PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कोठाभाडा तिर्न नसक्दाको झगडा : घरभेटीको प्रहारले गयो शम्भुको ज्यान



सविन ढकाल

कोठाभाडा तिर्न नसक्दाको झगडा : घरभेटीको प्रहारले गयो शम्भुको ज्यान

काठमाडौं : घरभेटीले कोठा छाडेर जान निर्देशन दिएदेखि ४२ वर्षीय शम्भु महतोसामु तनाव थपिएको थियो। करिब ६ महिनादेखि जारी लकडाउनका कारण दैनिकी चलाउनै अप्ठ्यारो भइसकेको थियो। त्यस्तोमा नयाँ ठाउँ खोज्दै कहाँ जानु?  

एक त काठमाडौँमा कोठा पाउन कठिन। त्यसमाथि कोरोना सङ्क्रमणको त्रासले रित्तिएका कोठा भेटे पनि दिन्छन् भन्ने ठेगान नहुने।

कसोकसो शम्भुले कीर्तिपुर नगरापालिका वडा नम्बर ७ मा डेरा चाहिँ भेट्टाए। गत बिहीवार नै आधाभन्दा धेरै सामान नयाँ कोठामा पुर्‍याए पनि। केही सामान बाँकी थिए - बेच्नका लागि ल्याइएका फलफूल र तरकारी। शुक्रवार तिनै सामान सार्नमा व्यस्त थिए उनी।

उनको परिवार विगत २ दशकदेखि नेपालमा बस्दै आएको छ। भारतको बिहार मोतिहारी जिल्लाको पूर्वी चम्पारण ग्रामपोष्ट संग्रामपुरका हुन् उनी। त्यहाँबाट नेपालको बारामा आएर बसेका थिए। त्यही समयमा उनको सिरहाकी नितुसँग प्रेम र विवाह भयो। विवाह गरेर उनीहरू काठमाडौँ आए।

कहिले गाडीको सह-चालक बने त कहिले फलफूल र तरकारी बेचेर गुजारा गरिरहे। उनका तीन छोरा भए। जीवन सामान्य रूपमा चलिरहेको थियो। तर, लकडाउन र निषेधाज्ञापछि अवस्था केही कष्टकर बन्यो। उनको आम्दानी घट्दै गयो। घरभेटीले बारम्बार भाडा माग्न थाले। परिवारमा उनको बाहेक अन्यको आयस्रोत थिएन।

महतोको परिवार कीर्तिपुर नगरपालिका वडा नम्बर ७ भाजंगलमा प्रेमकृष्ण महर्जनको घरमा बस्दै आएको थियो। दुई वटा कोठा भाडामा लिएका थिए उनीहरुले। भाडाको विषयमा नै घरभेटीसँग केही मनमुटाव भयो। शम्भुले जसोतसो १२ हजार रुपैयाँ ल्याएर घरभेटीलाई तिरे।

त्यसपछि त झन् कोठा छोडेर जान चेतावनी दिन थाले। सधैंको किचकिच सहनुभन्दा कोठा छाड्ने निर्णयमा पुगे। कोठा खोजे, सामान सार्न थाले।

शुक्रवार मध्यान्हतिर छोरा र श्रीमती खाना खाइरेका थिए। एक्कासी शम्भु चिच्याएको आवाज सुनियो। कोठाबाट निस्किएर हेर्दा शम्भु भुईंमा लडेका थिए। शरीरबाट रगत बगिरहेको थियो। बाँकी रहेको सामान र परिवार लिन पुगेका उनी अचेत भइसकेका थिए।

शम्भुका छोराले प्रहरीलाई खबर गरे।

'उनीहरू बीच पानी थाप्ने विषयलाई लिएर सामान्य विवाद भएको रहेछ। त्यस्तैमा घरधनी प्रेम कृष्ण महर्जनले शम्भुलाई ढोकामा लगाउने काठको आग्लोले प्रहार गरी घाइते बनाएका रहेछन्। सूचना पाएपछि  तत्काल प्रहरी गएको हो,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी सोमेन्द्रसिंह राठौरले भने।

प्रहरी र परिवार मिलेर शम्भुलाई कीर्तिपुर अस्पताल पुर्‍यायो। तर, अस्पतालले शम्भुलाई बचाउन सकेन। दिउँसो २ बजेर १५ मिनेटमा उनलाई मृत घोषणा गर्‍यो। शम्भुको घरभेटीको हातबाट ज्यान गयो। श्रीमती र तीन छोरो अभिभावकविहीन भए।

महानगरी प्रहरी वृत्त कीर्तिपुरले घरधनी प्रेम कृष्ण महर्जनलाई पक्राउ गर्‍यो। तर, शम्भुकी श्रीमतीले यतिमा नै न्याय नपाउने भन्दै महर्जन परिवारका सबै सदस्यविरुद्ध किटानी जाहेरी दिइन्। शनिवार प्रहरीले उनका दुई छोरा परमेश्वर महर्जन र प्रमोद महर्जनलाई नियन्त्रणमा लियो।

'तीनै जनाविरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको छ। प्रेमले आग्लोले हानेको देखिन्छ। थप प्रमाण जुटाइरहेका छौँ,' एसपी राठौरले भने।

घरभेटीले महतो परिवारलाई समयमा नै भाडा दिएर कोठा खाली नगरेमा मार्ने समेत धम्की दिएको उनका छोरा राहुलले सुनाए।

पहिलोपोस्टसँगको कुराकानीमा भने, 'केही दिनअघि बुबा नभएको समयमा दिउँसो कोठामा आएर भाडाको रकम नदिए मार्ने धम्की दिएका थिए।'

महिनाको ४ हजार रुपैयाँ घरभेटीलाई बुझाउँथे। उनी त्यहाँ बस्न थालेको १५ महिना भएको थियो। लकडाउनपछिको पाँच महिनाको घर भाडा तिर्न बाँकी थियो। जसमा दुई महिनाको छुट दिएपछि तीन महिनाको १२ हजार रुपैयाँ बुझाएका थिए।

'बुबा साँझ कोठामा आएपछि ममीले धम्की दिएको बारे सबै कुरा सुनाउनु भयो। त्यसपछि बुबाले घरभेटीसँग कुरा पनि गर्नु भएको थियो,' शम्भुका जेठा छोराले सुनाए।

शम्भुको शव अहिले त्रिवि शिक्षण अस्पतालमा छ। पोस्टमोर्टम सकिए पनि परिवारले उनको शव बुझ्न मानेको छैन। घरभेटीका सबै परिवारलाई प्रहरीले समातेर कारवाही नगरेसम्म शव नबुझ्ने उनीहरूको अडान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell