काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ। आन्तरिक विवादका कारण लामो समय स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।
बालुवाटारमा बोलाइएको बैठकमा विवाद समाधानका लागि कार्यदलले पेश गरेको प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अन्तिम रुप दिएको प्रस्तावमाथि छलफल हुनेछ। उक्त प्रस्ताव बुधवार नै स्थायी कमिटी सदस्यहरुलाई इमेलमार्फत् पठाइएको छ।
असार १० गतेदेखि सुरु भएको बैठक शुक्रवार नै टुंग्याउने तयारी छ। कोभिड-१९ का कारण बैठक लम्बायाउने नसकिने भएकाले नै अध्यक्षद्वयले तयार पारेको प्रस्ताव सदस्यहरुलाई सुझाव दिन बुधवार नै पठाइएको नेताहरु बताउँछन्।
प्रस्तावमा वरिष्ठ नेता माधव कुमार नेपालले उठाउँदै आएको एक व्यक्ति एक प्रमुख जिम्मेवारीको विषय भने समेटिएको छैन। प्रस्तावमाथि नेता नेपालको असन्तुष्टि कायम नै छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा प्रचार प्रसार विभाग उपप्रमुख सूर्य थापाले भने आजको बैठकले पार्टीको कचिङ्गल अन्त्य हुने अपेक्षा गरिएको बताएका छन्।
‘आज ११:०० बजे बस्ने स्थायी कमिटीको बैठकले पार्टीलाई अतीतमुखी कचिङ्गलबाट मुक्त गरेर सुन्दर भविष्यमुखी बनाउने अपेक्षा गरिएको छ। गुटबन्दी र गणितीय चलखेलबाट मुक्त भएर पार्टी एकीकरण,सहमति र अग्रगतिका साथ भविष्यमुखी बन्न अग्रसर हुनुको अर्को विकल्प पनि त छैन,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।
