PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृतमा कोरोना, ५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द



फूलमाया पुरी

विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृतमा कोरोना, ५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

विराटनगर: विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेललाई कोभिड १९ को संक्रमण देखिएको छ।

शनिवार स्वाब संकलन गरिएका अधिकृत पोख्रेलको आइतवार पोजेटिभ रिपोर्ट आएको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र कुइँकेलले जानकारी दिए।

कुइँकेलका अनुसार पोखरेल शुक्रबारसम्म कार्यालयमा उपस्थित थिए। संक्रमणका सामान्य लक्षण देखिएपछि परीक्षण गराएका थिए। पोखरेल अहिले होम आइसोलेसनमा छन्।

पोखरेलमा संक्रमण पुष्टि भएपछि मेयरसहित कार्यालयका अधिकांश कर्मचारी आइसोलेट भएको कुइँकेलले बताए। ‘उहाँलाई सामान्य ज्वरो आएपछि स्वाब परीक्षण गर्नुभएको हो,’ कुइँकेलले भने, ‘अहिले होम आइसोलेसनमा हुनुहुन्छ। हामी नगरपालिकाका अधिकांश कर्मचारी पनि आइसोलेट भएका छौं।’

महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पोखरेलसहित हालसम्म कोरोना संक्रमित हुने कर्मचारीको संख्या ७ जना पुगेको छ।

पाँच दिन सेवा बन्द

कर्मचारीलाई संक्रमण देखिएपछि महानगरपालिकाले पाँच दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने सूचना पनि जारी गरेको छ। भदौ २९ गते सोमवारदेखि असोज २ गते शुक्रवारसम्म महानगरपालिका र यसका मातहतका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द रहने सूचनामा उल्लेख गरिएको छ।

महानगरपालिकामा समुदायस्तरमा संक्रमण फैलिरहेको अवस्थामा जनप्रतिनीधि र कार्यालयका कर्मचारीहरुमा समेत कोरोना देखिएपछि यसलाई रोकथाम तथा नियन्त्रण गर्न यसो गरिएको सूचनामा उल्लेख छ।

सूचनामा भनिएको छ, ‘समुदाय स्तरमा फैलिएको संक्रमण पछिल्लो समय महानगरपालिकाका केही जनप्रतिनीधि र कर्मचारी समेत कोभिड १९ बाट संक्रमित भएको अवस्थालाई मध्यनजर गर्दै सम्भावित उच्च जोखिम, रोकथाम न्यूनीकरण तथा नियन्त्रणका लागि यस महानगरपालिका नगर कार्यालय र मातहतका कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवा (स्वास्थ्य सरसफाइ वारुणयन्त्र एम्बुलेन्स आदि) बाहेकका अन्य सम्पूर्ण सेवाहरु मिति २०७७ भदौ २९ देखि २०७७ असोज २ गतसम्मका लागि बन्द गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell