PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

यहुदीको पर्व पर्नेगरी इजरायलमा दोस्रो चरणको लकडाउन, विरोध जनाउँदै मन्त्रीले दिए राजीनामा, सरकार छोड्ने चेतावनी



पहिलोपोस्ट

यहुदीको पर्व पर्नेगरी इजरायलमा दोस्रो चरणको लकडाउन, विरोध जनाउँदै मन्त्रीले दिए राजीनामा, सरकार छोड्ने चेतावनी

इजरायलले दोस्रो चरणको लकडाउन सुरु गरेको छ। दैनिकजसो ४ हजारको हाराहारिमा संक्रमित फेला पर्न थालेपछि इजरायलले तीन साताका लागि लकडाउन घोषणा गरेको हो। प्रधानमन्त्री बेन्जामिन न्यातान्याहुले चर्को मूल्य चुकाउन परेको भए पनि लकडाउन आवश्यक रहेको बताएका छन्।

यहुदीहरुको महत्वपूर्ण पर्वको समयमा लकडाउन भएको विषयलाई लिएर त्यहाँका एक मन्त्रीले राजीनामा नै दिएका छन्। त्यहाँको हाउजिङ मन्त्री याकोभ लिट्जमनले राजीनामा दिएका हुन्। उनी अर्थोडक्स जुइस पार्टीका नेता हुन्। उनले यहुदीहरुलाई योम किप्पुर लगायतका धार्मिक पर्व मनाउन रोक हुने गरी लकडाउन गरेकोमा आपत्ती प्रकट गर्दै राजीनामा दिएका हुन्। सेप्टेम्बर २७ मा उनीहरुको महत्वपूर्ण पर्व परेको छ।

यसै विषयलाई लिएर सत्ता साझेदार दल सरकारबाट बाहिरिने चेतावनीसमेत दिएका छन्।

इजरायलमा अहिलेसम्म ११ सय ८ जनाको मृत्यु भइसकेको छ। त्यहाँ १ लाख ५३ हजार भन्दा धेरै संक्रमित रहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ।

९० लाख जनसंख्या रहेको इजरायलमा पछिल्ला केही सातामा यता दैनिक ३ हजारभन्दा माथि संक्रमित भेटिएका छन्। आइतवार प्रधानमन्त्री न्यातान्याहुले यो संख्या दैनिक ४ हजार पुगिरहेको बताएका थिए।

नयाँ लकडाउन प्रावधान अनुसार १० जनाभन्दा बढी मानिस घरभित्र समूहमा बस्न पाउने छैनन् भने घर बाहिर २० जनालाई अधिकतम तोकिएको छ। स्कुल र सपिङ सेन्टर बन्द गरिएको छ।

प्रधानमन्त्रीले यहुदीहरुको पर्व पहिलेकै अवस्थाको नहुने बताएका छन्। 'यसअघिको जस्तो विदाको अवस्था अहिलेको होइन। हामीले आफन्तहरुसँग भेटेर यो वर्ष मनाउने स्थिति छैन,' उनले भनेका छन्। परिवारभित्रै पर्व मनाउन उनले आग्रह गरेका छन्।

यता राजीनामा दिएका लिट्जम्यानले लाखौं नागरिकले मनाउने पर्वविरुद्धको निर्णय भएको बताएका छन्। 'यसभन्दा अगाडि कहाँ हुनुहुन्थ्यो?,' उनले प्रश्न गरेका छन्, 'जब यहुदीको पर्व आइ त्यसपछिमात्र कोरोना भाइरसलाई ट्याकल गर्ने कुरा ल्याउने?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell