PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

काठमाडौँको सडकमा गुडिरहेको सेनाको जहाज, राजा वीरेन्द्रले गरेका थिए प्रयोग, नारायणहिटी संग्रहालयमा राखिँदै



पहिलोपोस्ट

काठमाडौँको सडकमा गुडिरहेको सेनाको जहाज, राजा वीरेन्द्रले गरेका थिए प्रयोग, नारायणहिटी संग्रहालयमा राखिँदै
तस्बिर : समर्थ रञ्जित / पहिलोपोस्ट

काठमाडौँ: शनिबार साँझ राजधानीको सडकमा अनौठो दृश्य देखियो। कोरोना कहरबीच सवारीसाधन पातलिएको सडकमा जहाज गुड्यो। गाडी गुड्ने सडकमा जहाज गुडेपछि सर्वसाधरण पनि आश्चर्यमा परे।

जहाज गुडाउने कार्यको ट्राफिक व्यवस्थापनमा सडकमा प्रहरी खटिएका थिए। त्रिभुवन विमानस्थल हुँदै तिनकुने बानेश्वरको रुटबाट जहाजलाई नारायणहिटी दरबार संग्रहालय लगिँदैछ।

जहाज सर्वसाधरणको अवलोकनका लागि संग्राहलयमा राख्न लागिएको हो। विमानस्थल कार्यालय स्रोतका अनुसार शुक्रबारमात्र नेपाली सेनाले जहाज बाहिर ल्याउने अनुमति पाएको थियो। शनिबार जहाजलाई चरणवद्ध रुपमा संग्रहालय लैजान थालिएको हो।

नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार जहाज नेपाली सेनाको हो। सन् १९७१ मा उक्त जहाज नेपाल ल्याइएको हो। राजपरिवार र नेपाली सेनाको विशिष्ट तालिममा जहाज प्रयोग भएको थियो। दुई वर्षदेखि प्रयोग गर्न नमिल्ने भएपछि सर्वसाधरणको अवलोकनका लागि संग्रहालयमा राख्ने प्रक्रिया थालिएको थियो। ४६ सिटे जहाज बेलायतबाट नेपाल ल्याइएको थियो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा जहाज संग्रहालयमा लगिएको हो।

नारायणहिटी संग्रहालयका महानिर्देशक भेषनारायण दाहालका अनुसार राजा वीरेन्द्रले विभिन्न भ्रमणमा प्रयोग गर्ने गरेको ‘एनए–२० एभ्रो’ विमान संग्राहलमा राख्न लागिएको हो। सरकारको निर्णय अनुसार नै जहाज ल्याइएको हो।

राजा तथा राजपरिवारका सदस्यले प्रयोग गरेको हेलिकप्टर भने यसअघि नै संग्रहालयमा ल्याइसकेको दाहालले बताए।

‘सेनाको एभ्रो विमान राजा विरेन्द्रले प्रयोग गर्ने गरेका थिए। सरकारले नारायणहिटी संग्राहलयमा राजसंस्थाले प्रयोग गर्ने गरेको सामानहरु राख्ने निर्णय गरे अनुसार विमान पनि ल्याइएको हो।’ उनले भने।

राजतन्त्रको अन्त्यपछि नारायणहिटी राजदरबारलाई संग्राहलयका रुपमा परिणत गरियो। सर्वसाधरणका लागि राजदरबारको ढोका खुल्यो। तर, वीरेन्द्रको निवास ‘श्री सदन’ को ताला खुलेन।

वर्षौंदेखि बन्द रहेको ‘श्री सदन’ सर्वसाधरणका लागि खुला गर्ने तयारी गरिएको थियो। यही बैशाखमा नै उक्त निवास सर्वसाधरणका लागि खुला गर्ने तयारी भएपनि कोरोना भाइरसको संक्रमणका कारण उक्त कार्य पुरा हुन सकेको थिएन। बृहत गुरुयोजना बनाएर संग्राहलयलाई थप व्यवस्थित गर्ने र राजा वीरेन्द्रका साथै राजपरिवारका अन्य सदस्यहरुले प्रयोग गर्ने गरेका सामानहरु समेत प्रदर्शन गर्ने उद्देश्य सहित अहिले विभिन्न सामानहरु संग्राहलयमा थपिँदै गरेको दाहालले बताए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell