PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मांसाहार, छुवाछुत प्रथा र कोरोनाको अहिलेको भयावह अवस्था



पहिलोपोस्ट

मांसाहार, छुवाछुत प्रथा र कोरोनाको अहिलेको भयावह अवस्था

  • प्रा. हरिशरण उपाध्याय -

केही पूर्वापर सम्बन्ध

हिन्दु धर्मभित्र छुवाछुत प्रथा छ कि छैन? मांसाहार गर्न हुन्छ कि हुँदैन? आदि विषयबारे व्यापक बहस हुने गर्छ। पक्ष भन्छ, हिन्दुधर्म भित्र छुवाछुत प्रथा छैन र मांसाहार निषिद्ध छ। विपक्ष भन्छ, छ। विपक्षका तर्कहरू सामान्यरुपले हेर्दा सबल लाग्छन्। विपक्षले मनुस्मृति आदि गरिएका ग्रन्थहरूका केही उदाहरणहरूलाई ल्याएर त्यहाँभित्र विभेदका अनेक प्रसंगहरू र मांसाहार गर्न हुने विषयका तिनै प्रसंग ती ग्रन्थमा भएको सप्रमाण बुँदाहरू प्रस्तुत गर्दछ। तर, मेरो आधार भनेको पक्ष विपक्ष, भेद र विभेद भन्दा अलि पर ज्ञान र विज्ञान, सत्य र असत्य, न्याय र अन्याय, प्रकृति र विकृति आदि विषयमा केन्द्रित रहने गरेको छ। यहाँ यति सन्दर्भ जोड्नुका पछाडिको कारण, छुवाछुत र मांसाहारका विषय वर्तमान महामारी कोरोनाको चर्चा गर्ने क्रममा ठाउँठाउँमा उल्लेख हुने भएकाले तत्सम्बन्धी कुरा कोरोनाका प्रसंगमा मात्र उल्लेख भएको हो भनेर पाठकहरूले बुझ्नुहुने छ। छुवाछुत वा मांसाहार सम्बन्धी पारम्परिक मान्यताका विषयमा फेरि अर्को कुनै प्रसंगमा उल्लेख गर्ने छु। अब आऊँ कोरोनाका बारेमा केही चर्चा गरौं।

 

कोरोना महामारी : केही तात्कालिक सन्दर्भ

- अहिले कोरोना नामक विषाणुको प्रकोपका कारणले विश्वमानव भयभीत छ, सन्त्रस्त छ। सर्वत्र हाहाकार छ। मानव किंकर्तव्यविमूढ भएको छ। विषाणुको प्रतिकार गर्ने कुनै उपाय सुझेको छैन। र, हालसम्म यस सम्बन्धी कुनै औषधि पनि देखिएको छैन।

- विश्वका वैज्ञानिक, डक्टरहरू जो भौतिक विज्ञानको चरम सीमामा पुगिसकेका छन् तिनीहरू पनि यो अदृश्य कोरोना विषाणुको थाम्नै नसकिने प्रकोपले गर्दा असमञ्जसमा परेका छन्। मै हूँ भन्ने वैज्ञानिक, डक्टरहरू समक्ष यो ठूलो चुनौति थपिएको छ।

- यस विषाणुको प्रतिकार गर्ने कुनै औषधि नभएकाले विश्व स्वास्थ्य संगठनले यस प्रकोपबाट बच्न केही निर्देशन (गाइडलाइन) दिएको छ। ती निर्देशहरू हुन् :

क) बारम्बार २० सेकेण्डसम्म साबुन पानीले हात धोइराख्नू।

ख) प्रत्येक व्यक्तिसँग बस्दा वा बोल्दा एकदेखि तीन मीटरसम्मको दूरी कायम गर्नू।

ग) भीडभाडमा धेरै बेर नबस्नू।

घ) सकभर बाहिर बनेका खाद्यपदार्थ नखानू।

ङ) माछा, मासु राम्ररी पकाएर मात्र खानू। आदि आदि।

 

कोरोनाः विज्ञान, आयुर्वेद र हिन्दु धर्मशास्त्र

कोरोनाबारे वर्तमान विज्ञान अर्थात् वैज्ञानिकहरू बडो मिहिनेतका साथ भ्याक्सिन निर्माणका लागि लागिरहेका छन्। तर, विश्व स्वास्थ्य संगठनका भनाईहरूलाई आधार मान्ने हो भने वर्तमान मानव समुदाय किंकर्तव्यविमूढ भएको छ। आत्तिएको छ। तर, यहाँ महामारीबारे धर्मशास्त्रहरू के भन्छन् र आयुर्वेदशास्त्र के भन्छ भन्ने विषयलाई उल्लेख गर्नु वाञ्छनीय देखिन्छ। धर्मशास्त्र र आयुर्वेद शास्त्रको भनाई एकै प्रकारको छ। यी शास्त्रहरूले जे भनेका छन् अहिले लगभग त्यही नै कुरालाई बचतको माध्यमका रुपमा विश्व स्वास्थ्य संगठनले बारम्बार दोहोर्‍याइ रहेको छ। अर्थात्, कोरोना प्रकोपबाट हारेको भौतिक विज्ञानले पनि हिन्दू संस्कारलाई प्रमाणित गरेको छ। त्यसका केही प्रमाणहरू यहाँ प्रस्तुत छन् :

- धर्मशास्त्रमा हात गोडा धुनू, स्नान गर्नू, कपडा सफासँग धुनुपर्ने कुरामा विशेष जोड दिइएको छ। बजारमा, कार्यालयमा, मेला, भेलामा जाँदा, अस्पतालमा जाँदा, जुलुस सम्मेलनमा जाँदा कस्ता कस्ता व्यक्तिसँग सम्पर्क हुन्छ, ती ती व्यक्तिमा भएका विभिन्न रोगका कीटाणुहरू आफूमा पनि आउन सक्छन्। तसर्थ घर आए पछि स्नान गर्नु नै पर्छ भनेर धर्मशास्त्रहरू भन्छन्। त्यही नै आयुर्वेद शास्त्रको भनाई छ।

धर्मशास्त्र भन्छ : शवयात्रामा जाँदा त झन् अनिवार्य सचैल स्नान गर्नै पर्छ।

स्नानका सम्बन्धमा नीतिशास्त्र भन्छ – शतं विहाय भोक्तव्यं सहस्रं स्नानमाचरेत्।

अर्थात् शय काम छोडेर खानू, हजार काम छोडेर स्नान गर्नू। पानी प्राण पनि हो। अपवित्रलाई पवित्र बनाउने महत्वपूर्ण पदार्थ हो। जन्मँदा साथ मनतातो पानीले बच्चालाई नुहाइदिने चलन छ भने अन्तिम संस्कारमा खरानी बनाएर पानीमा नै बगाइदिने परम्पराले पनि स्नानादि गर्नुपर्ने कुरालाई प्रमाणित गरेको छ।

यिनै सन्दर्भलाई पुष्टि गर्ने कुरा हाम्रा पूर्वजहरूले भन्दै आएका थिए। तीबारे केही चर्चा गरौं :

- शौच गर्ने क्रममा शुद्ध माटो र पानीले मिची मिची मूत्रेन्द्रिय, गुदा, शुचि गरेको बायाँ हात र दुवै हात मिलाएर क्रमशः एक, तीन, दश र सातपटक धुनुपर्ने कुरा बताइएकोछ। यति काम गर्दा २० सेकेण्ड मात्र होइन करीब ५० सेकेण्ड लाग्छ।

- जुनै काम गर्दा पनि हस्तपादौ प्रक्षाल्य हात गोडा धोएरमात्रै काम गर्नू भनेर उल्लेख गरिएको छ।

- देवोभूत्वा देवं यजेत् अर्थात् देवता बनेर परमसत्ताको आराधना गर्नू। तात्पर्य के हो भने शुद्धताको ख्याल गर्नू। अर्थात् कसैसँग नछोइनू (अहिले कसैसँग छोइए एकान्त वास बस्नुपर्ने कानून बनेको छ)।

- कसैसँग नछोइनू भन्नुको तात्पर्य आजका वैज्ञानिकहरूले त एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग मात्र सर्छ भन्छन्। हाम्रा पूर्वज महर्षि देवल, सुश्रुत, चरक आदि महापुरुषको अनुभवमा एकबाट अर्को व्यक्तिमा रोग मात्र सर्दैन अपितु तत्तत् व्यक्तिगत दुराचार, आचार, विचार, संकल्प, विकल्प, सन्तुलन, असन्तुलन, क्रियाकलाप, खान, पान, रहनसहन, बोली, वचन, उठ, बस किंवा पूरै जीवनशैलीको संक्रमण हुन सक्छ। अतः संगत गर्नुपर्दा निकै विचार पुर्‍याउनु पर्छ।

देवल ऋषि भन्छन् :

संलाप स्पर्श निःश्वास सह शय्याद्रसनाशनत्।

याजनाद्द्रध्यापनाद् यौनात्पापं संक्रमते नृणाम्।।

नजिकैबाट वार्तालाप गर्दा, आपसमा छोइँदा, सास फेर्दा, साथै सुत्दा, साथै खाँदा, सँगै बस्दा, नजिकै बसेर यज्ञ गराउँदा, अध्यापन गर्दा, यौनसम्पर्क गर्दा पनि एकआपसमा रोगका जिवाणु सर्ने सम्भावना अत्यधिक छ। यति मात्र नभएर सम्बन्धित व्यक्ति दुराचारी रहेछ भने त्यसमा भएका दुराचार वा पापका परमाणु सम्पर्क गर्ने व्यक्तिमा समेत सर्न सक्छ। यसै सन्दर्भमा अर्को भनाई छ :

प्रसंगाद्गात्रसंस्पर्शात् निःश्वासात् सहभोजनात्।

सहशय्याद्रसनाच्चापि गन्धमाल्यानुलेपनात्।।

कुष्ठं ज्वरश्च शोषश्च नेत्राभिस्पद एव च।

औपसर्गिक रोगाश्च संक्रमन्ति नरान्नरम्।।

अत्यन्त निकटताबाट, आपसमा छोइँदा, सास फेर्दा, साथै खाँदा, साथै सुत्दा, साथै छोइएर बस्दा अर्कोले लगाएको चन्दन, माला, तेल, साबुन, कपडा जुत्ता आदि लगाउँदा सम्बन्धित व्यक्ति रोगी रहेछ भने, कुष्ठरोग, ज्वर, सूजन, नेत्ररोग अथवा स्वभावजन्य आन्तरिक रोगहरू जस्तै : टी.बी., थाइरोइड, शीतज्वर (मलेरिया), शीतला, माता, चेचक, हैजा, प्लेग, डेंगू, कोरोना (अब यहाँ कोभिड १९ पनि जोडिदिए भयो) आदि रोग एउटा मनुष्यबाट अर्को मनुष्यमा सर्न सक्छन्।

तसर्थ, अहिले कोरोना विषाणुबाट बच्न छुवाछुतमा ज्यादै ध्यान दिनुपर्ने भएको छ। हाम्रा पूर्वजहरूले पापको संक्रमणबाट र रोगादिको संक्रमणबाट बच्न स्पृश्यास्पृश्य (छूवाछत)को परम्परा स्वस्थ मनुष्य जीवनका लागि अत्यन्त आवश्यक छ भनेका थिए। जाति वा वर्गविशेषलाई लिएर गरिने घृणामूलक अस्पृश्यता अभिशाप हो, शास्त्रले यसलाईमान्यता दिएको छैन। शास्त्रले त अवस्था विशेषलाई लिएर स्पृश्य अस्पृश्यको व्यवस्था गरेको हो। एकै व्यक्ति अवस्था विशेषले स्पृश्य हुन्छ। उही व्यक्ति अवस्था विशेषले अस्पृश्य हुन्छ। कसाईको काम गर्ने व्यक्ति कसाई कर्मावस्थामा अस्पृश्य नै हुन्छ, त्यही व्यक्ति स्नानादि गरेर शुद्धि भएको अवस्थामा स्पृश्य नै हुन्छ। यस कुरालाई निम्न बूँदाले पनि प्रमाणित गरेका छन् :

क) ट्वाइलेट पेपरले दिसा पुछ्ने र खानापछिपनि तेसैले जूठो हात पुछ्ने कुकृतिलाई धराशायी गराएर हिन्दू संस्कार अनुरुप साबुन पानीले शुची गर्नुपर्ने संस्कारलाई विज्ञानले प्रमाणित गरेको छ।

ख) ठूला साना नेताहरूले आगन्तुक अतिथिको स्वागत गर्दा हात मिलाउने, आलिंगन गर्ने र चुम्बनसमेत गर्ने कुसंस्कारलाई नमस्कार वा नमस्तेले प्रतिष्ठापित गरिदिएको छ।

ग) पाश्चात्यजगत्को संगतले गर्दा मृत व्यक्तिको शवयात्रामा जाँदा स्नान नगरी फर्कने, स्नान नगरी होटलमा खाने हिन्दूहरूलाई पनि सचेत गराएको छ। कोरोनाले शवयात्रामा गए पछि स्नान गर्नै पर्ने बाध्यता छ। जो हिन्दु संस्कारको प्रमुख अंग हो।

घ) हिन्दु शास्त्रमा शवदाह गर्ने परम्परा छ तर पाश्चात्यजगत् र भारत नेपालमा पनि केही वर्गमा शव गाड्ने चलन छ। चाहे जग्गाको अभावले नै किन नहोस्, अहिले शवदाह गर्न बाध्य छन्। यो हिन्दु संस्कृति विज्ञानको करामात हो।

ङ) थूक अपवित्र विकार हो। जहाँतहाँ थुक्न हुँदैन। थूकलाई बायाँतर्फ थुक्नुपर्छ। यसका केही नियम छन्। तर अहिलेको समयले थूकलाई साधारण मानेको छ। परमपूज्य कागजी लक्ष्मी (रुपैयाँ) गन्दा धेरैजसो थूक लगाएर गनेको देखिएको छ। त्यस्तै सरस्वती स्वरुप मानिने ग्रन्थहरूको पाता पल्टाउन पर्दा थूक लगाएर पाता फर्काइने गरेको छ। यो नितान्त निन्दनीय कुरा हो। यो कोरोनाले तेसो नगर्न भनेको छ।

च) हिन्दु संस्कृतिमा स्वच्छताका साथै पवित्रतालाई पनि महत्त्व दिइएको छ। अहिलेको यस भौतिक विज्ञानले पवित्रतालाई बुझ्दैन तर नजानिँदो पाराले भए पनि यी दुवै कुरालाई उसले स्वीकारेको छ।

अहिले केही निर्देशित मानवरुपी प्राणीहरूले छुवाछुतलाई वर्ग विभाजन गर्ने हतियार बनाएका छन्। जुन वर्ग सँधैजसो अशुचि जस्तै बस्छन् तिनलाई शुद्ध र सफा हुन, सफा कपडा लगाउन, शुद्ध र पवित्र आहार विहार गराउन किन उपदेश दिँदैनन्। यो चाहिँ बडो अचम्मको कुरा छ। यसको मतलब उल्लिखित मुद्दा उठाएर समाजलाई भँडाउन र विभाजित गर्न खोज्ने तर समाधानतिर नलाग्ने तिनको नियत देख्दा आश्चर्य लाग्ने गर्छ।

भारतका संविधान निर्माता डा. भीमराव अम्बेडकरले भनेका थिए- हामीले सवर्णलाई दोष नदिऔं, हामी पनि स्वच्छ बनौं, विद्वान् बनौं। छोडौं मरेका पशुको छाला उघार्ने काम।

स्पृश्यता र अस्पृश्यताको आधार जातिगत र वर्गगत होइन। त्यसको आधार शुचिता र अशुचिता हो। साथै आचार विचार रोगादिको संक्रमण पनि हो भन्ने कुरालाई उल्लिखित कतिपय आधारले पनि प्रमाणित गरेका छन्।

 

प्राकृतिक आहार, कोरोना र मांसाहार

साधारणतः मासु तागत बढाउने पदार्थका रुपमा लिइन्छ। तर प्रकृतिमा हेर्ने हो भने मांसाहारी जीवजन्तु बाहेक शाकाहारी जीवजन्तु बलशाली र दीर्घजीवी देखिएका छन्। यो ध्रुवसत्य कुरा हो। मांस भक्षण गर्नै परे त्यसलाई राम्रोसँग पकाएर मात्र खान डब्लूएचओले सल्लाह दिएको छ। हामीले देखिसक्यौं तेही अशोभनीय मांसाहारको लोभका कारणले चीनबाट कोरोनाजस्तो महामारी फैलियो। जगजाहेर छ मांसाहार शाकाहारको तुलनामा शारीरिक रमानसिक दुवै स्वास्थ्यका लागि लाभकारी छैन। तर, किन हो कुन्नि मांसाहारबारे सारा मानव समुदाय लपलपाएर बसेको छ, लालायित छ। धन्य छ मानव समुदाय। ती महान् अनुभवी वैज्ञानिक, डाक्टरहरू पनि केही भन्न सक्दैनन्। धर्मशास्त्रको दुहाई दिएर, धोतीपाटा फेरेर मासु खाने भनाउँदा विद्वानहरुको हालत हेर्दा झनै दया लागेर आउँछ।

चेतन ईश्वरद्वारा रचित यस ब्रह्माण्डमा जडचेतन समुदायको गणना गर्न कसैले सक्दैन। यो विशाल सृष्टिमा नचाहिने अनावश्यक वस्तु केही छँदै छैन। कुन प्राणीको कुन पदार्थ खाद्य हो, पेय हो, यो पनि सृष्टिका साथै निर्धारित गरिएको छ। असंख्य चेतन प्राणीमा मनुष्य सर्वश्रेष्ठ मानिन्छ। उसमा ज्ञान छ, विवेक छ, दया छ, उपकारको भावना छ त भनिन्छ तर किन हो कुन्नि मांसाहारका प्रसंगमा मानवका उल्लिखित विशेषणहरू कता हराएर जान्छन्, जान्छन्, यो चाहिँ बडो आश्चर्य लाग्दो विषय हो। मांसाहार प्रकृतिविरुद्ध आचरण हो, मानवको आहारा मासु होइन। प्रकृतिविरुद्ध मांसाहारको परिणाम कोरोना विषाणु हो। एस कुरालाई चीनले प्रमाणित गरेको छ।

 

कोरोनाः प्रकृतिविरुद्ध आचरणको फल

सञ्चार माध्यमबाट चीनको वुहानमा सर्प, अजिंगर, चमेरा, छेपारा आदिको बिभत्स दृश्य देखिन्छ। हेर्दै जिरिंग हुने अवस्था छ। त्यहीँबाट यो कोरोना विषाणु विश्वमा फैलिन गयो र अहिले विश्वमा हाहाकार छ। भनिन्छ - यो विषाणुको प्रभाव खास गरेर त्यस्तैको मासु खानेहरूमा पर्छ। यसबारे वैज्ञानिकहरूले अनुसन्धान गरेको देखिएको छैन। किन?

विषालु सर्पको मासुलाई खानयोग्य बनाउन, जुन प्रविधिले विष निकालिन्छ, त्यहाँबाट निस्कने विषमय परमाणुले सम्पूर्ण शरीरलाई नै विषमय बनाउँछ। चेतन प्राणीहरूको सृष्टिमा सबभन्दा धेरै क्रोध गर्ने प्राणी सर्प हो। खाद्य पदार्थको अन्तिम परिणति मन हो, त्यस्तो क्रोधी सर्पको मासुले बनेको मन कस्तो होला? चमेरो जस्तो अमांगलिक चराको मासुले बनेको मन कस्तो होला?

चीनमा न केवल ती विषालु जन्तुहरूको मासु खाइन्छ अपितु ती विषालु जन्तुबाट निकालिएको विषको प्रयोग आफ्नो शक्ति प्रदर्शनका लागि गरिन्छ, जुन प्रकारान्तरले भविष्यमा जैविक हतियार बन्न सक्ने सम्भावना पनि छ। साँच्चिकै सर्पादि विषालु जन्तुको मासु मानव खाद्य हो त? वायुमण्डलमा व्याप्त प्रदूषणलाई लिएर मानव जातिको सहयोग गर्ने सर्पादिलाई मानवले नै खाएर मानव नै प्रदूषण फैलाउने साधन बन्ने त?

अन्य पशुको छालाले बनेको दमदम बज्नेमादल (मृदंग)मा बाघको छालाको टुक्रो जोडिदिए मादलको बज्ने स्तर बदलिन्छ। मरेको छाला भए पनि बाघको छालाको प्रभाव मादलमा पर्छ।

अहिले कोरोना विषाणु त चीनको प्रकृति विरुद्ध आचार र विचार भएकाले आएको हो। शायद विश्व सम्राट बन्ने चाहनाको परिणाम हुनसक्छ कोरोनाको आगमनको कारण। मानव मानव भनेरमात्रै हुँदो रहेनछ मानवको आचरण पनि चाहिँदो रहेछ। तिनलाई केही बूँदागत रुपमा हेरौं :

क) आआफ्नो वर्चस्व स्थापित गर्न, विश्व विध्वंसक भयंकर परमाणु अस्त्र आदिको परीक्षण गर्नू।

ख) धूवाँधार मील, कारखाना, फ्याक्ट्रीहरूको निर्माण हुनू।

ग) यातायात सुविधाको नाममा भूधर (पृथ्वीलाई धान्ने, पिल्लरलाई धराशायी बनाउनू।

घ) विषपान गरेर शुद्धवायु दिने वन र वनस्पतिको विनाश गर्नू।

ङ) गलत खानपानबाट मनुष्यको आन्त्र निर्बल हुनू।

च) कीटनाशक औषधिको निर्माण र प्रयोग एवं रिसाब हुनू।

छ) सरसफाईको अभाव र मनुष्यको प्रमाद तथा यान्त्रिक, ध्वनि प्रदूषण हुनू।

 

यिनै कारणले संसारमा निम्न लिखित घटना घटिरहन्छन्

क) कहिले बाढी, पहिरो र भूकम्प आउनू।

ख) कहिले हैजा आउनू।

ग) कहिले प्लेग आउनू।

घ) कहिले चेचक आउनू।

ङ) कहिले मलेरिया (शीतज्वरो), डेंगू रइन्फ्लूएञ्जा आउनू।

च) अहिले कोरोना आएनू।

 

समाधानका उपाय

क) नेपाल देवभूमि हो। ढुंगो खोज्दा देवता मिल्छ भन्ने उखान चरितार्थ गर्ने पवित्र देश हो यो। तसर्थ हामी पनि दैवीशक्ति सम्पन्न बनौं।

ख) यहाँ गाईलाई लक्ष्मीरुप मानिन्छ, पुजिन्छ। गाईको सम्मान गरौं।

ग) सर्पलाई नागदेवता मानिन्छ, पुजिन्छ। शिवको मालामा नाग छन्। नागको सम्मान गरौं।

घ) शेषनाग त भगवान् विष्णुका शयन मानिन्छन्।

ङ) मूसालाई श्री गणेशजीको वाहन मानिन्छ।

च) नन्दी गोरु, भगवान शिवका सेवक हुन्।

छ) सिंह भगवती पार्वतीको वाहन हो।

ज) राँगो भैंसी यमराजको वाहन हो।

एकछिन भगवान् पशुपतिको परिवारलाई हेरौं, जहाँ सहअस्तित्वको भावना छ। भगवान् श्री पशुपतिको परिवारमा परस्पर विरुद्ध स्वभाव भएका सदस्य छन्। सिंह, गोरु, सर्प, मूसो, मयूरसँगै छन्। हामीले कहिल्यै त्यहाँ संघर्ष देखेका छौं त? कस्तो समरसता छ यस परिवारको। हामी नेपालीलाई यसले के देखाएको छ भनेर यसो सोचौं। कालकूट विषपान गर्ने महामृत्युञ्जय भगवान् श्री पशुपतिनाथको आराधना गरौं। कोरोना विषाणुलाई जितौं।

क) अरु घटना क्षणिक हुन्छन्। यो कोरोना विषाणु प्रकोप दीर्घकालीन होला जस्तो छ।

ख) यसलाई संयम, धैर्य, आत्मबल, स्वच्छता, पवित्रता, अनुशासित जीवनशैली र खानपानको सन्तुलनबाट जित्न सक्नुपर्छ।

ग) यस सम्बन्धमा व्यासको भनाई उल्लेख्य रहेको छ :

नाश्नत पथ्यमेनान्नं व्याधयोद्रभिभवन्ति हि।

एवं नियमकृद् राजन् शनैः क्षेमाय कल्पते।। (भागवत–६)

जुन पुरुषले सदैव पथ्य भोजन गर्छ त्यसलाई कुनै पनि व्याधिले आक्रमण गर्न सक्दैन। जसले संतुलित, अनुशासित जीवनशैली अपनाउने गर्छ भने सुस्तैसुस्तै त्यो व्यक्ति कल्याणको भाजक बन्छ, स्वस्थ्य रहन्छ। सदा सुखी रहन्छ।

यो कोरोना विषाणु मानवलाई मार्न मात्र आएको होइन। मानवको असन्तुलित जीवन शैलीलाई सुधार्नका साथै प्रायः नष्ट भ्रष्ट भइसकेको धर्मशास्त्रीय मान्यतालाई पुनःस्थापित गर्न पनि आएको हो। सञ्चारकर्मी र डाक्टरहरूले माछा मासु बेसरी पकाएर खानुस् भन्नुभन्दा मासु नै नखानुहोस् भनिदिँदा के नै पो फरक पर्ला र! यसबारे शायद अनुसन्धान त भएको छैन तर मेरा विचारमा शाकाहारीको तुलनामा मांसाहारीमा यस विषाणुको प्रभाव बढी देखिएको छ। यसबारे पनि अनुसन्धान गर्नु वैज्ञानिकहरूको कर्तव्य हो। अतः मासु नखाऔं शाकाहारी बनौं।

 

निष्कर्ष

मानवजाति पनि भुलक्कड भएको छ। घटना आउँदा भयभीत भएर के गर्दा होला भनेर सावधान त हुन्छ। केही समयपछि त्यही कुरालाई भुल्छ। यो कमजोरी अहिलेको मानवमा छ। यति हुँदाहुँदै पनि कोरोनाले हामीलाई केही सिकाएको पनि छ।

क) कोरोनाले हामीलाई, संयममा बस्न सिकाएको छ।

ख) चञ्चले प्रवृत्तिलाई धीर र स्थिर बन्न सिकाएको छ।

ग) मातृभूमि प्रतिको प्रगाढ आस्थालाई जगाएको छ।

घ) आत्मनिर्भर बन्नेतर्फ आकर्षण बढाएको छ।

ङ) खानपान रहनसहनलाई सन्तुलित गराउन प्रेरित गरेको छ।

च) आपाततः आउने साधारण असाधारण रोगलाई आत्मबलबाट जित्ने अभ्यास गराउँदै छ।

छ) आपद्लाई अवसरमा बदल्ने काम पनि गरेको छ।

र, अन्त्यमा प्रकृति सम्बद्ध छुवाछुत तथा खानपानको पालना गरी अप्राकृतिक मांसभोजनबाट टाढै बस्न पनि सिकाएको छ।

(लेखक सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका प्राध्यापक हुन्।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell