PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विराटनगरमा सबैभन्दा बढी कोरोना फैलाउने गुदरीमा फेरि बढ्यो हेल्चेक्र्याइँ, वडाध्यक्ष भन्छन्, 'हाम्रो अनुरोध कसैले टेर्दैनन्'



अनन्तराज न्यौपाने

विराटनगरमा सबैभन्दा बढी कोरोना फैलाउने गुदरीमा फेरि बढ्यो हेल्चेक्र्याइँ, वडाध्यक्ष भन्छन्, 'हाम्रो अनुरोध कसैले टेर्दैनन्'

विराटनगर : विराटनगरको अति व्यस्त तरकारी र किराना बजार गुदरीबाट कोरोना भाइरसको महामारी फेरि फैलने सम्भावना बढेको छ।

गुदरी बजार खुलेसँगै यहाँका पसले र पसलका कामदारको हेल्चेक्र्याइँ र अनुशासनहीनताका कारण गम्भीर परिस्थिति आउने देखिएको हो।

जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार यही भदौ २२ गतेदेखि विराटनगरको बजार बिहानदेखि साँझ ७.०० बजेसम्म खोल्न थालिएको छ।

विराटनगरको गुदरीमा तरकारी र किराना पसलको काम गर्ने अधिकांश पसलेले मास्क र पञ्जा लगाएका हुँदैनन्। मास्क लगाउनेले पनि नाक र मुख ह्वाङ्गै खुला छाडेर चिउँडामा लगाएका हुन्छन्। पञ्जा त कसैका हातमा देखिँदैन। रुपैयाँ–पैसाको कारोबार गरेपछि कसैले स्यानिटाइजर लगाउँदैनन्। तरकारी पसले कसैले पनि स्यानिटाइजर राखेका छैनन्।

त्यस्तै तरकारी पसलेले भौतिक दूरी पनि कायम गरेका छैनन्। नियमअनुसार २ मिटरको भौतिक दूरी राखेर बस्नु पर्नेमा तरकारी पसलेहरू एक–एक फिटको अन्तरमा बसेको देखिन्छ।

विराटनगर, तीन टोलियाका पारस कोइरालाले दैनिक उपभोगका सामग्री किनमेल गर्न गुदरी जानु खतरनाक भएको बताए।

कोइरालाले भने, ‘पहिले पनि यही गुदरीबाट विराटनगरभरि कोरोना सङ्क्रमण फैलियो। अहिले पनि त्यही अवस्था दोहोरिने सम्भावना बढेको छ। महानगरपालिकाको हेल्चेक्र्याइँले खतरनाक स्थितिको सिर्जना भइरहेको छ।’

महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार हालसम्म महानगर क्षेत्रका ७ हजार ८ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ। जसमा १ हजार २ सय ७७ को रिपोर्ट पोजिटिभ आएको छ र १५ जनाको मृत्यु भइसकेको छ।

गुदरी बजार रहेको वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथ भगतले यस वार्डमा मात्र ८५ जना सङ्क्रमित भइसकेको र गुदरीका २ जनाको मृत्यु भएको जानकारी दिए।

यस वडाका हालसम्मका सङ्क्रमित ८५ मध्ये गुदरी बजारका मात्र ६० जना छन्।

वडाध्यक्ष भगतले गुदरी बजार ३ दिनका लागि मात्र सिल गरिएको र यसपछि क्रमशः खोलिएको बताए।

‘हो गुदरी बजारमा अनुशासनहीनता र हेल्चेक्र्याइँ बढेको छ’, उनले भने, ‘यसबाट ग्राहकमा सङ्क्रमण बढ्ने खतरा देखिएको छ। यसलाई स्वीकार गर्नैपर्छ।’

भगतले गुदरीमा कम्तीमा १० जना प्रहरी राखेर सबैलाई अनुशासनमा ल्याउनु पर्ने उल्लेख गरे।

‘हाम्रो अनुरोध यहाँका पसले र कामदार कसैले टेर्दैनन्’, उनको भनाइ छ, ‘त्यसैले प्रहरी नै राखेर यहाँका पसले र पसलका कामदारलाई अनुशासनमा ल्याउन मैले महानगरका प्रमुख भीम पराजुलीसमक्ष आग्रह गरेको छु।’

उनले थपे, ‘प्रहरीको अनुरोधलाई नटेर्नेको पसल नै हटाइदिनुपर्छ। अनि मात्र यहाँका पसले र कामदार ठेगानमा आउँछन्। अहिले त कसैलाई टेरिरहेका छैनन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell