PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

प्लाज्माथेरापीको लागि रेडक्रसले शुरु गर्‍यो कोरोना संक्रमणमुक्त भएकाहरुको रक्त संकलन कार्य



रासस

प्लाज्माथेरापीको लागि रेडक्रसले शुरु गर्‍यो कोरोना संक्रमणमुक्त भएकाहरुको रक्त संकलन कार्य

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले कोभिड-१९ का संक्रमितको उपचारमा सहयोग पुर्‍याउन प्लाज्मा थेरापीको लागि रगत संकलन गर्न शुरु गरेको छ। बुधवार सोसाइटीको केन्द्रीय कार्यालयमा अवस्थित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा ३९ वर्षीय खिमबहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि रक्तदान गरेका थिए।

कोरोनामाथि विजय हासिल गरेका तनहुँ घर भई हाल काठमाडौं बस्दै आएका उनले पहिलो पटक रक्तदान गरेको बताए।

उनले भने, ‘कोरोना जित्नु भएकाहरुलाई म रक्तदानका लागि अनुरोध गर्दछु। मैले कहिल्यै रक्तदान गरेको थिइनँ। कोरोना संक्रमण निको भएपछि पहिलो पटक रक्तदान गरेँ। आफ्नो रगतले अरु संक्रमितलाई सहयोग पुग्छ भन्ने थाहा पाएपछि रक्तदान गरेको हुँ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुरोधमा विभिन्न संस्थाहरुसँगको सहकार्यमा सोसाइटीले प्लाज्मा थेरापीको लागि रगत संकलन सेवा शुरु गरेको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा मनिता राजकर्णिकारले जानकारी दिइन्। सोसाइटी र नेपाल चिकित्सक संघका बीच रगत संकलनमा सहकार्य गर्ने बुधवार सात बुँदे सम्झौतामा हस्ताक्षर भएको थियो।

सोसाइटीका अध्यक्ष डा नेत्र तिमिल्सिना र संघका अध्यक्ष डा लोचन कार्कीले दाताहरुको नाम संकलन गरी प्लाज्मा बैंक स्थापनामा सहकार्य गर्दै अगाडि बढ्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताबमोजिम सोसाइटीले प्लाज्मा दानका लागि प्रविधिक जनशक्ति, प्लाज्मा ब्याग लगायत आवश्यक सामग्रीहरुको व्यवस्थापन तथा प्लाज्मा बैंकको स्थापना गर्नेछ।

त्यसमा संघले प्लाज्मा संकलनका लागि कोभिड-१९ संक्रमण भई निको भएका नागरिकहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको विवरण संकलन गरी प्लाज्मा दान गर्न सरोकारवाला दाताहरुसँग समन्ययनकारी भुमिका निर्वाह गर्नेछ। सोसाइटीको समन्वयनमा प्लाज्मा दान  गर्ने दाताहरुको सम्मानका लागि आवश्यक तयारी गरिएको छ। सो अवसरमा सोसाइटीका अध्यक्ष डा तिमिल्सिनाले समग्र रक्तसञ्चार सेवामा रेडक्रस एक्लो ‘एक्टर’ होइन र ‘कन्सोटियम’को अवधारणा लिई साझा दायित्व बहन गर्न सवै सरोकारवालाहरुलाई अनुरोध गरे।
 
कार्यक्रममा उपस्थित काठमाडौं महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष निलकाजी शाक्यले रक्तदानका लागि वडामा बसोबास गर्ने संक्रमण निको भएकाहरुको खोजी गर्ने र रक्तदानमा उत्प्रेरीत गर्ने कार्य महानगरपालिका वडा नम्बर २५ र २७ ले गरिरहेको जानकारी दिए। लायन्स क्लब ब्लडसर्कलले रक्तदान गर्नेहरुलाई उत्प्रेरणा र सम्मान गर्ने गरी समन्वय गरिएको पनि वडाध्यक्ष उनले बताए।

सामाजिक दुरी कायम गरी आयोजना गरिएको कार्यक्रममा सोसाइटीका उपाध्यक्ष शर्मिला कार्की, कोषाध्यक्ष सिताराम कोइरालासहित पदाधिकारी तथा सदस्य, कामु कार्यकारी निर्देशक सुर्दशन अधिकारी, चिकित्सक संघका पदाधिकारी, रक्तसञ्चार विशेषज्ञ डा बिपिन नेपाल र लायन्स क्लबका प्रतिनिधिहरुको उपस्थिति थियो।

स्थानीय अस्पतालसँगको सहकार्यमा रेडक्रसका सुनसरी, चितवन, भक्तपुर, बुटवल, नेपालगञ्ज, र कैलालीमा रहेका रक्तसञ्चार सेवाले प्लाज्मा थेरापीको लागि रक्तसंकलन शुरु गरिसकेको सोसाइटीले जनाएको छ। धनुषा र पोखरामा पनि यस्तो सेवा छिटै शुरु गरिने जनाइएको छ।

प्लाज्मा थेरापी उपचारको प्रभावकारिता अहिले पनि अनुसन्धानकै क्रममा रहेको चिकित्सकहरुले बताएका छन्। प्लाज्मा दान गर्दा दाताहरुलाई कुनै पनि शारीरिक तथा मानसिक असरहरु नपर्ने चिकित्सक संघले जनाएको छ। संघका अध्यक्ष डा कार्कीले नागरिकहरुको जीवन रक्षा गर्ने पवित्र कार्यमा संलग्न हुन सरोकारवालाहरुलाई आग्रह गरेका छन्।

सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले कोरोनाको जोखिम हुन नदिन सोसाइटीले प्रतिकार्यका काम गरिरहेको बताए। सोसाइटीका विपद् व्यवस्थापन विभागका निर्देशक मोना अर्यालले कोभिड–१९ को संक्रमणको जोखिम न्युनिकरणका लागि सोसाइटीले समुदायमा स्वच्छता प्रवर्द्धन र सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell