विराटनगर: प्रदेश १ मा आज ४६ जना कोभिड १९ संक्रमित थपिएका छन्।
५ सय ४७ जनाको पीसीआर परीक्षण गरिएकोमा २० महिला र २६ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। संक्रमितहरु मोरङमा ४१ जना, खोटाङ, उदयपुर र झापा १/१ जना र प्रदेश बाहिरका २ जना रहेका छन्।
मन्त्रालयका अनुसार विराटनगरमा आज ३८ जनामा संक्रमण देखिएको छ। जसमा १८ महिला र २० जनाको रिपोर्ट पोजेटिभ आएको हो। त्यस्तै मोरङको धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुष संक्रमित भएका छन्।
त्यसैगरी खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष, झापाको शिवसताक्षीमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।
प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ४२ पुगेको छ।
प्रदेश १ मा आज ७ जना डिस्चार्ज भएका छन्। उनीहरु सबै मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन्। यससँगै डिस्चार्ज हुनेको संख्या २ हजार ६३ पुगेको छ।
प्रदेश १ मा हालसम्म १ लाख ७ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।