काठमाडौँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा गरेका लापरबाही उपर छानबिन गर्न माग गरेका छन्।
भ्रष्टाचार काण्डमा छानबिन गरेर दोषीउपर कारबाही गर्न अख्तियार चुकेको भन्दै पौडेलले देशमा भइरहेका ब्रम्हलुट रोक्ने काममा अख्तियारको ढिलासुस्ती र लापरबाही चर्चामा रहेको समेत आरोप लगाएका छन्।
आयल निगमको जग्गा खरिद् प्रक्रियामा भएको अनियमितताको विषय तामेलीमा राखेको खबर सार्वजनिक भएपछि नेता पौडेलले विज्ञप्ति जारी गर्दै अख्तियार पदाधिकारीलाई कारबाहीको समेत माग गरेका छन्।
‘१ अर्ब ३४ करोडको खेल भनिएको उक्त चर्चित प्रकरण यसरी डिसमिस पार्ने काम सुशासनका लागि त्यत्रो भरोसा गरेर हामीले स्थापना गरेको संस्थाबाट भइरहेको छ। माझीले नै डुङ्गा डुबाउन लागेपछि कसले पार लगाउने? यस्ता काम कारबाही किन भइरहेका छन्?’नेता पौडेलले भनेका छन्।
पौडेलले अख्तियरामाथि छानबिन गर्न उच्चस्तरिय छानबिन समिति बनाउन समेत माग गरेका छन्।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएका यावत लापरबाहीहरु उपर छानबिन गर्न र त्यसका वर्तमान र पूर्व पदाधिकारी सदस्यहरुलाई जिम्मेवार बनाउन एक जना पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा सबैको भरोसायोग्य उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरियोस् भन्ने माग गर्दछु’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

