PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

वीरगंजमा डेढ महिनापछि शनिवार खुले सबैजसो पसल व्यवसाय



राधेश्याम पटेल

वीरगंजमा डेढ महिनापछि शनिवार खुले सबैजसो पसल व्यवसाय

वीरगंज : वीरगंजमा शनिवार धेरै भिड हुने केही निश्चित पसल बाहेक सबै प्रकारका पसलहरु खुले। निषेधाज्ञाको डेढ महिनापछि शुक्रवारदेखि वीरगंज बजार पूर्णरूपमा खुल्न थालेको हो।

भदौ २६ गतेदेखि ३१ गतेसम्म वीरगंज महानगरको ३२ वटा वडामा लगाइएको निषेधाज्ञाका बीच सबै पसल खोल्न अनुमति दिइएकोले बजार पूर्ण रुपमा खुल्न थालेको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए। निषेधाज्ञाको पचासौं दिन भदौ १९ गतेदेखि मात्र प्रशासनले वीरगंजमा आलोपालो पसल सञ्चालनको इजाजत दिएको थियो।

बिहान ११ देखि ४ बजेसम्म आलोपालो पसल सञ्चालन हुँदै आएकोमा शुक्रवारदेखि निषेध गरिएका पसल, व्यवसायबाहेक सबै पसल, व्यवसाय सञ्चालनमा आएका छन्। सैलुन, ब्युटिपार्लर, होटल, जिमखाना, सिनेमाघरलगायतका व्यवसाय सञ्चालनमा अझै रोक लगाइएको छ।

तरकारी तथा फलफूल वीरगंज महानगरभरिका लागि बिहान ५ देखि ८ बजेसम्म घण्टाघरनजिक रेलवे सडकमा मात्र सञ्चालन गर्न दिइएको छ। जसले गर्दा तरकारी तथा फलफूलको अवैध पनि बिक्री बढेको छ। दिनभरिजसो वीरगंजका टोलटोलमा तरकारी, फलफूल बिक्री भइरहेका छन्।

यसैगरी, सवारी साधनको प्रयोगमा पनि निषेध गरिएकोमा पसल, व्यवसाय खुलेसँगै भदौ १९ गतेदेखि नै मोटरसाइकल, जीप, कार, भ्यान, ई-रिक्शा, टेम्पो, मिनी ट्रक सञ्चालनमा आएका छन्। घण्टाघर क्षेत्रमा प्रहरी, ट्राफिकले सवारीसाधनको प्रयोगमा नियन्त्रण गरेको छ।

शुक्रवारदेखि अधिकांश पसल, व्यवसाय सञ्चालनमा आएपछि सवारी साधनको चाप झनै बढेको छ। यसअघि थोरै संख्यामा सञ्चालित सवारी साधनहरू शनिवारदेखि ठूलो संख्यामा सञ्चालनमा आएका हुन्। घण्टाघरमा प्रहरीले ईरिक्शा, टेम्पो, भाडाका जीप, कार, भ्यानलाई नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell