'मुर्ली मस्जिद टोलमा एक जनाले आत्महत्याको प्रयास गर्यो रे।'
गत शनिवार उक्त खबर वीरगंज १२ वरपर फैलियो। दिउँसो ३ बजेको गर्मीमा खबरले तातो थप्यो। मानिसहरू ठेलम्ठेल गर्दै आत्महत्या गर्न खोज्नेको ढोकासम्मै पुगे। भन्दै थिए – 'किन यस्तो गरेको होला?', 'छिमेकीले बचाए रे।' 'धन्न भाग्य बलियो रहेछ।'
आफैलाई मार्न खोज्ने ३५ वर्षीय मुस्तफा अन्सारी भने मनमनै भन्दै थिए – भाग्य बलियो भएको होइन मेरी छोरी बहादुर भएकी हो।
एक वर्षअघि दिल्लीको लामो बसाइ र सिलाइको काम छाडेर नेपाल फर्किएका हुन् मुस्तफा। नेपालमा रोजगारीको अनेक अवसर खोजे। केही समय टेम्पो चलाए। त्यसपछि मुर्ली चोकमै चिया पसल खोले। साथीहरूसँग ऋण लिएर।
लकडाउन अघिसम्म पसलकै कमाइले जेनतेन घर चलेको थियो।
कोरोना भाइरसको महामारी र लकडाउनले भने उनलाई परिस्थितिको बन्धक बनायो। चिया पसलसँगै बन्द भयो कमाइको बाटो। मागेर सधैं चल्थेन। केही साता अघि देखि त चुल्हो पनि नियमित बल्न छाड्यो। श्रीमती, २ छोरी र १ छोरा भोको रहेको हेर्न सकेनन्। खुवाउन नसक्नुको हिनतावोध सहन सकेनन्।
'खान र परिवारलाई खुवाउनै नसक्ने अवस्थामा पुगे पछि मरणको बाटो रोजेको हुँ। मर्न बाँच्नुभन्दा सहज हुन्छ जस्तो लाग्यो', उनले भने।
गरिबीको चपेटामा परे। त्यसमाथि साथीहरूसँग लिएको ऋण चुक्ता गर्न नसक्नुको पीडा। जिम्मेवारी बोझ बन्दै गयो। निर्वाह गर्ने कुनै बाटो नरहेपछि परिस्थितिबाट भाग्ने निर्णय लिएको सुनाउँछन् उनी।
'महिनौंदेखि छरछिमेक साथीभाइसँग मागेर जिन्दगी चलाएँ। मागेर कहिलेसम्म चल्छ र?'
समस्या समाधानको उपाय नभेटे पछि शनिवार पंखामा पासो लगाए, कोठामा कोही नभएको मौका छोपेर।
तर, उनले पासो लगाएर झुण्डिएको केही समयमै उनकी जेठी छोरी त्यहाँ पुगिन्। ९ वर्षीया उनले केहीबेर त बुवालाई हेरिन्। र, हत्तपत्त छर छिमेकलाई बोलाएर ल्याइन्।
छिमेकी आएर पासो काट्दा उनी बेहोस भइसकेका थिए। केही बेरमा उनको होस आयो।
उद्धारकर्मीमध्य एक जहुर अन्सारी भन्छन्,'जिवित छ भन्ने विश्वास नै थिएन।'
मुस्तफा भने आफ्नी छोरी आत्तिएर रुन, कराउन थाल्नुको साटो छिमेकी बोलाउन गएकै कारण आफ्नो ज्यान बचेको बताउँछन्। भन्छन्,'म त कायर थिएँ त्यसैले जिम्मेवारीबाट भाग्ने कोसिस गरें। मेरी छोरी बहादुर रहिछन्। उनी समयमै आइन् र मलाई बचाइन्।'
घटना पछि अहिले वीरगंजका दाताहरूले उनलाई खद्यान्न र नगद सहयोग गरिरहेका छन्। वीरगंज श्रीपुर निवासी एवं निम्बसको प्रोबायोटेक इण्डष्ट्रिज प्रालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश बैठाले आइतवार साझ १० हजार नगद र ५० हजारको खद्यान्न समाग्री सहयोग गरेका छन्।
रोगको कहरबीच भोकसँग डराएर मर्न खोज्ने मुस्ताफा एक जना मात्र होइनन्। वीरगंज ३१ बेल्वाका ३० वर्षिय माझी युवकले तीन दिन अघि विष पिएर आत्महत्या गरे। निषेधाज्ञाका कारण काम भएन र काम नहुनाले माम भएन। उनले मृत्यु रोजे।
वीरगंजमा भदै ३१ गते सम्म निषेधाज्ञा लम्ब्याइएको छ। असोज १ गते पछि पर्सा वीरगंजको ३२ वटा वडामा निषेधाज्ञा निरन्तर लगाइन्छ कि अवस्था सामान्य बनाउँदै लगिन्छ भन्ने विषयमाथि चर्चा भइरहेको छ। गरिब, निम्न वर्गकाहरू दैनिक ज्याला मजदुरीमा फर्कन चाहन्छन्। उनीहरू पेटभरी खान चाहन्छन्।