काठमाडौं : पछिल्लो २४ घण्टामा ४६ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। हालसम्म सबैभन्दा धेरै पछिल्लो २४ घण्टामा संक्रमित पहिचान भएका हुन्।
२४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ७०१ परीक्षणका क्रममा ४६३ महिला र ९९१ पुरुष गरी १ हजार ४५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या ५१ हजार ९१९ पुगेको छ।
काठमाडौंमा पनि हालसम्मकै बढी
पछिल्लो २४ घण्टामा मात्र काठमाडौं उपत्यकामा ६९६ जनामा संक्रमण पुष्टि भएको छ। जुन नेपालमा पछिल्लो २४ घण्टामा पहिचान भएका संक्रमितको ४७.८६ प्रतिशत हो।
संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा छन्। काठमाडौं जिल्लामा १९४ महिला र ४२६ पुरुष गरी ६२० जनामा संक्रमण पुष्टि भएको छ। जुन नेपालमा कुल संक्रमितको ४२.६४ प्रतिशत हो।
त्यस्तै भक्तपुरमा र ललितपुरमा समान १७/१७ महिला र २१/२१ पुरुष गरी ३८/३८ जना संक्रमित पहिचान भएका छन्।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये सबै भन्दा बढी वाग्मती प्रदेशमा ८४४ जना रहेका छन्। जसमध्ये महिला २७४ र पुरुष ५७० छन्। नेपालमा थप भएका कुल संक्रमित मध्ये ५८.०४ प्रतिशत वाग्मतीका हुन्। वाग्मती प्रदेशको चितवनमा ७४ र मकवानपुरमा ५४ जना संक्रमित थप भएका छन्।
त्यस्तै, प्रदेश ५ मा पछिल्लो २४ घण्टामा २४८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये महिला ७८ र पुरुष १७० छन्। प्रदेशमा संक्रमण पुष्टि भएकामध्ये १०२ जना रुपन्देहीका मात्र हुन्। रुपन्देहीका ४० महिला र ६२ पुरुषमा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, प्रदेश १ मा ३८ महिला र ७९ पुरुष गरी ११७ जना संक्रमित थपिएका छन्। प्रदेश २ मा २५ महिला र ४३ पुरुष गरी ६८ जना संक्रमित थप हुँदा गण्डकी र सुदूरपश्चिममा समान ७५/७५ जनामा संक्रमण पुष्टि भएको छ।
गण्डकीमा २७ महिला र ४८ पुरुष गरी ७५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, सुदूरपश्चिममा १४ महिला र ६१ पुरुषमा संक्रमण पुष्टि भएको छ।
कर्णालीमा २७ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ७ महिला र २० पुरुष छन्।
यही अवधिमा कोरोनाका कारण ५ जनाको ज्यान गएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण देशभर ३२२ जनाको मृत्यु भएको छ।
९७२ जनालाई आज डिस्चार्ज गरिएको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ। जुन कुल संक्रमितको ७०.६ प्रतिशत हो।
हाल नेपालमा १४ हजार ९२५ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ६ हजार ६३४ होम आइसोलेसनमा र ८ हजार २९१ संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिए।
संक्रमण पुष्टि भएका मध्ये हाल १७० जना आइसीयुमा र २५ जना भेन्टिलेटरमा रहेर उपचार भइरहेको छ।

