लमजुङ : जिल्लामा बढ्दो कोरोना भाइरस संक्रमण (कोभिड-१९)का बारेमा गलत प्रचार गर्ने तीन जनालाई जिल्ला प्रशासन कायालयले कारबाही गरेको छ। बेँसीशहर नगरपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीय महिला र वडा नम्बर ११ का २९ वर्षीय पुरुषलाई आज जिल्ला प्रशासन कार्यालयमा बोलाएर कारबाहीस्वरुप प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिबाना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।
प्रजिअ शर्माले भने, ‘उनीहरुले सामाजिक सञ्जाल र कोरोना संक्रमित परिवारलाई भेटेर कोभिड-१९ का बारेमा गलत प्रचार गर्ने, कोरोना संक्रमित परिवारलाई अपहेलना गर्ने र समाजमा अनावश्यक भ्रम फैलाउने गरेकाले पहिलो पटक उनीहरुलाई कारबाही गरेका हौँ।’
संक्रमण रोग ऐन, २०२० को दफा (२) विरुद्धको गतिविधि गरेको र उनीहरुलाई छ महिनासम्म कैद सजाय हुने भए पनि पहिलो पटक भएकाले कारबाही स्वरुप उक्त जरिबाना गरेर छाडेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ।