PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

चैतमा होला नेकपाको महाधिवेशन?, ‘६ महिनापछि सहमतिको प्रस्ताव ल्यायौँ भन्नु हास्यास्पद’



कुञ्जरमणि भट्टराई

चैतमा होला नेकपाको महाधिवेशन?, ‘६ महिनापछि सहमतिको प्रस्ताव ल्यायौँ भन्नु हास्यास्पद’

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी चैतमा पार्टी एकता महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्। शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्तावमा चैत २५ देखि ३० गतेसम्ममा महाधिवेशन गर्ने उल्लेख छ।

उक्त मिति गत माघ १५-१९ गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकले तय गरेको थियो। केन्द्रीय कमिटीले मिति पारित गरेको ६ महिनापछि फेरि ओली र प्रचण्ड चैतमा नै महाधिवेशन गर्ने निष्कर्षमा पुगेका हुन्। अध्यक्षद्वयले सहमतिको प्रस्तावको रूपमा यसलाई अघि सारेका छन्।

यता, नेकपाका एक नेताले भने कमिटीबाट निर्णय भएको ६ महिनापछि सोही प्रस्ताव आउनु 'हास्यास्पद' भएको टिप्पणी गर्छन्।

‘केन्द्रीय कमिटीले चैतमा महाधिवेशन गर्ने भनेर निर्णय गरेको छ। नेतृत्वले ६ महिनापछि एकताको महाधिवेशन चैत्रमा भन्दै सहमतिको प्रस्ताव ल्यायौँ भन्नु हास्यास्पद हो। अब, यही अवस्थामा चैतमा महाधिवेशन कुनै हालतमा सम्भव छैन' ती नेताले दाबी गरे।

चैतमा सम्भव छैन महाधिवेशन

नेतृत्वले महाधिवेशनको प्रस्ताव अघि सारे पनि कोरोना भाइरस संक्रमणको अवस्था कायमै रहेको र पार्टीले महाधिवेशनका लागि तयारी नै नगरेको अवस्थामा चैतमा महाधिवेशन सम्भव नहुने नेकपा नेताहरूकै दाबी छ।

‘कोरोना भाइरसको संक्रमण बढ्दो छ। यो संक्रमण अझै फैलिने सम्भावना रहेको छ,’ केन्द्रीय सदस्य विष्णु रिजाल भन्छन्,’ यस्तो अवस्थामा कोरोना भाइरसले हाम्रो पार्टीको महाधिवेशनलाई अछुतो राख्ला र?’

अर्का केन्द्रीय सदस्य कुमार पौडेल पनि चैतमा महाधिवेशन हुने सम्भावना देख्दैनन्। कोरोना भाइरसको संक्रमण मात्रै महाधिवेशन हुन नकस्ने कारण भने नभएको उनी बताउँछन्।

‘पार्टी एकताका काम टुंग्याउन बाँकी नै छन्। पार्टी सदस्यता अद्यावधिक गर्नुपर्ने छ। महाधिवेशनका लागि गाउँ, नगर, जिल्ला, प्रदेशलगायतका तल्ला कमिटीका अधिवेशन गर्नुपर्ने हुन्छ। त्यस्तै पार्टी दस्तावेज बनाउने र त्यसमा गहन छलफल गर्नुपर्ने छ। हामीसँग समय छोटो छ। त्यसैले चैतमा महाधिवेशन हुने सम्भावना देख्दिनँ,' उनले भने।

क्षमता प्रदर्शन गर्ने मौका

नेकपाका केही नेताहरू भने नेतृत्वले चाहे महाधिवेशन सम्भव भएको दाबी गरिरहेका छन्।

स्थायी कमिटी सदस्य युवराज ज्ञवाली कोरोना संक्रमण घट्दै गएमा महाधिवेशन सम्भव हुने बताउँछन्। कोरोना संक्रमणको अवस्थाले महाधिवेशनको समय निर्धारण हुने बताउँदै उनले भने, 'कोरोना भाइरसको संक्रमणमा भरपर्छ। संक्रमण घट्दै गएमा महाधिवेशन सम्भव छ। तयारीका लागि पनि समय पुग्छ' उनी भन्छन्, ‘आगामी निर्वाचनभन्दा केही समयअघि नै महाधिवेशन सक्नुपर्छ। सकेसम्म महाधिवेशन छिटै गर्नुपर्छ।'

अर्का स्थायी कमिटी सदस्य गणेश साह भने संकटको बेलामा महाधिवेशन गरेर नेतृत्वले क्षमता प्रदर्शन गर्नुपर्ने तर्क गर्छन्।

‘कोभिड-१९ को संक्रमणको बेलामा सम्भावनाको खोजी गर्नुपर्छ। कसरी महाधिवेशन गर्ने भनेर नेतृत्वले विचार गर्नुपर्छ। एकता महाधिवेशन भए पार्टी दौडन्छ। संकटको बेलामा छोटो समयमा महाधिवेशन गरेर नेतृत्वले क्षमता प्रदर्शन गर्न सक्नुपर्छ।'

एक महिनामा होला एकता पूरा?

नेकपाले ३ महिनाभित्र एकता प्रक्रिया टुंग्याउने उद्घोष गरेको थियो। तर, एकता भएको २७ महिनासम्ममा पनि पूर्णता पाउन सकेको छैन। अधिवेशनका लागि एकता प्रक्रिया टुंग्याउनुपर्ने बाध्यता नेताहरूलाई छ।

गत पुसमा बसेको स्थायी कमिटी र माघमा बसेको केन्द्रीय कमिटी बैठकले १५ दिनभित्र एकताका बाँकी काम पूरा गर्ने निर्णय गरेको थियो। तर, निर्णय कार्यान्वयन हुन् सकेन। अहिले अध्यक्षद्वयले अघि सारेको प्रस्तावमा असोजमा बाँकी रहेका काम टुंग्याउने उल्लेख गरिएको छ। अध्यक्षद्वयबीचको विवादका कारणले अवरुद्ध हुन पुगेको एकीकरण प्रक्रियालाई सहमतिका साथ अघि बढाउने र आवश्यकता अनुसार नयाँ निर्णय लिने प्रस्तावमा भनिएको छ।

तर, नेकपाकै नेताहरु भने पहिलेकै निर्णय कार्यान्वयन नभएको भन्दै एकताले पूर्णता पाउनेमा शंका रहेको बताउँछन्।

के छन् बाँकी काम?

पार्टी एकतापछि नेकपामा अनुशासन आयोग, लेखा परीक्षण आयोग, निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्ष र सचिव तोकिए पनि त्यसमा रहने सदस्यहरूको टुङ्गो लगाउन बाँकी छ। त्यस्तै केन्द्रीय विभाग, प्रदेश र स्थानीय तहका कमिटी, जनवर्गीय संगठन र प्रवास क्षेत्रको संगठनात्मक एकीकरणका काम बाँकी छन्।

त्यस्तै लामो समयदेखि बहस भए पनि पोलिटब्यूरो गठन हुन सकेको छैन। अध्यक्षद्वयको प्रस्तावमा पोलिटब्यूरो गठन गर्ने उल्लेख छ।

‘केन्द्रीय सचिवालयले पार्टी विधान, नियमावली र निर्धारित मापदण्डका आधारमा एकता-एकीकरणका बाँकी काम असोज महिनाभित्र सम्पन्न गर्ने। केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, पोलिटब्यूरो, केन्द्रीय विभाग, प्रदेश र स्थानीय तहका कमिटी, जनवर्गीय संगठन र प्रवास क्षेत्रको संगठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखको समेत एकीकरण सम्पन्न गर्ने,' प्रस्तावमा उल्लेख छ।

महाधिवेशनको तयारी कसरी गर्ने ?

देशभरमा ८ लाख कार्यकर्ता रहेको नेकपाको दाबी छ। तर, आधिकारिक रुपमा यकिन भएको छैन।

ओली र प्रचण्डले महाधिवेशनका लागि कात्‍तिकमा जिल्ला कमिटीहरूले संगठित सदस्यता विवरण अद्यावधिक गर्ने अठोट गरेका छन्। त्यस्तै मंसिर महिनामा संगठित सदस्यता नवीकरण गर्ने प्रस्ताव अघि सारिएको छ।

‘संगठन विभागको कार्य योजनामा आगामी कात्तिकभित्र सम्बन्धित जिल्ला कमिटीहरूले पार्टीको संगठित सदस्यता विवरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रीय संगठन विभागमा पठाउने। मंसिर महिनाभित्र संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने। प्रवास क्षेत्रमा पनि सोही अनुरूप गर्ने,' प्रस्तावमा भनिएको छ।

त्यस्तै महाधिवेशनसम्बन्धी कार्ययोजना पारित गर्न कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक बोलाउने नेकपाको तयारी छ।

बैठकमा केन्द्रीय सचिवालयबाट एकताको राष्ट्रिय महाधिवेशनको तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटीलगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिका लगायत समग्र कार्ययोजना प्रस्तुत गर्ने उल्लेख छ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता टुंग्याउँदा 'विचारको बहस' महाधिवेशनमा टुंग्याउने सहमति भएको थियो। ओली र प्रचण्डले विचार, नीति तथा विधिलाई महाधिवेशन तयारीको महत्त्वपूर्ण विषयका रूपमा ग्रहण गर्ने र त्यही अनुसार दस्तावेज मस्यौदा तयार गर्ने बताएका छन्।

दस्तावेज तयार भयसँगै वैचारिक, नीतिगत तथा विधिगत विषयमा बहस, छलफल सञ्चालन गर्ने भनिएको छ। तर, कोभिड-१९ का कारण विचारमाथि बहसका लागि समय अपुग हुने नेताहरूको बुझाई छ। महाधिवेशनबाट मार्क्सवाद–लेनिनवादको मार्गदर्शनमा नेपाली विशेषता अनुरूप नेपाली कम्युनिस्ट आन्दोलनले विकसित गरेका अनुभव तथा मौलिक एवं सिर्जनात्मक सिद्धान्तहरूलाई संस्थागत गर्ने प्रस्तावमा उल्लेख छ।

नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले विवाद समाधानका लागि 'अर्ली महाधिवेशन'को प्रस्ताव पनि अघि सारेका थिए। पार्टीमा विवाद बढ्दै गएपछि ओलीले मंसिरमा महाधिवेशनको प्रस्ताव अघि बढाएका थिए।

तर, अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव मान्न तयार भएनन्। अन्ततः नेकपा ६ महिनाअघि नै तय भएको मितिमा महाधिवेशन गर्ने अठोटमा पुगेका हो।

आउने फागुनमा विपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन पनि तय थियो। तर कोरोना कहरका कारण कांग्रेसको महाधिवेशन सर्ने लगभग निश्चित छ। कांग्रेसभन्दा एक महिना ढिलो हुनेगरि तय भएको नेकपाको महाधिवेशन पनि कोरोना कहरबाट प्रभावित नहोला भन्न सकिन्न।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell