PahiloPost

May 15, 2025 | २ जेठ २०८२

बाबा होटलमा नेसनल मेडिकल कलेजले शुरु गर्‍यो १७० शय्याको कोभिड अस्पताल



राधेश्याम पटेल

बाबा होटलमा नेसनल मेडिकल कलेजले शुरु गर्‍यो १७० शय्याको कोभिड अस्पताल

वीरगंज : वीरगंज नगवामा रहेको बाबा होटललाई भाडामा लिएर नेसनल मेडिकल कलेज वीरगंजले १७० शय्याको कोभिड-१९ विशेष अस्पताल शुरु गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङ, पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तलगायत नेकपाका नेता कार्यकर्तासहित भीडभाडका बीच कोभिड अस्पतालको उद्घाटनपछि अहिले वीरगंजमा पुनः नेसनल मेडिकल कलेजको आलोचना शुरु भएको छ।

वीरगंज तथा पर्सा–बाराका जनतालाई चाहिएको बेला नेसनल मेडिकल कलेजले कोभिड अस्पताल नबनाएको तर हाल मध्य तराईका जिल्लामा कोरोना संक्रमितको संख्या घटेर कोभिड अस्पताल बन्द भइरहेको बेला नेसनल मेडिकल कलेजले कोभिड अस्पतालको उद्घाटन गराएको आरोप लगाउन थालिएको छ।

नारायणी अस्पतलाका एक चिकित्सकले भने, ‘पर्साका जनता सडकमा मरिसकेपछि बल्ल नेसनल मेडिकल कलेजले कोभिड अस्पताल उद्घाटन गरायो रे। ढिलै भए पनि लाज पचाउन कोभिड अस्पताल शुरुवात गरेकोमा नेसनल मेडिकल कलेजका व्यवस्थापन पक्षलाई शुभकामना तथा बधाई छ।’ अस्पताल उद्घाटनमा नेसनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुद्दीन अन्सारीले कोभिड अस्पतला सञ्चालनले वीरगंजका संक्रमितहरुको लागि प्रभावकारी सेवा दिने बताएका थिए।

८ वटा भेन्टिलेटर, २० वटा आईसीयू कक्षसहित सञ्चालनमा आएको कोभिड अस्पताललाई आवश्यकताअनुसार थप १३० शय्या थपेर ३ सय बेड क्षमताको कोभिड अस्पताल बनाउने लक्ष्य राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell