PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

रंगेली नगरपालिकाका दुई कर्मचारीसहित एक थुनुवामा पनि देखियो कोरोना



फूलमाया पुरी

रंगेली नगरपालिकाका दुई कर्मचारीसहित एक थुनुवामा पनि देखियो कोरोना

विराटनगर : मोरङको रंगेली नगरपालिकामा शुक्रवार तीन जनामा कोरोना संक्रमण देखिएको छ।

नगरपालिकाका दुई कर्मचारी र एक जना इलाका प्रहरी कार्यालय रंगेलीका थुनुवामा संक्रमण देखिएको नगरपालिकाका सूचना अधिकारी इन्जिनियर सञ्जय गुप्ता रौनियारले जानकारी दिए।

रौनियारका अनुसार नगरपालिकामा एक जना लेखा र अर्का प्राविधिक शाखामा कार्यरत कर्मचारी कोरोना संक्रमित भएका छन्। प्राविधिक शाखामा कार्यरत कर्मचारी कोरोना भाइरस संक्रमण फैलिएपछि क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापन कार्यमा सहयोगी भूमिकामा खटिँदै आएका थिए।

‘प्राविधिक शाखाका कर्मचारी क्वारेन्टाइन र आइसोलेसनमा खटिँदै आउनुभएको थियो’, रौनियारले भने, ‘उहाँ खाना र थप आवश्यकताका सामान पुर्‍याउने र व्यवस्थापनमा सहयोग गर्ने गर्नुहुन्थ्यो।’

गत भदौ २३ गते उनीहरु सबैको स्वाब संकलन गरिएको थियो। प्रदेश प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको रौनियारले बताए।

कोरोना संक्रमणको लक्षण देखिएपछि कर्मचारी सेल्फ आइसोलेट भएका थिए। संक्रमण पुष्टि भएपछि नगरपालिकाले व्यवस्थापन गरेको आइसोलेसनमा बसेका छन्।

त्यसो त रंगेलीमा यसअघि १३ दिनसम्म दैनिक पीसीआर परीक्षण भएपनि संक्रमण नदेखिएको रौनियारको भनाइ छ। तर, बिहीवारदेखि रंगेलीमा पुन संक्रमण देखिन थालेको छ। बिहिवार रंगेलीमा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो।

रंगेली नगरपालिकामा हालसम्म १ सय २९ जना कोरोना संक्रमित भएका छन् भने कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell