PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

अध्यक्षद्वयको प्रस्ताव पारित गर्दै नेकपा स्थायी कमिटीले तोक्यो महाधिवेशनको मिति : पार्टी प्रचण्डले चलाउने, सरकार ओलीले



कुञ्जरमणि भट्टराई

अध्यक्षद्वयको प्रस्ताव पारित गर्दै नेकपा स्थायी कमिटीले तोक्यो महाधिवेशनको मिति : पार्टी प्रचण्डले चलाउने, सरकार ओलीले

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सकिएको छ। विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको प्रस्तावित प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकमा प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव पारित गर्दै बैठक सकिएको हो।

बैठकले कार्यकारी अध्यक्षको अधिकार प्रचण्डलाई दिने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री ओली सरकार सञ्चालनामा केन्द्रित हुने सहमति भएको उनको भनाई छ।

त्यसैगरी पार्टीलाई विधि र पद्धतिका आधारमा चलाउने र यसअघि भएका कमी कमजोरीलाई सच्याउने सहमति भएको श्रेष्ठले बताए। असार १० गतेबाट सुरु स्थायी कमिटी बैठक शुक्रवार सकिएको हो।

शुक्रवारको बैठकमा अष्टलक्ष्मी शाक्य, माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, युवराज ज्ञवाली, नारायणकाजी श्रेष्ठलगायतले धारणा राखेका थिए। बैठकले स्थायी कमिटी सदस्यले राखेका धारणा समेटेर प्रतिवेदन पास गरेको श्रेष्ठले जानकारी दिए। 'दुर्घटनाबाट बचाउँदै सांगठनिक एकता गर्ने विषयमा सहमति भएको छ,'श्रेष्ठले भने।

बैठकले पार्टी एकताको रक्षा गर्ने र पार्टीलाई सुदृढ गरी अघि बढाउने निर्णयसमेत गरेको छ।

सरकार ओलीले चलाउने पार्टी प्रचण्डले

बैठकले अध्यक्षद्वयको कार्य विभाजनसमेत गरेको प्रवक्ता श्रेष्ठले बताए। उनकाअनुसार अब अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा ध्यान दिनेछन् भने अर्का अध्यक्ष प्रचण्डले पार्टी हाँक्ने छन्।

'सरकारका दैनिक काममा पार्टीले हस्ताक्षेप नगर्ने सहमति भएको छ। तर, राष्ट्रिय कुरामा सरकारले निर्णय गर्दा पार्टीको भावनाअनुरुप अघि बढ्नुपर्ने निर्णय भएको छ,' श्रेष्ठले भने।

महाधिवेशनको मिति तोकियो

नेकपाले आफ्नो महाधिवेशनको मितिसमेत तोकेको छ। बैठकले २०७७ चैत्र २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको श्रेष्ठले बताए। महाधिवेशनबारे छलफल गर्न नेकपाले कातिक १५ देखि १७ गतेसम्मका लागि केन्द्रीय कमिटी बोलाएको छ।

सीमाबारे भारतसँग वार्ता गर्ने

त्यसैगरी बैठकले अतिक्रमित भुभागमा नेपालीको हकभोग स्थापना गर्ने र विदेशी सुरक्षाकर्मीलाई फिर्ता गर्ने गरी सरकारले गरेको निर्णयलाई धन्यवाद दिँदै भारतसँग कुटनीतिक वार्ता गर्ने निर्णय गरेको छ।

'अतिक्रमित भुभागमा नेपालीको हकभोग स्थापना गर्ने र विदेशी सुरक्षाकर्मीलाई फिर्ता गर्ने गरी सरकारले गरेको निर्णयलाई धन्यवाद र साथ दिने नागरिक समाजलाई धन्यवाद दिँदै अब भारतसँग राजनीतिक कूटनीतिक वार्ताबाट नै हल निकाल्ने पार्टीले निष्कर्ष निकालेको छ,' श्रेष्ठले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell