PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

बँदेल मार्न थापिएको करेन्टको पासोमा परेर एक जनाको मृत्यु



रासस

बँदेल मार्न थापिएको करेन्टको पासोमा परेर एक जनाको मृत्यु

परासी : बँदेल मार्न थापिएको करेन्टको पासोमा परी नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)मा एक जनाको मृत्यु भएको छ। घर नजिकैको जंगलबाट आउने बँदेलले धानबाली नष्ट गरेको भन्दै बँदेल मार्न थापेको पासोमा परी रामग्राम नगरपालिका-१४ पर्सावलका ५५ वर्षीय होमनारायण यादवको मृत्यु भएको हो।

शुक्रवार राति घरबाट निस्केका श्रीमान् हराएको भनी यादवकी श्रीमती सोनियाले खोजतलासका लागि प्रहरीमा निवेदन दिएपछि प्रहरीले खोजतलास शुरु गरेको थियो। खोजतलासका क्रममा  यादवसँगै अन्य चार जना मिलेर पासो थापेको र उनको मृत्यु भएपछि चारै जना फरार भएको पत्ता लागेपछि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए।

फरारमध्ये दुई जनालाई प्रहरीले गएराति रुपन्देहीबाट नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ। पक्राउ परेका सोही गाउँका बाबुराम चौधरी र मोहन चौधरीले यादवको पासोमा परी मृत्यु भएपछि घटनास्थलभन्दा केही पर कुलामा खाल्डो खनेर शव पुरेको बयान दिएका थिए।

प्रहरीका अनुसार शुक्रवार राति उनीहरु पाँचै जनाले पासो थापेर घर गएको र बँदेल परेपछि खबर गर्ने जिम्मा यादवकै थियो। अबेरसम्म पनि यादवले जानकारी नदिएपछि पासो थापेको ठाउँमा आफूहरु पुग्दा यादव मृत फेला परेपछि खाल्डो खनेर पुरिएको पक्राउ परेकाहरुले बताएको डीएसपी लामाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell