PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

अब काठमाडौँ उपत्यकाबाट बाहिर जान समेत कडाइ, अत्यावश्यक कामले उपत्यका छोड्नपरे के गर्ने?



पहिलोपोस्ट

अब काठमाडौँ उपत्यकाबाट बाहिर जान समेत कडाइ, अत्यावश्यक कामले उपत्यका छोड्नपरे के गर्ने?

काठमाडौं : भदौ ३ गतेदेखि स्थानीय प्रशासन कार्यालयले काठमाडौँ उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ। अहिले अनावश्यक रूपमा उपत्यका भित्रन तथा छोड्न समेत दिइएको छैन। बिहीवारबाट लकडाउन केही खुकुलो भएको छ। तर, काठमाडौँ उपत्यका भित्रिन भने सहज छैन।

सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गरेदेखि नै काठमाडौँ उपत्यकाभित्रका नाकामा आवतजावतमा कडाई गरिएको थियो।  बीचमा केही खुकुलो पारिएको भए पनि अब भने अत्यावश्यक काममा पनि प्रशासनबाट जारी भएको पास लिएरमात्र काठमाडौं बाहिर जान पाइने छ।

लामो दुरीका सवारी साधन चलेका छैनन्। तर, अत्यावश्यक कामले काठमाडौँ छोडेर जानु पर्ने भए के गर्ने?

दाह संस्कार, बिरामी भएमा, कुनै पनि कर्मचारीको सरुवा लगायत अत्यावश्यक काममा भने जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर जिल्ला बाहिर जान पाइनेछ। यसरी जानका लागि सवारी पासको लिनुपर्ने हुन्छ।

त्यसका लागि आफूले काठमाडौँ उपत्यका बाहिर जानुको कारणसहित आफू बसेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ। त्यसपछि जानु पर्ने ठाउँको जिल्ला प्रशासन कार्यालयले दिएको सिफारिस पत्र पेस गर्नु पर्ने छ। जस्तै तपाईँ काम परेर झापाको गौरादह नगरपालिका जानु हुँदैछ भने तपाईँले जिल्ला प्रशासन कार्यालय झापा र गौरादह नगरपालिकाले तपाईँलाई आउन दिएको सिफारिसपत्र पेस गर्नुपर्छ।

त्यसपछि जिल्ला प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर)ले जाने व्यक्ति स्वयम् उपस्थित भएर आवश्यक देखिएको खण्डमा सवारी पास उपलब्ध गराउने छ। यसरी उपलब्ध गराएको सवारी पासमा तोकिएको मानिसभन्दा बढी मानिस जान पाइने छैन।

अत्यावश्यक कामबाहेक काठमाडौँ उपत्यकाभित्र आवतजावत गर्न कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए।

पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र कोभिड १९ सङ्क्रमित थपिँदै गएको छ। २४ घण्टाभित्र देशभर थपिने सङ्क्रमितको सङ्ख्यामा झन्डै झन्डै आधा जति काठमाडौँ उपत्यकाभित्रमा नै थपिने गरेको छ। सङ्क्रमित थपिँदै गर्दा उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ। नाकाबाट आवतजावतले कोरोना भित्रिएको भन्दै विभिन्न समूहहरूले नाकामा कडा गर्नुपर्ने समेत सुझाव दिँदै आएका छन्। नाकामा कडाइ गर्न सेना परिचालन गर्ने समेतका कुरा उठिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell