PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि



एम बम

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली : सुदूरपश्चिममा शनिवार २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका १२, कैलालीका ८, डोटीका पाँच, डडेल्धुराका दुई र अछामका एक जनामा संक्रमण पुष्टि भएको हो।

धनगढीमा पछिल्लो २४ घण्टामा तीन सय ६८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पतालको प्रयोशालामा कञ्चनपुरका १२ र कैलालीका ८ जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको धनगढी उप–महानगरपलिकाका चार जना, बर्दगोरीया गाउँपालिका वडा नम्बर ३ का दुई जना, टीकापुर नगरपालिका वडा नम्बर ८ का एक जना र लम्कीचुहा नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। उता कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ का १० जना र वडा नम्बर १० का दुई जनामा संक्रमण पुष्टि भएको छ।

उता जिल्ला अस्पताल डोटीको प्रयोशालामा भएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय २४ जनाको कोरोना परीक्षण गरिएकोमा डोटीका पाँच र अछामका एक जनामा संक्रमण पुष्टि भएको हो। डोटीको सायल गाउँपालिकाका तीन, केआइसिंह गाउँपालिकाका दुई र अछाम जिल्लाको रामारोशन गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ५२ जनाको कोरोना परीक्षण भएकोमा थप दुई जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भुसालले दिएको जानकारी अनुसार दुवै जना डडेल्धुराको परशुराम नगरपालिकाका हुन्। वडा नम्बर ६ का दुई जनालाई संक्रमण पुष्टि भएको भूषालले बताए।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार चार सय ३४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell