PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

महोत्तरीको लोहारपट्टी नगरपालिकामा यो वर्ष गेरुका मेला नलाग्ने



पहिलोपोस्ट

महोत्तरीको लोहारपट्टी नगरपालिकामा यो वर्ष गेरुका मेला नलाग्ने

जनकपुरधाम : महोत्तरीको लोहारपट्टी नगरपालिकामा गेरुका मेला यस वर्ष भने नलाग्ने भएको छ। कोरोना महामारीको जोखिम भएकोले तीन वर्षमा पर्ने मलमासमा लाग्ने गरेको गेरुका मेला यस वर्ष नलाग्ने भएको हो।

हिन्दु धर्मावलम्बीको शास्त्रीय विधि र परम्परा अनुसार प्रत्येक तीन वर्षमा पर्ने मलमास अगामी असोज १ गतेदेखि ३० गतेसम्म रहने भएको छ। लोहारपट्टी नगरपालिका-४ खुट्टा पिपराढीस्थित पवित्र स्नानको रुपमा रहेको गेरुकाधामको गेरुका नदीमा स्नान मेला वर्षौँदेखि लाग्ने गरेकोमा यस वर्ष कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेकोले नलाग्ने भएको नगर प्रमुख शैलेन्द्रकुमार यादवले जानकारी दिए।

सरकारबाट संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निर्धारित स्वास्थ्य मापदण्ड बमोजिम मेलामा दर्शनार्थीको भिडभाड हुने भएकोले मलमास मेला नलगाउनको लागि गेरुकाधाम र वरिपरिका क्षेत्रमा पसल, जादु, सर्कस, नाच, तमासा लगाउन वा कुनै बस्तु बेचबिखन हुने गरी कुनै किसिमको गतिविधि वा क्रियाकलाप नगर्ने गरी मेला आयोजनामा बन्देज गरिएको नगर प्रमुख यादवले बताए।

मलमासमा लाग्ने गेरुकाधामको पवित्र नदीमा स्नान गर्नाले पुण्य प्राप्ति र विभिन्न रोग निको हुने धार्मिक मान्यता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell