छ भने हालसम्म कतै पनि कालोपत्र हुन नसकेको सडक विभागले जनाएको छ।
सो सडकमा गत आवमा भौतिक प्रगति ५२ र वित्तीय प्रगति ५१ प्रतिशत थियो। सडकमा कतै ट्र्याक खोल्ने, कतै स्तरोन्नति र कतै कालोपत्रका लागि ठेक्का सम्झौता भइरहेको छ। सो लोकमार्गमा २५ पुल डिजाइनका क्रममा रहेकाले आगामी वर्ष निर्माण प्रक्रियामा जाने उत्तर-दक्षिण करिडोर आयोजनाले जनाएको छ।
आयोजनामा आशा गरेअनुसार गतिमा काम हुन नसकेको आयोजना प्रमुख शिवप्रसाद नेपालले बताए। विभागले निर्माण गरिरहेको खण्डमा चालु आवमा १३२ किमी ग्राभेल गरेर त्यसमध्ये १०६ किमीमा कालोपत्र गरिने लक्ष्य लिइएको छ। पच्चीस पुल ठेक्कामा जानेछ।
राजमार्गको लम्बाइ ४३५ किमी रहेकामा गैँडाकोटदेखि राम्दीसम्मको १३२ किमी एक्जिम बैंकको ऋण सहयोगमा निर्माण भइरहेको छ। कालोपत्रका लागि ठेक्का भइसकेको छ। राम्दीदेखि मालढुङ्गासम्म ११३ किमी लम्बाइमा ३६ किमी नेपाली सेनाले बनाइरहेको छ। सेनाले कतिपय खण्डमा ट्र्याक खोलिसकेर हस्तान्तरण गरिसकेको छ भने कतिपय निर्माणको क्रममा ट्र्याक खोल्न बाँकी चालु आवमै सम्पन्न गरेर बुझाउने बताएको छ। आयोजनाले रिडीदेखि हर्मिचौर खण्डको कालोपत्रेका लागि सूचना निकालेको छ।
आयोजना प्रमुख नेपालले भने, ‘यो खण्डमा चालु आवमा कालोपत्र हुनेछ।’
मालढुङ्गादेखि रिडीसम्मको खण्डमा कालीगण्डकीको कतातर्फ करिडोर निर्माण गर्ने भनी ‘एलाइन्मेन्ट’ विवाद रहेको थियो। विवाद समाधानका लागि ५७ किमी क्षेत्रमा दुवैतर्फ गर्ने भन्ने निर्णयका आधारमा काम अघि बढाइएको छ। कालीगण्डकी बाँयातर्फ पर्वतमा धेरै र थोरै स्याङ्जामा करिडोर निर्माण भइरहेको छ। पर्वतपट्टि ५७ किमी मिर्मीदेखि अर्मादीसम्म काम भइरहेको छ। कालीगण्डकी दायाँतर्फ सेनाले ३६ किमी र बाँकीमा सडक विभागले निर्माण गरिरहेको छ।
गैँडाकोटदेखि मालढुङ्गासम्म एक्जिम बैंकले निर्माण गरेको बाहेक २४५ किमीमध्ये थोरै क्षेत्रमा मात्रै ट्र्याक खोल्न बाँकी छ। पाल्पाको रानीमहल नजिकै ५०० मिटरमा ट्र्याक खोल्न बाँकी छ। गत आवमा खोल्नुपर्ने भएपनि कोरोनाका कारण नसकिएकाले सडक चाँडो खोलिसकिने प्रमुख नेपालले जानकारी दिए।
उनले भने, ‘चट्टानी क्षेत्र भएकाले केही कठिन भए पनि एकतर्फी गाडी चल्ने भए पनि खोलिनेछ।’
रानी महल नजिक ट्र्याक खोल्न बाँकी छ भने ट्र्याक सुधार गर्न मुस्ताङमा बाँकी रहेको आयोजनाले जनाएको छ। समर खोलामा पुल बनाउन बाँकी छ। त्यो पुलसम्मको झण्डै २०० मिटर एक्सेस रोड बनाउनुपर्ने छ। बेनीबाट जोमसोसम्म ७६ किमी सडक कालोपत्रका लागि गत वर्ष नै ठेक्का सम्झौता भएको थियो। त्यसमा अहिलेसम्म एक किमी सडक पनि कालोपत्रे भइसकेको छैन। वर्षाले निर्माणाधीन सडकमा थप क्षति पुगेको छ। राजमार्ग डिजाइनमा जम्मा ५१ पुलमध्ये अहिलेसम्म १६ सम्पन्न भइसकेको छ। हाल १० निर्माण भइरहेको छ। थप २५ पुल बनाउनुपर्ने उनले बताए।
उनले भने, ‘आगामी वर्ष बाँकी ठेक्का प्रक्रियामा अघि बढ्नेछन्।’
राजमार्गमा डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) नभई खण्डखण्डमा काम शुरु भएकाले निर्माणमा ढिलाइ भइरहेको प्रमुख नेपालले बताए। निर्माणको काम कतै सेना र कतै आयोजना गरी फरकफरक निकायबाट भइरहेको छ। कतिपय स्थानमा पाँच मिटर (एक लेन) ट्र्याक खोलिसकेर अरू खण्डमा काम शुरु भएको छ। पछि त्यो ठाउँमा दुई लेन बनाउने भनेपछि फेरि त्यहीँ काम गरिँदै आइएको छ।
देशका सबै विकास निर्माणमा जस्तै यहाँ पनि निर्माण सामग्री सजिलै नपाइने समस्या ज्यूँका त्यूँ छन्। अरू दुई करिडोरजस्तै कालीगण्डकीमा पहिले सेनाले ट्र्याक खोल्ने त्यसपछि विभागलाई हस्तान्तरण गरेपछि स्तरोन्नतिका लागि छुट्टै तयारी गर्नुपर्छ।
उनले भने, ‘त्यसका लागि डीपीआर र वातावरणीय अध्ययन गर्नुपर्ने हुन्छ।’
सडकको अधिकार क्षेत्रमा बस्तीमा केही समस्या भए पनि कतिपय स्थानमा स्थानीयवासीले जग्गा स्वतःस्फूर्त रूपमा दिइरहेका छन्। तीनै लोकमार्गको ट्र्याक खुलिसकेकाले सवारीसाधन चल्न थालेका छन्। कोशी राजमार्गमा १४ किमी ट्र्याक खोल्न बाँकी रहेकामा अहिले त्यहाँ सेनाले काम गरिरहेको छ। चालु आवभित्रै ट्र्याक खोलिसकिने मन्त्रालयले जनाएको छ।