PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'खिया परिसकेका' बस दशैंमा चल्ला त? सर्वसाधारणको चासो : घर जान पाउने हो कि नाई?



दिनेश खड्का

'खिया परिसकेका' बस दशैंमा चल्ला त? सर्वसाधारणको चासो : घर जान पाउने हो कि नाई?

काठमाडौं : कोभिड-१९ को असर थामिने लक्षण नभएपछि धेरैसामु एउटा प्रश्न भने उब्जिन थालेको छ - अरुबेलामा त जसो भयो भयो, दशैंमा चाहिँ घर जान पाइएला कि नाई?

लामो लकडाउन र त्यसपछिको अहिले जारी निषेधाज्ञाले लामो दुरीका बस सेवालाई निषेध गरेको छ। नजिकिँदो दशैंमा मानिसहरुको आवत जावत कसरी होला त? अघिल्ला वर्षहरुमा नियमित रुटका गाडीले मानिस ओसार्न नभ्याउँदा रुट बाहिरका गाडी र स्कुलका विद्यार्थी बोक्ने बसहरुसमेत प्रयोगमा आउथ्यो, दशैंमा। यसपाला के होला त?

आम मानिसको चासो दशैंमा घर जान पाइएला वा नपाइएला भन्ने छ। तर, त्योभन्दा ठूलो चिन्ता चाहिँ यातायात व्यवसायीहरुको छ जसले लामो रुटलाई नै आफ्नो व्यवसायको आधार बनाएका छन्। उनीहरु चाहन्छन् - दशैंको मुखैमा गाडी गुड्न पाओस्।

त्यसैले यातायातसँग सम्बद्ध तीनवटा ट्रेड युनियन र बस व्यवसायीले शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङकहाँ डेलिगेसनमै गए। उनीहरुको माथ थियो - 'असोज १ गतेदेखि सबै खालका सवारीसाधन चलाउन पाउन पर्‍यो।'

यतिखेर काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो छ। सार्वजनिक सवारी पनि जोर बिजोर प्रणालीमा चल्न पाएका छन्। तर, लामो दुरीको यातायात त अघिल्लो वर्षको चैतदेखि नै ठप्प छ।

त्यसो त सरकारले भदौ मसान्तसम्म सीमा तोकेको छ लामो दुरीका सवारीसाधन नचलाउनका लागि। यसको अर्थ त्यसपछि निर्वाध लामो दुरीका बसहरु चल्छन् भन्ने होइन। त्यही बुझेका व्यवसायी र मजदूर 'रोजीरोटी'को विषय भन्दै मन्त्री भेट्न पुगेका थिए। र उनीहरुको माग थियो - असोज १ गतेदेखि सबै दुरीका सवारीसाधन संचालन गर्न पाइयोस्। दशैंको मुखमा जसरी पनि व्यवसायीले सेवा सुरु गर्न चाहेका छन्। त्यसैले सरकार यस विषयमा निर्णयविहीन भए, निषेधाज्ञाको अवज्ञा गरेर यातायात चलाउने घोषणा गरेका छन्, व्यवसायीले।

लगातार थपिएको ऋणको ब्याज र थन्किएका बस नगुड्दा उल्टै बिग्रने सम्भावनाले व्यवसायीहरुलाई सताइरहेको छ। त्यसैले, उनीहरु कुनै पनि हालतमा असोज १ गतेदेखि बस गुडाउन चाहन्छन्।

दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने मानिसको संख्या उल्लेख्य हुने गर्छ। काठमाडौंको चहलपहललाई ह्वात्तै घटाउनेगरी मानिसहरु बाहिरिन्छन् दशैंमा। बस व्यवसायीका लागि राम्रो आम्दानी गर्ने समय पनि। अघिल्लो वर्ष करिब २० लाखले दशैंमा उपत्यका छाडेका थिए। त्यसो त यतिखेर स्थिति सामान्य भएको भए बसका टिकट बिक्री सुरु भइसकेको हुन्थ्यो। अग्रिम टिकट बुकिङका लागि यातायात व्यवसायी र यातायात व्यवस्था विभागका कर्मचारीहरु माथापच्ची गरिरहेका हुन्थे - कसरी सहज रुपमा व्यवस्थापन गर्ने भन्ने विषयमा। यतिसम्म कि दशैंलाई नै लक्ष्य गरेर गाडी किन्नेहरु पनि हुन्थे।

तर, अहिले ६ महिना बितिसकेको छ, भएका गाडी नै थन्किएका। दशैं अगाडि लामो दुरीका सार्वजनिक यातायात चल्ने/नचल्ने टुंगो छैन। तर, व्यवसायी भने सरकारले अनुमति दिए गाडी चलाएर यात्रुलाई सुरक्षित रूपमा गन्तब्य पुर्‍याउने जिकिर गर्छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारले सार्वजनिक यातायात खुला गरेर सुरक्षित रूपमा यात्रुलाई गन्तब्यमा पुर्‍याउने प्रतिबद्धता जनाउँछन्।

‘कोरोना नियन्त्रणमा आउने निश्चित छैन। तर दशैंमा घर पुर्‍याउने जिम्मा हाम्रो भयो,’ उनले भने, ‘हामी स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार सवारी साधन चलाएर यात्रुलाई घरघरमा पुर्‍याउँछौं।’

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले दशैंका लागि सवारी साधन खुला गरिनसक्ने बताए।

'यातायात व्यवसायी, मन्त्रालय लगायत सरोकारवाला निकायसँग छलफल सुरु भइसकेको छ। दशैंमा सवारी साधन खुलाउनुपर्छ,' उनले भने। सुरक्षित हिसाबले सवारी साधन चलाउन गृहकार्य भइरहेको उनले बताए।

यता सिटौलाले भने विश्वकर्मा पूजापछि सवारी साधन चलाउने बताए। महासंघले सर्कुलर नै जारी गरेर सवारी साधन चलाउने तयारी गरेको उनले बताए।

'विश्वकर्मा पूजा व्यवसायी, मजदुर, वर्कसप सबैको लागि ऐतिहासिक दिन हो। सार्वजनिक यातायात व्यवसायीले 'कोमा'मा गएको क्षेत्रलाई उठाउन अब अवज्ञाको विकल्प छैन,' उनले भने। सिटौलाले सरकारले जोरविजोर प्रणालीबाट जिल्लाभित्र सवारी साधन संचालन गर्ने निर्णय स्वागत योग्य भएको बताउँदै लामो दुरीमा पनि यही अभ्यास आवश्यक रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell