पूर्वी भूमध्यसागरमा पछिल्लो समय टर्की र फ्रान्सबीच विवाद बढ्दै गएको छ। दुबै देशका राष्ट्रपति आरोप प्रत्यारोपमा उत्रिएका छन्।
१० अगस्टमा पूर्वी भूमध्यसागरमा ग्यासको भण्डार खोज्ने ओरुक रीज जहाज पठाएर टर्कीले विवाद सुरु गरेको उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) सदस्य राष्ट्रले बताउँदै आएका छन्। साथै युद्धक जहाज पनि पठाएको टर्कीले आफ्नो मिसनलाई तीनले बढाएको सदस्य राष्ट्रको दावी छ। तर यी दावीलाई टर्कीले खारेज गर्दै आएको छ।
नेटोका सहयोगी देशबीच बढ्दो विवादका बीच हालसालै टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्डोगानले फ्रान्सलाई चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंलाई टर्कीसँग झमेला नमोल्न एर्डोगानले चेतावनी दिएका हुन्।
सन् १९८० को सैन्य विद्रोहको ४० औ वर्षगाँठका अवसरमा इस्तानबुलमा आयोजिक एक समारोहमा एर्डोगानले भने, ‘टर्कीका मानिससँग दुश्मनी गर्ने कोसिस नगर्नुस्। टर्कीसँग खेलवाड नगर्नुस्।’
फ्रान्सले अघिल्लो महिना टर्कीका ती कदमको निन्दा गरेको थियो, जसमा ग्रीस र साइप्रस हाइड्रोकार्बन प्रशोधन र पूर्वी भूमध्यसागरमा नौसेना प्रभावलाई लिएर आमने-सामने भए र स्थिति निकै तनावपूर्ण देखिरहेको थियो।
टर्कीका राष्ट्रपति एर्डोगानले ग्रीससँग पनि आग्रह गरेका छन् कि ‘फ्रान्सजस्ता देशको उक्साहटमा आएर पूर्वी भूमध्यसागरमा गलत हर्कतलाई परिणाम दिनबाट जोगिनुस्।’ त्यो त अहिले ग्रीस र टर्कीका नौसैनिकको संयुक्त अभ्यास चलिरहेका बेला फ्रान्सले यो क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ।
विवादमा अमेरिकाको धारणा
उता अमेरिकाले टर्कीलाई पूर्वी भूमध्यसागर क्षेत्रमा तनाव बढाउने सम्भावना भएका सबै गतिविधिहरु तुरुन्त रोक्न आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले सबै पक्षलाई कुटनीतिक बाटोबाट अघि बढ्न सुझाव दिएका छन्।
साइप्रस यात्राका क्रममा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै पोम्पियोले भने, ‘टर्की प्राकृतिक स्रोतसाधन पत्त लगाउन नयाँ इलाकामा खोज गरिरहेको छ। यसमा केही इलाका यस्ता छन्, जसमा ग्रीस र साइप्रसले दावी गर्दै आएका छन्। उनीहरु टर्कीको गतिविधिबाट आत्तिएका छन्। हामी पनि चिन्तित छौं कि यसबाट यो क्षेत्रमा तनाव बढ्न सक्छ। यसबाट कसैलाई फाइदा हुनेछैन। विभाजन मात्रै हुनेछ। एकतामा दरार पैदा हुनेछ। यी देशहरुले आपसी असहमतिलाई शान्तिपूर्वक ढंगबाट, कूटनीतिक तरिकाबाट सुल्झाउनुपर्छ।’
विदेशमन्त्री पोम्पियोले यो कुरा सम्झाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीसका प्रधानमन्त्री र टर्कीका समकक्षी एर्डोगानसँग चाँडै कुरा गर्ने दावी पनि गरे।
'म्याक्रों थोरै इतिहास पढ्नुस्'
फ्रान्सका राष्ट्रपति म्याक्रोंले गत विहीवार भनेका थिए, ‘युरोपियन नागरिकलाई टर्की र त्यहाँका मानिससँग होइन, एर्डोगान सरकारका अस्वीकार्य गतिविधिहरुलाई लिएर स्पष्ट र दृढ हुन आवश्यक छ।’
म्याक्रोले यो कुरा युरोपेली संघको एक बैठकमा भनेका हुन्। यसअघि युरोपेली संघले यदि पूर्वी भूमध्यसागरमा ग्रीस र साइप्रससँग तनाव कम गर्न टर्कीले प्रयास गरेन भने कडा आर्थिक प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको थियो।
नेटोका अन्य सदस्य राष्ट्रका अनुसार ताजा विवाद टर्कीका कारण सुरु भयो। जसले १० अगस्टमा पूर्वी भूमध्यसागरमा ग्यासको भण्डार खोज्नका लागि ओरुक रीज जहाज पठायो। सँगै युद्धक जहाज़ पनि पठायो। साथै टर्कीले आफ्नो मिसनलाई तीन गुणाले बढायो।
तर टर्कीका राष्ट्रपति एर्डोगानले आफ्नो हालैको टिप्पणीमा यी सबै दावीलाई खारेज गरेका छन्। र भनेका छन्, ‘म्याक्रोंले इतिहासको बारेमा आफ्नो बुझाईं थोरै प्रष्ट गर्न आवश्यक छ।’
एर्डोगानले अगाडि भनेका छन्, ‘फ्रान्सले टर्कीलाई के गर्ने/नगर्ने भनेर न सम्झाएकै राम्रो। म्याक्रों पहिला फ्रान्सको इतिहास पढ्नुस्। आफ्नो देशको रेकर्ड जाँच गर्नुस् कि रवाण्डा र अल्जेरियामा तपाईंहरुले के गर्नुभएको थियो?’
तनाव अझै बढ्न सक्छ
राष्ट्रपति एर्डोगानको यो वयानलाई पूर्वी भूमध्यसागरमा ताजा तनावका क्रममा 'नामै तोकेर गरिएको अहिलेसम्मकै सिधा हमला' मानिएको छ।
आफ्नो सम्बोधनका क्रममा एर्डोगानले भने, ‘म्याक्रों तिमीसँग त्यसै पनि समय कम छ। तिमीले अब यो सम्झिनु पर्यो कि एउटै खुट्टामा उभिएका छौं।’ खासमा फ्रान्समा २०२२ मा राष्ट्रपति निर्वाचन हुँदैछ। यसै सन्दर्भमा एर्डोगानले म्याक्रोंलाई यो कुरा भनेका हुन्।
एर्डोगानले धम्की दिँदै भने, 'म्याक्रों, तिमीलाई मसँग अझै समस्या हुनेवाला छ।’
पछिल्ला दिनहरुमा नेटो सहयोगी देशहरु, फ्रान्स र टर्कीबीच पूर्वी भूमध्यसागरलाई लिएर तनाव बढिरहेको छ। दुबै देशबीच सिरिया र लिबिया संघर्षलाई लिएर पनि मतभेद छ।
एर्डोगानले आफ्नो भाषणमा फ्रान्समाथि पेट्रोलका लागि लिबिया र हिरा, सुन र तामाका लागि अफ्रिकाबाट फाइदा उठाइरहेको आरोप समेत लगाए।
म्याक्रों पनि आरोपप्रत्यारोपमा
दुई देशबीच चलिरहेको तनावका क्रममा फ्रान्सका राष्ट्रपति म्याक्रोंले पनि टर्कीविरुद्ध कडा बयानबानी गरिसकेका छन्।
म्याक्रोंले हालै भनेका थिए, ‘टर्की आफूविरुद्ध कारवाही चाहन्छ। छलफल र सम्वाद चाहँदैन। यदि तपाई टर्कीमाथि कारवाही गर्नुहुन्न भने कुराकानी गर्नु र सम्झाउनुमा कुनै फाइदा हुने छैन।’
म्याक्रोंले भूमध्सामगरीय देशको सम्प्रभुता रक्षाका लागि फ्रान्स तयार रहेको बताए। ‘टर्कीले पछिल्लो समय अपनाएको रणनीति कुनै नेटो सदस्यको रणनीति हुन सक्दैन। टर्की युरोपेली संघमा आबद्ध दुई देशको सम्प्रभुता र उनको विशेष आर्थिक क्षेत्रमा हमला गरिरहेको छ। आफ्ना हर्कतबाट युरोपेली संघलाई उक्साइरहेको छ।’
(बीबीसीको सामग्री भावानुवाद गरिएको हो)
