PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

पाकिस्तानमा भोलिबाट स्कुल खोल्ने इमरान सरकारको निर्णय, महामारीका बीच कसरी हुँदैछ संचालन?



पहिलोपोस्ट

पाकिस्तानमा भोलिबाट स्कुल खोल्ने इमरान सरकारको निर्णय, महामारीका बीच कसरी हुँदैछ संचालन?

पाकिस्तानमा कोरोना महामारीबीच स्कुलहरु भोलिबाट खुल्दैछन्। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज एक ट्वीट गर्दै भोलिबाट लाखौं बच्चाहरुलाई विद्यालयमा स्वागत गर्ने घोषणा गरेका हुन्।

‘हामी भोलि लाखौं बच्चाहरुलाई विद्यालयमा पुन: स्वागत गर्नेछौं। हरेक बच्चा ज्ञान प्राप्त गर्न सुरक्षित रुपमा विद्यालय जाने हाम्रो प्राथमिकता र सामुहिक दायित्व हो,’ प्रधानमन्त्री खानले ट्वीटमा लेखेका छन्, ‘कोभिड १९ को सन्दर्भमा सार्वजनिक स्वास्थ्य नियमहरुको अनुरुप स्कुलमा स्वास्थ्य गतिविधिहरु ल्याउनका लागि विशेष व्यवस्था गरिएको छ।’

کل سکول واپسی پر ہم لاکھوں بچوں کو خوش آمدید کہیں گے۔ یہ یقینی بنانا کہ ہر بچہ حصولِ علم کیلئےبحفاظت سکول جاسکے، ہماری ترجیح اور اجتماعی ذمہ داری ہے۔ ہم نےسکولوں میں تدریسی سرگرمیوں کو #COVID19 کے حوالےسےصحتِ عامہ کے قواعد سےہم آہنگ بنانے کا بطورِ خاص اہتمام کیا ہے۔#SafeAtSchool

— Imran Khan (@ImranKhanPTI) September 14, 2020

कोरोना महामारीका कारण ६ महिनायता पाकिस्तानमा शैक्षिक क्षेत्र ठप्प थियो। स्कुलमा सुरक्षित वातावरण बनाएर खोल्नका लागि सरकारले ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपिएस) तयार गरेको दाबी गरिएको छ। जसअनुसार तीन चरणमा पाकिस्तानमा विद्यालयहरु खुल्नेछन्।

सेप्टेम्बर ७ मा पाकिस्तानका शिक्षा मन्त्री सफ्तक मोहम्मदले ३ लाख स्कुललगायत कलेज र विश्वविद्यालय खोल्ने घोषणा गरेका थिए। त्यतिबेला उनले कोभिड १९ महामारीलाई ध्यानमा राख्दै विभिन्न चरणमा शैक्षिक संस्था खोल्ने बताएका थिए।

‘यदि सबैकुरा ठिक भएमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थी सेप्टेम्बर २३ सम्ममा विद्यालय फर्कने छन् भने नर्सरी देखि पाँच कक्षासम्मका विद्यार्थी सेप्टेम्बर ३० सम्ममा विद्यालय फर्कने छन्।’ शिक्षामन्त्री मोहम्मदले भनेका छन्।

पाकिस्तानी सञ्चारमाध्यमहरुले त्यहाँको शिक्षा मन्त्रालयलाई उदृत गर्दै विद्यालय खोल्ने विभिन्न चरण मध्ये भोलिबाट पहिलो चरणमा उच्च शिक्षा र कक्षा ९ देखि १२ सम्मको कक्षाहरु खोल्ने तयारी रहेको बताएका छन्।

कसरी खुल्दैछन् स्कुल?

पाकिस्तान सरकारले जारी गरेको एसओपिएस अनुसार शिक्षक र विद्यार्थी दुवैका लागि मास्क अनिवार्य गरिएको छ। त्यस्तै विद्यालय, युनिभर्सिटी, कलेज सबैको गेटमा सेनिटाइजर राख्न अनिवार्य गरिएको छ।

एसओपिएस अनुसार विद्यालयमा सबै इन्डुअर गेम, स्वीङ, स्लाइड्स लगायतका सबै खेल गतिबिधिहरु संचालनमा प्रतिवन्ध लगाइएको छ। विद्यालयमा कुनै स्पीच कम्पिटिसन, सेमिनार या कुनै प्रतिस्पर्धा गराउन पाइने छैन।

पाकिस्तान ती मुठ्ठीभर गन्न सकिने देशहरु मध्येको हो जसले पछिल्ला हप्ताहरुमा उल्लेखनिय रुपमा कोरोना संक्रमणको केसलाई घटाउन सफल भएको छ।

अघिल्लो हप्तामात्र विश्वस्वास्थ्य संगठनले केहीदेशहरुले गरेको कोरोना संक्रमण व्यवस्थापनको उदाहरण दिँदा पाकिस्तानको समेत उदाहरण दिँदै विश्वका अरु देशहरुले यसबाट सिक्न सक्ने बताएको थियो।

अलमलमा निजी विद्यालय

पाकिस्तान सरकारले भोलिबाट तीन चरणमा विद्यालय खोल्ने घोषणा गरेसँगै निजि विद्यालयहरुको संगठनले भने यसलाई अस्वीकार गरेको थियो।

अल पाकिस्तान प्राइभेट स्कुल फेडेरेसन (एपिपिएसएफ) ले तीन चरणमा स्कुल खोल्ने सरकारको तयारीलाई ‘एन्टी एजुकेसन स्टेप’ भएको बताएको थियो। शैक्षिक गतिविधि सुरु गर्दै गर्दा सरकार जोखिमको पक्षमा कम सतर्क भएको उसले आरोप लगाएको थियो।

‘लाखौं शिक्षकहरुको कोभिड परीक्षण गर्न हामीलाई फण्ड कसले दिन्छ?’ फेडरेसनले प्रश्न गरेको थियो।

त्यस्तै विभिन्न स्कुलहरुमा पर्याप्त कक्षा कोठासमेत नभएको र सिफ्ट गरेर पढाउँदै आएकाले विद्यालय तुरुन्त खोल्न सोचेजस्तो सजिलो नहुने दाबीहरु पनि आइरहेका छन्।

त्यसका लागि हप्तामा तीन दिनको हिसाबले कक्षा सञ्चालन गरेरमात्र सिफ्ट हटाउन सल्लाह दिइएको छ।

यता, पञ्जाव टिचर्स युनियनका जेनेरल सेक्रेटरी राना लिआक्वतले सरकारले छिमेकका देशहरुमा के भइरहेको छ भनेर अध्ययन गर्न पनि आवश्यक भएको सुझाव दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell