PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

डरलाग्दो तस्बिर : पछिल्लो समय दैनिक १९ जनाको आत्महत्या!



सविन ढकाल

डरलाग्दो तस्बिर : पछिल्लो समय दैनिक १९ जनाको आत्महत्या!

काठमाडौं : गत जेठ ११ गते बिहान स्वयम्भू बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्की अबेरसम्म उठेनन्। उनी किन उठेनन् भनेर उनी सुत्ने कोठामा चियाएर हेर्दा मृत अवस्थामा देखिए। उनको शरीरबाट रगत बगिरहेको थियो।

कार्कीको टाउकोमा गोली लागेको थियो। गोली उनकै पेस्तोलबाट छुटेको प्रहरीको अनुसन्धानमा खुल्यो। कार्कीको मृत्युको अनुसन्धान अझै नटुङ्गिएको प्रहरीको भनाइ छ। यति हुँदाहुँदा पनि प्रहरी एउटा निष्कर्षमा पुगेको छ - घटना हत्या होइन, आत्महत्या हो।

दोलखा घर भएका कार्की दुई वर्षदेखि स्वयम्भूमा नै कार्यरत थिए, बिटका इन्चार्जका रुपमा। उनले आत्महत्या गर्नु एकदिअघि मात्र इन्चार्जको जिम्मेवारी बुझेका थिए। आखिर उनले किन आत्महत्या गरे?

अहिलेसम्मको प्रहरीको अनुसन्धानले पारिवारिक कारणलाई आत्महत्याको कारण ठम्याएको छ। 'डिप्रेसन'ले निम्त्याएको आत्महत्या।

'त्यसबाहेक अरु कारण अहिलेसम्म खुलेको छैन। पारिवारिक कारणले डिप्रेसनमा गएर आत्महत्या गरेको देखिन्छ,' महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी लालध्वज सुवेदीले भने।

+++

दुई साता अघि नेपाली सेनाको मुख्यालयमा कार्यरत एक सैनिक जवानले गोली हानी आत्महत्या गरे। बिहान करिब ३ बजेतिर भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोलपम्ममा ड्युटीमा खटिएको समयमा आफैंले बोकेको हतियार प्रयोग गरी उनले आत्महत्या गरेका हुन्।

उनको आत्महत्याको कारण अझैं खुलिसकेको छैन। प्रहरी र नेपाली सेनाले अनुसन्धान गरिरहेको छ उनीमाथि।

'अहिलेसम्म कुनै कारण फेला परिसकेको छैन। उनको व्यवहारमा त्यस्तो अस्वभाविक परिवर्तन भएको पनि देखिएन। पारिवारिक र केही सम्बन्धहरु केलाएर हेर्दा अहिलेसम्म केही खुल्न सकेको छैन,' नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले भने।

+++

गएको असार १७ गते राति दाङ तुलसीपुर उपमहानगरपालिकाको रानीजरुवामा २३ वर्षीय २३ वर्षीय एलिशा गौतमले फेसबुकमा लाइभ गर्दै आत्महत्या गरिन्।

फेसबुक लाइभ गरेर आत्महत्याको तयारी गरिरहेको दृष्य धेरैले देखेका थिए। तर उनलाई कसैले बचाउन सकेनन्। फेसबुकबाट लाइभ आत्महत्याको प्रयास सुरु भएलगत्तै प्रहरीकहाँ खबर भएको थियो। प्रहरी पनि उनको घर खोज्दै रेस्क्युका लागि पुगेको थियो। तर फेसबुकमा 'लाइभ' मृत्युपछि मात्र प्रहरी उनको घरमा पुग्न सक्यो। घरमा त्यस दिन कोही पनि थिएनन्। प्रहरीको अनुसन्धानमा उनको आत्महत्याको कारण पारिवारसँगको 'खटपट' रहेको खुल्यो।

+++

नेपालमा प्रत्येक वर्ष ५ हजार मानिसले आत्महत्या गर्ने गरेका छन्। यी तीन वटा केस तिनै आत्महत्याहरुका प्रतिनिधि घटनामात्र हुन्। लकडाउनमा आत्महत्याका घटनाको वृद्धि भएको छ। धेरैले यसलाई 'तनाव' व्यवस्थापन नहुँदाको परिणाम मान्छन्। तथ्याङ्कमा के छ त आत्महत्याको अवस्था?

आर्थिक वर्ष २०७५/७६ मा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेका थिए। त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ५ हजार १ सय २४ जनाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष २०७४/७५ मा आत्महत्या गर्नेको संख्या झनै उकालो लाग्यो र ५ हजार ३ सय १७ पुगेको थियो।

आत्महत्या किन घटिरहेको छैन त?

विशेष परिस्थितिबाहेक समान्यतया आत्महत्या पुष्टि भएको घटनामा प्रहरीले अनुसन्धान अगाडि बढाउँदैन। तर, २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनमा भएको नयाँ व्यवस्थाले भने प्रहरीलाई आत्महत्यापछि पनि अनुसन्धान गर्न प्रेरित गर्छ।

ऐनको दफा १८५ मा आत्महत्या गर्न कसैलाई दुरुत्साहन गरे कारबाही हुने व्यवस्था छ। आत्महत्या गर्न दुरुत्साहित गरेको प्रमाणित भए अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै हुने छ। त्यसैले पछिल्लो समय आत्महत्यापछि पनि प्रहरीले तुलनात्मक रुपमा पहिलेभन्दा बढी अनुसन्धान गर्न थालेको छ। यसबाट आत्महत्या किन भइरहेको छ भन्ने कारणको जरोसम्म पुग्न मद्दत मिलेको छ जसले संकेत गर्छ - डिप्रेसन।

मनोचिकित्सक डाक्टर पवन शर्माका अनुसार धेरैजसो आत्महत्याको कारण 'डिप्रेसन' नै भएको देखिन्छ। पारिवारिक अवस्था, विभिन्नखाले सम्वन्ध र आर्थिक पाटोले मानिसलाई आत्महत्या गर्न प्रेरित गरेको देखिएको छ। शर्माका अनुसार जैविक, सामाजिक र मनोवैज्ञानिक तीन कारणले आत्महत्या गर्ने बढेका छन्।

'पछिल्लो समय सामाजिक कारणले मानिसले आत्महत्या गर्ने गरेका छन्। मानिसमा डिप्रेसन बढेको छ। अहिले कोभिडले झनैं आत्महत्या बढाउनसक्ने अनुमान गर्न सकिन्छ,' उनले भने।

पछिल्लो पाँच महिनामा मात्रै २ हजार ९ सय ८ जना मानिसले आत्महत्या गरिसकेका छन्।

पछिल्लो तस्बिर डरलाग्दो

नेपाल प्रहरीको पछिल्लो तथ्याङक हेर्ने हो भने देशभर दैनिक १९ जनाले आत्महत्या गर्ने गरेको देखिएको छ। चैत ११ गतेदेखि साउनसम्म २ हजार ९ सय ८ जनाले आत्महत्या गरेका छन्। यसरी हेर्दा दैनिकजसो औशतमा १९ जनाले आत्महत्या गरेको देखिएको छ।

यसरी आत्महत्या गर्नेमा पुरुषको सङ्ख्या बढी रहेको छ। ११ सय ७२ जना पुरुषले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। यस अवधिमा आत्महत्या गर्नेमा बालबालिकाको सङख्या पनि रहेको छ। ९४ जना बालक र १ सय ४१ जना बालिकाले आत्महत्या गरेका छन्।

साउन महिनामा मात्र ७ सय ६ जनाले आत्महत्या गरेका छन् जसमा ४२ जना बालक र ३८ जना बालिका रहेका छन्।

सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा आत्महत्या गर्ने देखिएका छन्। यसबीच यस प्रदेशमा ४ सय २१ जनाले आत्महत्या गरेका छन्। जसमा २ सय ३४ जना पुरुष रहेका छन्। पछिल्लो समय फेरिएको सामाजिक संरचनाको कारण आत्महत्या दर बढेको र बढ्ने समाजशास्त्री टंक गौतम बताउँछन्।

'पछिल्लो समय सामाजिक संरचना नै बदलियो। मानिसले नियमित गर्ने काम, हिँड्डुल देखि अन्य आयस्रोत र आकांक्षाहरु पूरा भएनन् जसले गर्दा मानिसलाई आत्महत्यातिर प्रेरित गर्‍यो।'

प्रदेश नम्बर १ मा ३ सय ७१, दुई नम्बर प्रदेशमा ३ सय ५ जना, वागमतीमा ३ सय ८५, गण्डकीमा २ सय ४५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। सबैभन्दा कम कर्णाली प्रदेशमा १ सय १९ जनाले आत्महत्या गरेका छन्। सुदुर पश्चिमा प्रदेशमा २ सय ४ जनाले आत्महत्या गरेका छन् यस अवधिमा। काठमाडौं उपत्यकाभित्रको मात्र तथ्याङक हेर्न हो भने १ सय ५९ ले ज्यान फालेका छन्।

सबैभन्दा धेरैले आत्महत्या गर्दा झुन्डिने गरेको देखिन्छ। यस अवधिमा २ हजार २ सय २ जनाले आत्महत्या गर्दा १ हजार ८ सय २८ जनाले झुन्डिएका थिए। करेन्ट लगाएर आत्महत्या गर्नेको सङख्या १ रहेको छ। विष खाएर ३ सय ४६ जनाले आत्महत्याको बाटो रोजेका छन्। हतियार प्रयोग गरेर मर्नेको सङ्ख्या ८ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell