
विश्व नम्बर १ टेनिस खेलाडी नोबाक जोकोविचलाई युएस ओपनमा गरेको गल्तीले पछुतो भइरहेको बताएका छन्। क्वाटर फाइनलको खेलमा पछि पर्दैगर्दा आवेगमा आएर लाइन वुमनलाई बलले हानेपछि उनी नियमानुसार प्रतियोगिताका लागि ‘अयोग्य’ ठहरिए र प्रतियोगिताबाट बाहिरिए। स्पेनका राफेल नाडाल र स्वीजरल्याण्डका रोजर फेडररले सहभागिता नजनाएको उक्त ग्राण्ड स्लाममा जोकोविचलाई १८ औं ग्राण्ड स्लाम जित्ने राम्रो अवसर हुन सक्थ्यो तर त्यसबाट उनी चुके।
उनै सर्वियन टेनिस स्टार जोकोविच अहिले इटली ओपन खेल्न पुगेका छन्।
‘म शारीरिक रुपले जति कडा तयारी गरिरहेको छु त्यति नै मानसिक र भावनात्मक रुपले पनि गरिरहेको छु। मैले त्यो घटनालाई ठूलो पाठका रुपमा लिएको छु। जे भयो त्यो दुर्भाग्यपूर्ण रह्यो। तर अब अघि बढ्नु पर्छ,’ इटली पुगेका जोकोविचले एपीसँग भने।
उनले ती म्याच अफिसियललाई तत्कालै उनको स्वास्थ्य अवस्थाबारे सोधेको उनले जानकारी दिए। र, उनले 'आफु ठीक भएको' भनेको बताए।
‘मैले म्याचपछि उनलाई भेटेको थिएँ। उनले आफू ठीक भएको र कुनै ठूलो चोट नलागेको बताइन्। उनीमाथि जे भयो त्यसमा मलाई एकदमै दु:ख लागेको छ। कुनै पनि हालतमा उनी त्यसको भागिदार थिइनन्,’ जोकोविचले गार्डियनसँग भनेका छन्, ‘यो एकदमै आकस्मिक र अप्रत्यासित थियो। तर, मैले भने नि जब तपाईँ बल हान्नु हुन्छ, जसरी मैले हाने त्यो कोर्टमा हान्नु पर्ने थियो। तर, त्यहाँ जे भयो त्यसका लागि त नियम थियो। मलाई लाग्दैन कि यो घटना म कहिल्यै भुल्न सक्छु। किनभने यो ती कुराहरु मध्येको एक हो जो पूरा जीवन स्मृतिमा रहनेछ।’
त्यस्तै, राफेल नाडालले पनि जोकोविच त्यसरी बाहिरिनु दुर्भाग्यपूर्ण भएको भए पनि त्यो नियमानुसार नै भएको प्रतिक्रिया दिए।
के भएको थियो युएस ओपनमा?
जोकोविच युएसओपनमा पराजयको कारण नभइ ‘डिस्क्वालिफाइ’ हुँदै बाहिरिएका थिए। स्पेनका कार्रेनो बुस्टासँग खेल चलिरहँदा पछिपरेका जोकोविचले आवेगमा बलले लाइन वुमन म्याच अधिकारीलाई हानेपछि नियमानुसार उनी प्रतियोगिताबाट डिस्क्वालिफाइ भएका थिए।
कोरोना महामारीपछि सुरु भएको पहिलो ग्राण्ड स्लामबाट विश्व वरीयताका शीर्ष खेलाडीले निराशाजनक विदाइ लिएका थिए। १७ पटक ग्राण्ड स्लाम जितिसकेका जोकोबिच स्पेनका खेलाडीसँग पछि परेपछि आफ्नो रिस अफिसियललाई पोखेका थिए। उनले प्रहार गरेको बल लाइन वुमनको गर्धनमा गएर लागेको थियो। लगत्तै उनी ढलेकी थिइन् र उनलाई सास फेर्न कठिन भएको थियो। जोकोबिच ती अफिसियलसँग उनको अवस्था सोध्न पनि गएका थिए।
त्यसपछि म्याच रेफ्रीले उनीसँग कुरा गरे र जोकोविचलाई प्रतियोगिताबाट डिस्क्वालिफाइ गरिदिएका थिए।
यसरी डिस्क्वालिफाइ हुने जोकोबिच तेस्रो खेलाडी बने। यसअघि सन् १९९० मा जोन मेकनरो अस्ट्रेलियन ओपनबाट र सन् २००० मा फ्रेन्च ओपनबाट स्टेफन कुबेक डिस्क्वालिफाइ भएका थिए।
युएसओपनको उपाधि विश्व नम्बर तीन डोमेनिक थियमले जितिसकेका छन्। उनले रोमाञ्चक फाइनल खेलमा जर्मनीका अलेक्जेन्डर ज्वेरेवलाई हराउँदै पहिलो पटक युएस ओपनको उपाधि जितेका हुन्।