PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

म्यागङ गाउँपालिकाले म्याद गुज्रिएको औषधि वितरण गरेको स्थानीयको आरोप



रासस

म्यागङ गाउँपालिकाले म्याद गुज्रिएको औषधि वितरण गरेको स्थानीयको आरोप

विदुर : नुवाकोटको म्यागङ गाउँपालिका कार्यालयले कुहिएको तथा सडेगलेको र मिति सकिसकेको औषधि वितरण गरेको भनी स्थानीयवासीले आज गाउँपालिकाको विरोधमा नाराजुलुस गरेका छन्। गाउँपालिका-३ स्थित सिउरिनी भञ्याङको देउराली प्राथमिक स्वास्थ्य केन्द्रले कुहिएको र सडेगलेको औषधि आफूहरुलाई वितरण गरेको भनी स्थानीयवासीले गाउँपालिकाको विरोध गर्दै नाराबाजी र जुलुस गरेका हुन्।

सोही स्थानका धनम तामाङ र छेपन तामाङले केही दिन अगाडि ज्वरो आएकाले सिटामोल चक्की स्वास्थ्य केन्द्रबाट लगी खाँदा एक्कासि रिँगटा लाग्ने र बान्ता आएकाले स्वास्थ्य केन्द्रका अनमी बैदेवी हमाललाई भेटेर औषधि देखाउँदा उनले औषधि भण्डार गर्ने ठाउँ राम्रो नभएका कारण गुणस्तरहीन भइसकेको हुनाले खान नहुने बताएको स्थानीयवासी काजीमान डंगोलले जानकारी दिए।

गाउँपालिकाका अध्यक्ष आशा तामाङले देउराली प्राथमिक स्वास्थ्य केन्द्रबाट वितरण भएको औषधि गुणस्तरहीन र मिति सकिएकाले बुधवार जलाइएको र यसबारे अनुसन्धान गरिने जानकारी दिए। गाउँपालिका, देउराली स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक फैराज तामाङले स्थानीयवासीलाई वितरण गरिएको औषधिको मिति सकिन अझै एक महिना बाँकी रहेको जिकिर गरे।

प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले औषधिमा लापरबाही गर्ने जोसुकैलाई पनि छानबिन गरी कारबाही गरिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell