PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

के कुलमानको प्रधिकरणमा होला रि-इन्ट्री? निर्भर आजको मन्त्रिपरिषद बैठकमा



सहयोग रञ्जित

के कुलमानको प्रधिकरणमा होला रि-इन्ट्री? निर्भर आजको मन्त्रिपरिषद बैठकमा

काठमाडौं : केही हप्तादेखि घरमा बत्ती जाने क्रम बढ्दो छ। कतै ट्रान्सफर्मर वा तार बिग्रिएको होला सायद। तर, दिनदिनै तार र ट्रान्सफर्मर बिग्रने गरी के भएको होला त?

शनिवार त बर्वादै भयो। दिनभर बत्ती गायब। राति त के भनुँ! पाँच पाँच मिनेटमा बत्ती जाने आउने जारी। फोन गरेर सोध्यो- ‘अलि समस्या छ आइहाल्छ’ भन्ने रेडिमेड जवाफ।

ठिकै छ। लोडसेडिङ हुँदा घण्टौंसम्म बत्ती कुर्दै बसेकाहरुलाई यो ठूलो कुरो भएन। तर अहिले धेरैमा एउटा सन्देह छ। फेरि कतै लोडसेडिङ हुने त होइन भनेर। बत्ती गएको गैछ।

कारण – कुलमान घिसिङको विदाइ।

आइतवारबाट कुलमान घिसिङको विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका रुपमा कार्यकाल सकियो। देशलाई अन्धकारबाट मुक्त गरेको श्रेय पाएका कुलमानको विदाइमा कुनै कार्यक्रम भएन।

सरकारी ओहोदामा पुगेपछि कार्यकाल सकेपछि बाहिरिनु नौलो कुरा होइन। तर यहाँ कुलमान घिसिङको बहिर्गमन भने धेरैलाई सकारात्मक मानेका छैन।

त्यसैले त कयौं हप्तादेखि जनस्तरबाट नै कुलमानलाई पुन: प्राधिकरणमा नियुक्ती गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ। सामाजिक संजालले सरकारले नै नगरेको निर्णय गरी कुलमानलाई ‘कार्यकारी निर्देशक’ पदमा पुन: नियक्ति नै गर्‍यो।

जनताको एउटै माग छ, ‘फेरि लोडसेडिङ नहोस्। चाहे कुलमान होस् या अरु कोही व्यक्ति। फेरि देशलाई अन्धकारमा नधकेलियोस्।’

तर यहाँ जनतालाई सरकारप्रति विश्वास नभएपछि के गर्ने?

सर्वसाधरणलाई सरकारले गर्ने नियुक्तिप्रति विश्वास पनि छैन। प्राधिकरणको कार्यकारी निर्देशक बन्ने होडमा विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंह, उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायत छन्। तर, प्राधिकरणको कार्यकारी निर्देशकको पदमा नाम सुनिएका मानिसलाई पत्याउनै गाह्रो मानिरहेका छन् उनीहरु। न त सरकारले जनतालाई बुझाउन सकेको छ न त उम्मेदवारहरुले नै। त्यसैले ‘फेरि कुलमान’ नारा सर्वत्र छ।

आइतवारबाट कुलमान विद्युत प्राधिकरणबाट बाहिरिसके। आउने दिनमा प्राधिकरणको नेतृत्वमाको आउँछन बालुवाटारलाई नै थाहा होला। 

कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएको केही समयमा नै उनले लोडसेडिङ अन्त्य भएको घोषणा गरेका थिए। जसबाट ‘बत्ती’को पर्याय नै ‘कुलमान’ बन्न पुगेका थिए।

बत्ती गयो कि जिस्केर मानिसहरु ‘कुलमानलाई के भएछ?’ भनेर ठट्टा गर्न थाले। बत्ती आएपछि ‘कुलमान आउनु भयो’ भन्न थाले। अहिले उनै कुलमान प्राधिकरणबाट बाहिरिँदा भोलि फेरि अन्धकार त हुने हैन भनेर प्रश्न गर्ने धेरै छन्।

पहिलो कार्यकालमा लोडसेडिङ हटाउँदै प्राधिकरणलाई मुनाफामा लग्न सफल भएका घिसिङ थप जिम्मेवारी निर्वाह गर्न तयार देखिन्छन्। तर आफू फेरि कार्यकारी निर्देशकको ‘रेस’ मा नरहेको पनि बताइरहेका छन्। सरकारले नियुक्त गरे फेरि प्राधिकरण जाने तर नगरे आफू ‘रेस’ को हिस्सा नबन्ने उनको लाइन छ।

यता जनमानसमा उनको पुन: नियुक्तको माग उठेपनि सरकारभित्र भने उनलाई पुन: नियुक्ती गर्ने बारेमा ‘साइड लाइन’ छलफल मात्रै भएका छन्। हाल प्रधानमन्त्री केपी शर्मा ओली र सम्बन्धित उर्जा मन्त्रालयको नेतृत्व गरिरहेका वर्षमान पुन पहिला कुलमानकै पक्षमा थिएनन्। यद्यपि, सर्वसाधरणबाट उनको पुन: नियुक्तिको माग उठेकोले सरकार ‘रिक्स’ पनि मोल्ने पक्षमा छैन। त्यसैले कुलमानबाट उनीहरु ‘कमिटमेन्ट’ खोजिरहेका छन्। यदि प्रधानमन्त्री ओली र मन्त्री पुन कुलमानले तय गर्ने आगामी दिशाबाट सन्तुष्ट भएमा सम्भवत सोमवार बस्ने मन्त्रिपरिषद् बैठकले उनलाई पुन: कार्यकारी निर्देशकमा नियुक्ति गर्ने सम्भावना उच्च रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell