PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तीन जनाको मृत्यु संदेहपूर्ण बनाउने गरी खेतमा विषादीको बट्टा, बाथरुममा बान्ता, कमिजमा रगतका छिटा, ढोका चाहिँ खुला



सविन ढकाल

तीन जनाको मृत्यु संदेहपूर्ण बनाउने गरी खेतमा विषादीको बट्टा, बाथरुममा बान्ता, कमिजमा रगतका छिटा, ढोका चाहिँ खुला

काठमाडौं : शुक्रवार मध्यपुर थिमि नगरपालिका-९ स्थित निकोसेरामा एउटै घरभित्र तीन जनाको शव भेटिएको घटना रहस्यमय बन्दै गएको छ। घटना हत्या वा आत्महत्या के भन्ने खुल्न सकेको छैन। शुक्रवार करिब ५ बजेतिर एकै परिवारका तीन जनाको शव घरभित्र फेला परेको थियो। ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त मृत अवस्थामा फेला परेका थिए।

घटनाको अनुसन्धानमा महानगरीय प्रहरी परिसर भक्तपुर, केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महशाखाको टोली लागिपरेको छ। घटना हत्यापछिको आत्महत्या हुनसक्ने अनुसन्धानमा खटिएका प्रहरी अधिकृतको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तर, त्यसको स्वतन्त्र पुष्टि हुने आधार तयार भइसकेको छैन।

साढे तीन तले घरको भुई तलामा अधिकारी दम्पतीले किराना पसल संचालन गर्दै आएका थिए। यसबाहेक अरु पेशागत गतिविधि देखिएको छैन। शुक्रबार महिला र किशोरको शव खाटमा फेला परेका थिए। पहिलो तलामा छोराको शव भेटिएको थियो। उनको टाउकोमा चोट देखिएको छ। त्यस्तै शवलाई पिताम्वर ओडाइएको छ। तन्ना पनि च्यातिएको छ।

'मर्ने समयमा केही संघर्ष गरेको जस्तो देखिन्छ,' एक अनुसन्धान अधिकृतले भने। एउटा धारिलो हतियार समेत फेला परेको छ, घटनास्थलमा।

त्यस्तै, त्यसभन्दा माथिको तलामा आमाको शव भेटिएको थियो। शवको प्रकृति छोराको जस्तै छ। टाउकोमा चोट शरीरमा सेतो बुट्टे पिताम्बर ओढाइएको।

घरको माथिल्लो तलामा सुदीपको शव भेटिएको हो। सुदीपको तुलनामा बाँकी दुई शवबाट बढी गन्ध निस्किरहेको थियो। पुरुषको भने मृत्यु ढिलो भएको देखिन्छ।

'पुरुषको शव केही फ्रेस छ। महिलाको कुहिएर गनाउन थालेको छ,' महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले भने।

सुदीपको शव घोप्टिएको अवस्थामा भेटिएको हो। उनको कमिजमा रगतका छिटाहरु समेत देखिएको छ। त्यस्तै बाथरुममा बान्ता समेत गरेको भेटिएको छ। प्रहरीले बान्दा समेत परीक्षणका लागि पठाएको छ।

यसरी घटनाको प्रारम्भिक अनुसन्धानले तीन जनाको मृत्यु फरक समयमा भएको देखाएको छ। अर्थात्, आमा छोराको मृत्यु केही समयअघि र बाबुको केहीपछि। बाहिरका मानिसले हत्या गरेको भए किन हत्याको समय फरक हुन्थ्यो? प्रहरी अहिले यही प्रश्नको शंकाबाट अनुसन्धान गरिरहेको छ। घटना तीनजना भित्रबाटै भएको हुनसक्ने सम्भावना पनि छ।

सुदीपको शव केही फ्रेस भएकाले पहिले आमा-छोराको मृत्य भएपछि बाबुको भएको देखिन्छ। के त्यसो भए बाबुले श्रीमती र छोराको हत्या गरेर आत्महत्या गरे त?

'हाम्रो प्रारम्भिक अनुसन्धानले पनि त्यतै संकेत गरिरहेको छ। तर, यसै भन्ने अवस्था छैन,' अनुसन्धानमा खााटिएका एक प्रहरी अधिकृतले भने। घरमा कुनै लुटपाट चोरी समेत भएको नदेखिएकाले घटना घरभित्रकै सदस्यबाट भएको हुनसक्ने संकेत मिल्छ। तर, अहिले नै यकिनका साथ भन्न सकिने अवस्था छैन।

घटनास्थलबाट प्रहरी पिठोमा मुछिएको शंकास्पद वस्तु समेत फेला पारेको छ। प्रहरीले पिठोमा विष हुनसक्ने अनुमान गरेको छ।

अनि कुकुरको मृत्यु?

घरमा पालिएको कुकुर पनि मृत अवस्थामा फेला परेको थियो। कुकुरले पनि त्यही बिष मिसिएको पिठो खाएर मृत्यु भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। सुदीपको शव नजिकै रहेको कुकुरलाई खाना दिने भाँडामा केही खानेकुरा रहेको र त्यहाँ किराहरु मरेको भेटिको छ। कुकुरको मुखमा फिँज देखिएको प्रहरीले जानकारी दिएको छ।

बिहीबारबाट निषेधाज्ञा खुकुलो भएपछि मानिसको चहलपहल बढ्यो। शुक्रबार मृतक सुदीपका भाइ दाइको घरमा पुगेका थिए। घरमा मानिसको चालचुल थिएन। तर, घरको ढोका भने आधा खुला थियो। जब उनी घरभित्र छिरे, त्यहाँ दाजु, भाउजु र भतिजको शव देखे। त्यसपछि प्रहरीकहाँ खबर पुग्यो र प्रहरी घटनास्थल पुग्यो। शव फेला परेपछि प्रहरीसँगै स्थानीय पनि भेला भए।

‘आफ्नै भाइले पहिलोपटक शव देखेका रहेछन्। ढोका खुल्लै रहेको उनले बताएका छन्,’ महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीले भने।

तीन वटै शवलाई पोष्टमार्टमका लागि शुक्रबार बेलुकी दुवाकोटमा रहेको केएससी अस्पतालमा लगिएको थियो। उनका बुबाआमा र भाइ सोही नगरपलिकाको वडा नम्बर ६ मा बस्दै आएका छन्। उनीहरु भने केही समयअघि घर बनाएर सरेको थिए। उनले लकडाउनको समयमा ससुरालीबाट २ लाख रुपैयाँ ऋण समेत लिएको देखिएको छ। घर पनि बैंकमा धितो राखेको देखिएको छ। श्रीमती र छोरासँग केही समयदेखि विवाद समेत हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। आज बिहान प्रहरीले घर वरिपरि खोजतलास गर्दा धानबारीमा विषादीको दुईवटा बट्टासमेत फेला पारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell