PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

महानगरपालिकाका कर्मचारीमा संक्रमण देखिएपछि विराटनगरका मेयर क्वारेन्टाइनमा



फूलमाया पुरी

महानगरपालिकाका कर्मचारीमा संक्रमण देखिएपछि विराटनगरका मेयर क्वारेन्टाइनमा

विराटनगर : प्रदेश १ को एकमात्र महानगर विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली क्वारेन्टाइनमा बसेका छन्।

शनिवार कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आइतवारबाट क्वारेन्टाइनमा बसेको प्रमुख पराजुलीले बताए। उनी महानगरले जैन भवनमा व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसिरहेका छन्।

महानगर प्रमुख पराजुलीका अनुसार शुक्रवारसम्म कार्यालयमा उपस्थित भएका कर्मचारीमा कोरोना संक्रमणको लक्षण देखिएपछि उनीहरुले स्वाब परीक्षण गराएका थिए। कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपनि उनको रिपोर्ट भने नेगेटिभ आएको थियो।

पीसीआर रिपोर्ट नेगेटिभ आएपनि प्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई कोरोना देखिएपछि आफू क्वारेन्टाइनमा बसेको उनले बताए। पाँच दिन क्वारेन्टाइनमा बसारे कोरोनाका कुनै पनि किसिमको लक्षण देखिएमा पुन पीसीआर परीक्षण गर्ने प्रमुख पराजुलीले बताए।

‘मेरो प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको पीसीआर रिपोर्ट पोजिटिभ आयो’ उनले भने, ‘तर, अहिले रिपोर्ट नेगेटिभ देखिएपनि पाँच दिन क्वारेन्टाइनमा बस्दा लक्षण देखिएमा फेरी परीक्षण गर्ने।’

क्वारेन्टाइनमा बसेपनि फोन सम्पर्कबाटै आफ्नो जिम्मेवारी पूरा गर्न लागिपरिरहेको प्रमुख पराजुलीको भनाइ छ। जनताको काम गर्न चुनिएको व्यक्ति यसरी क्वारेन्टाइनमा बस्नुपर्दा नरमाइलो लागेको उनले सुनाए।

‘म काममा रमाउने गर्छु, काम गर्न नपाएको दिन अशुभ लाग्छ,’ उनले भने।

घरमा बृद्ध बुवाआमा रहेकाले आफू महानगरले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसिरहेको उनले बताए। कोरोनालाई भयानक रुपमा लिन नहुँने भन्दै उनले स्वास्थ्यको ख्याल गर्दै आत्मबल बलियो बनाएर कोरोनासँग लड्न आवश्यक रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell