PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

नेल्टाको त्रिदिवशीय अन्तर्राष्ट्रिय सम्मेलनका सन्देशहरू



पहिलोपोस्ट

नेल्टाको त्रिदिवशीय अन्तर्राष्ट्रिय सम्मेलनका सन्देशहरू

  • अरूण नेपाल -

कोरोना महामारीका बीच पछिल्लो समय पढाउने शैलीमा ब्यापक परिवर्तन भएको छ। चैत महिनासम्म कक्षामा प्रवेश गरेर पढाइरहेका हामी अहिले भर्चुअल कक्षामा विद्यार्थीको उपस्थितिको दायरा कसरी बढाउने भनेर अगाडि गइरहेका छौं। अध्यापन गराइरहेका छौं।

यसैबीच भदौ २५ गतेदेखि २७ गतेसम्म नेपालका अंग्रेजी शिक्षकहरूको साझा संगठन नेपाल टिचर्स ल्याङ्ग्वेज एसोसिएसन् (नेल्टा)ले कोभिड १९ को विषम परिस्थितिमा समेत अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्‍यो। जसमा विश्वका विभिन्न मुलुकहरू अमेरिका, बेलायत, चीन, जापान, भारत, क्यानडा, थाइल्याण्ड, पाकिस्तान, श्रीलंका, बंगलादेश, मलेशिया, हङकङ, कतार र नेपाल आदि मुलुकका अंग्रेजी भाषा र साहित्यका विशेषज्ञहरूले उक्त सम्मेलनका क्रममा गहन कार्यपत्र र विचारहरू प्रस्तुत गरे। त्यसमा पनि यस सम्मेलनका प्रमुख आकर्षक स्टेफन क्र्यासनको विचारले सहभागीहरूमाझ विशेष जोश, जाँगर र उत्साह पैदा गरेको अनुभूति भयो। हङकङका कार्यपत्र प्रस्तोताले कार्यपत्रमा क्र्यासनले अघिल्लो दिन व्यक्त गरेका त्यस्ता विचारलाई महत्वपूर्ण स्थान दिँदै आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएबाट पनि क्र्यासनका विचारको महत्व थप पुष्टि भएको अनुभूति हुन्थ्यो। उक्त कार्यक्रममा नेपाल र विश्वका विभिन्न स्थानबाट सयौं सहभागीहरूले जुम र फेसबुक लाइभका माध्यमबाट उत्साहजनक रूपमा उपस्थिति जनाएको पाइयो। यति ऐतिहासिक सम्मेलनका योगदानहरू एउटा छोटो लेखमा समेट्न सकिने त कुरै भएन। तर पनि विगतमा समेत नेल्टाले यस्ता सम्मेलनहरू आयोजना गर्ने गरेकोमा विगतका ती सम्मेलनको तुलनामा यो सम्मेलनका फरक विशेषता केके रहे र यसले के कस्ता सन्देश प्रवाह गर्‍यो त भन्ने पाटा र पक्षबाट एक विश्लेषणात्मक सामग्री पस्कन मन लाग्दा यो लेखको जन्म हुन पुग्यो।

विगत र वर्तमान

आफ्नो स्थापनाकालदेखि नै नेल्टाले हरेक वर्ष नै यस्ता अन्तर्राष्ट्रिय सम्मेलन नेपालका विभिन्न स्थानमा आयोजना गर्दै आएको छ। तैपनि नेल्टाका अधिकांश अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा नै आयोजना हुने गरेका छन्। त्यस्ता सम्मेलनका बारेमा निकै महिना अगाडिदेखि मुलुकभर चर्चा परिचर्चा हुन्थ्यो। सम्मेलनमा भाग लिन जानका लागि इलाम जतिको स्थानबाट कम्तिमा एक हप्ता अगाडिदेखि मानसिकता बनाउनु पर्थ्यो। योजना बनाउनु पर्थ्यो। खर्चबर्चको जोहो गर्नुपर्थ्यो। काठमाडौंमा गएर कहाँ के कसरी रहेर सम्मेलन सम्पन्न गरी सहजै घर फर्कने होला भनेर निकै सोचमग्न हुनुपर्थ्यो। यसरी विगतमा हुँदै आएका यी केही योजना, तयारी, समय र खर्चबर्चको कोणबाट यो सम्मेलनको अनुभूति पूरै फरक रह्यो। घरमै बसीबसी सम्मेलनमा भाग लिने अवसर जुरेकाले यसपटक उक्त योजना र तयारी केही गर्नै परेन। समय र खर्चबर्चको व्यवस्थापनका सम्बन्धमा समेत कुनै टाउको दुखाउनै परेन। तर देशका विभिन्न भागबाट पाल्नुभएका गुरू, गुरूआमा, साथीहरू, विदेशी पाहुना आदिसँग प्रत्यक्ष रूपमा हुने भेटघाट, भलाकुसारी, लाइन लागेर चिया, नास्ता र खाना खाँदाको मज्जा आदि यो सम्मेलनमा लुट्न पाइएन। जुन कुराको सायद कुनै मूल्य नै हुँदैन। त्यसरी मुल्य निर्धारण गर्न खोज्नु पनि सायद न्यायपूर्ण हुँदैन। त्यस्तै विगतका सम्मेलनका क्रममा लामो यात्रा गर्दा हुने थकान वा तनाव वा बाटैमा बिरामी पर्ने सम्भावना वा गन्तव्यस्थलसम्म पुगेर पनि मौसम परिवर्तन वा खाना आदिको सन्तुलन नमिल्दा हुने तनाव यसपटक हुने कुरै भएन। घरैमा बसेर यति महत्वपूर्ण सम्मेलनमा भाग लिन पाउँदा ती सबैखाले तनावबाट पूरै मुक्त नै भइयो। तापनि इन्टरनेटको कम पहुँच वा बिजुली बत्तीको कमजोड व्यवस्थापन वा कहिलेकहिँ चाहेर पनि जुममा प्रवेश गरी मनमा उब्जेका जिज्ञाशा राख्न नपाउँदा केही तनाव त पक्कै भयो। तर विगतमा हुने तनावका तुलनामा यसपटक निकै कम मात्र तनाव भयो भन्दा पक्कै पनि अन्यथा नहोला। त्यस्तै प्रत्यक्ष रूपमा हुने कार्यक्रमको तुलनामा यो कार्यक्रममा आयोजकलाई समेत समय व्यवस्थापन गर्न निकै सहज भएजस्तो लाग्यो। हुन त यसको वास्तविक पीडा आयोजकवर्गलाई नै बढी थाहा हुने भएकाले यसका सम्बन्धमा बढी टिप्पणी गर्न त उपयुक्त नहोला। तापनि यस सम्मेलनमा विगतको तुलनामा समयको सदुपयोग निकै व्यवस्थित ढंगले भएकै अनुभूति भयो। वास्तवमा यति छोटो समयमा यति धेरै कार्यपत्र प्रस्तोताका त्यति गहन विचार सुन्न पाउनु पक्कै पनि सानो उपलब्धि हुँदै होइन। त्यसमा नेल्टाले गरेको विशेष तयारी र समय व्यवस्थापन निकै नै प्रशंसनीय लाग्यो। एकजना सहजकर्ताले तिनजना विज्ञलाई सहजीकरण गर्ने र अन्त्यमा एकजनाले प्रतिनिधिमूलक ढंगले प्रश्न राख्ने तरिका पनि निकै प्रभावकारी भएकै अनुभूति भयो।

यसरी विगतका भन्दा निकै फरक विशेषता बोकेको यो सम्मेलनको प्रमुख विशेषता भनेको त कोभिड-१९ को असर र यसले मानव जीवनका अन्य पक्षमा जस्तै शिक्षा क्षेत्रमा पारेको प्रभाव नै भइहाल्यो। त्यहि असरका कारण अनलाइनमार्फत सारा विश्वका विज्ञ र अंग्रेजी शिक्षक जोडिने कुरा पनि विगतको तुलनामा यसपटक महसुस गरिएको अर्को प्रमुख फरक विशेषता नै भइहाल्यो। यसरी विगतको भन्दा धेरै अर्थ र मानेमा फरक रहेको यो सम्मेलनले मूलतः निम्न सन्देश प्रवाह गरेजस्तो लाग्यो।

सोच चिन्तनमा परिवर्तन

परम्परागत ढंगले पठनपाठन हुँदै आएका विशेष गरेर दक्षिण एसियाका नेपाल जस्ता मुलुकमा अब अध्ययन अध्यापनको शैलीमा पूरै परिवर्तन ल्याउनैपर्ने सोच र चिन्तन विकास हुँदै गएको कुरा उजागर गर्नु यो सम्मेलनको एउटा निकै महत्वपूर्ण सन्देश हो जस्तो लाग्यो। यस क्षेत्रका सबैजसो विज्ञहरूले अब शिक्षालाई प्रविधिसँग जोड्नैपर्ने बाध्यात्मक परिस्थितिलाई जोडतोडका साथ नै उठान गरेजस्तो लाग्यो। त्यसकारण अब कोभिड-१९ पछि पनि यो वा त्यो रूपमा शिक्षालाई प्रविधिसँग जोड्नै पर्ने रहेछ भन्ने कुरा महसुस गराउनु यो सम्मेलनको एउटा महत्वपूर्ण सन्देश हो भन्दा पक्कै पनि अतिशयोक्ति नहोला।

पाठ्यक्रममा परिवर्तन

पठनपाठनलाई प्रविधिमैत्री बनाउनुपर्ने भएपछि अब पूरानो पाठ्यक्रमलाई पनि समयानुकुल परिवर्तन गर्नैपर्ने भएछ भन्ने कुरा महसुस गराउन यो सम्मेलन निकै सफल भएजस्तो लाग्यो। विशेष गरेर अब विगतका भन्दा निकै छोटा र लचिला पाठ्यक्रम निर्माण गर्न नीति निर्माता जाग्नैपर्ने समय आएजस्तो लाग्यो। त्यस्तै अब विद्यार्थीको रूचि र आवश्यकतालाई सम्बोधन गर्ने पाठ्यक्रम बनाउन पनि सबै सरोकारवालाले विशेष सल्लाह, सुझाव र सक्रियता प्रदर्शन गर्नुपर्ने समय आएको सन्देश छर्न पनि यो सम्मेलन एक हदसम्म सफल नै भएजस्तो लाग्यो।

शिक्षकको सोचमा परिवर्तन

गुणस्तरीय शिक्षाको विकासमा शिक्षकको भुमिका सबभन्दा निर्णायक नै हुँदोरहेछ। पाठ्यक्रम र विद्यार्थीलाई जोडेर शैक्षिक क्षेत्रमा गुणात्मक फड्को मार्न शिक्षक ज्ञान सीपयुक्त हुनुपर्ने कुरा त परम्परागत मान्यता नै भैहाल्यो। तर परम्परागत ज्ञान, सीप र कलाको अलावा शिक्षकवर्ग प्रविधिमैत्री बन्नैपर्ने सन्देश प्रवाह गर्न पनि यो सम्मेलन कम सफल भएजस्तो लागेन। अझै अब समयानुकल ज्ञानसीप प्रदान गर्न विगतमा जस्तो केहि पाठ्यक्रम र पाठ्यपुस्तकमा मात्र सीमित नभई विश्वमा अत्यन्तै द्रुत गतिमा भैरहेको ज्ञानको विस्फोटलाई विद्यार्थीसमक्ष पुर्याउन शिक्षकले आफ्ना परम्परागत सोच, चिन्तन र शैलीमा पूरै परिवर्तन गर्नुपर्ने समय आएछ भन्ने सन्देश शिक्षकका मनमस्तिष्कमा घुसाउन उक्त सम्मेलन निकै सफल भएजस्तो लाग्यो।

विद्यार्थीको सोचमा परिवर्तन

मुलतः तयारी नोट, गाइड र गेसपेपर घोकेर तोकिएका परीक्षा पास गर्ने परम्परागत सोच, चिन्तन र शैलीमा पनि विद्यार्थीले विशेष परिवर्तन ल्याउनैपर्ने रहेछ भन्ने सन्देश प्रवाह गर्न पनि यो सम्मेलन सफल नै भएजस्तो लाग्यो। अब विद्यार्थीवर्ग २१ ‍औं शताब्दिको माग र आवश्यकता बमोजिम प्रविधिसँग जोडिएर खोजमुलक सिकाइ प्रक्रियामा संलग्न हुनुपर्ने रहेछ भन्ने कुरा उक्त सम्मेलनका सबैजसो विज्ञ र सहभागीले व्यक्त गरेजस्तो लाग्यो।

कक्षाकोठाको परिवर्तन

औपचारिक कक्षामा उपस्थित भएर पठनपाठन हुने शैलीमा अब व्यापक परिवर्तन भएको छ। झन् कोभिड १९ का समयमा त यस्तो कुरा सोच्नसम्म नसकिनेरहेछ। अनलाइन कक्षाका चुनौती बताउने क्रममा सम्मेलनका एकजना विज्ञले यो समस्यालाई निकै शुन्दर ढंगले प्रस्तुत गर्नुभयो। वहाँले कक्षा कोठा र घरको वातावरणमा धेरै फरक हुने भएकाले त्यस्ता फरकले अनलाइन कक्षालाई प्रतिकुल प्रभाव पार्न सक्ने कुरामा निकै जोड दिनुभयो। त्यसकारण अनलाइन कक्षा सञ्चालन गर्दा घरघरमा हुने फरक वातावरण र शिक्षण संस्थामा सबै विद्यार्थीका लागि हुने एकैखाले वातावरणको सम्बेदनशीलतालाई समेत ध्यान दिनुपर्नेरहेछ भन्ने निकै मननीय सन्देश प्रवाह गर्न पनि यो सम्मेलन सफल भएजस्तो लाग्यो।

सामग्रीको व्यवस्थापन

परम्परागत शिक्षण सिकाइ वा पठनपाठनका प्रमुख सामग्री पुस्तक नै थिए भने अब त्यतिले मात्र नपुग्ने भयो। अब कम्प्युटर, ल्यापटप वा स्मार्ट फोन मध्ये कुनै एक सामग्री अनिवार्य आवश्यकता जस्तो बन्यो। जुन कुरा सबै विद्यार्थीले व्यवस्थापन गर्न निकै कठीन हुने देखिन्छ। यो कठीनाइले धनी र गरीव विद्यार्थीवीचको खाडल बढ्ने सम्भावनालाई समेत सम्मेलनका सहभागीले ‍औल्याएका थिए। यस बारेमा पनि सरोकारवाला निकै चिन्तित र चनाखो बन्नुपर्नेरहेछ भन्ने सन्देश प्रवाह गर्न पनि यो कार्यक्रम निकै सफल भएजस्तो लाग्यो।

दायित्वमा परिवर्तन

विगतमा गुणस्तरीय शिक्षाका लागि विद्यालयको स्थापना, भवन तथा फर्निचर निर्माण आदिजस्ता कुरामा अभिभावकवर्ग, नागरिक समाज र सरकारहरूको विशेष चासो र दायित्व हुन्थ्यो भने अब सबै सरोकारवालाले आआफ्ना दायित्व र जिम्मेवारीमा परिवर्तन ल्याउँदै इन्टरनेट, डाटा खरीद, कम्प्युटर वा ल्यापटप वा स्मार्ट फोन आदिको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने समय आएको कुरा महशुस गर्ने गराउने सन्देश छर्न पनि यो सम्मेलन सफल नै रहेजस्तो लाग्यो।

निश्कर्ष

यसरी कोभिड १९ को विषम परिस्थितिमा समेत नेपाल मात्र नभएर संसारका धेरै विज्ञ र अंग्रेजी शिक्षकहरूलाई अत्याधुनिक प्रवधिसँग जोडेर यति महत्वपूर्ण सन्देश प्रवाह गर्न सफल नेल्टाको त्रिदिवशीय अन्तर्राष्ट्रिय सम्मेलन अंग्रेजी शिक्षकहरूका लागि एक ऐतिहासिक अवसर नै बन्यो। त्यसमा पनि यो सम्मेलनमा स्टेफन क्र्यासन जस्ता हस्तीसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउनु थोरै खुशीको कुरा होइन। त्यस्तै शिक्षाको दार्शनिक पक्षदेखि पाठ्यक्रम तथा नीति निर्माता, शिक्षक, विद्यार्थी लगायत सम्पूर्ण अभिभावकवर्ग र सरोकारवालाहरूको परम्परागत सोच, चिन्तन र शैलीमा अब समयानुकुल परिवर्तन ल्याउनैपर्नेरहेछ भन्ने कुरा बोध तथा महशुस गराउन सक्नु यो सम्मेलनको अत्यन्तै महत्वपूर्ण सन्देश हो। यी र यस्ता अन्य महत्वपूर्ण सन्देशको अन्तर्यमा डुवुल्की मारेर नेपालको शैक्षिक क्षेत्रमा गुणात्मक फड्को मार्न अब सबै अंग्रेजी शिक्षकहरू नयाँ सोच, चिन्तन र शैलीका साथ मैदानमा उत्रन सक्ने हो भने वास्तवमा यो सम्मेलन नेपालको शैक्षिक इतिहासमै सुनौला अक्षरले लेखिने कुरा निश्चितप्रायः छ। यस्तो कुरा सम्पूर्ण अंग्रेजी शिक्षक मात्र नभएर शिक्षासँग सम्बन्धित सबै पक्षका लागि कम खुशीको कुरा होइन। कोभिड १९ को महामारीका कारण निराशाजनक जीवन विताइरहेका अंग्रेजी शिक्षकहरूलाई जगाएर आशाको दियो सल्काउन सफल यति महत्वपूर्ण सम्मेलन आयोजना गर्ने नेल्टाको केन्द्रिय नेतृत्वप्रति हार्दिक आभार, बधाइ तथा धन्यबाद्। 

(लेखक मरब, क्याम्पस, इलामका सह प्राध्यापक हुन्।) 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell