काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कोभिड-१९ को नियन्त्रणका लागि तत्काल खराब स्थितिको आँकलन गर्दै सोही अनुरुपको आवश्यवक बजेट ब्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको छ।
२६ गते सम्पन्न नेकपाको स्थायी कमिटीको बैठकले सरकारसँग यस्तो आग्रह गरेको हो। संक्रमणको जोखिम बढ्दै गएकोले 'ओर्स्ट केस सिनारियो' को आँकलन गरी सोही अनुरुप बजेट तथा स्वास्थ्य सामाग्री, जनशक्ति र भौतिक पूर्वाधारको तयारी गर्न सरकारसँग भनेको छ।
स्थायी कमिटीको बैठक पछि सोमवार पार्टीका तल्लो कमिटीहरुलाई दुई अध्यक्षले जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार बैठकले परीक्षणको दायरा बढाउने तथा समुदायस्तरमा सङ्क्रमण फैलिएको आशङ्का गरिएका ठाउँमा नमूना सङ्कलन तीब्र पार्ने र बिरामीहरूको उपचारका लागि पूर्व तयारी गर्न सरकारसँग अनुरोध गरेको छ।
बैठकले आवश्यकता अनुसार जिल्ला वा स्थानीयस्तरमा इलाकाबन्दी गर्न सुझाब दिएको छ।
साथै, अस्पतालहरूमा शैय्या, सघन उपचार कक्ष र भेन्टिलेटरहरूको थप प्रबन्ध गर्ने र आवश्यकता अनुसार निजी अस्पताल र निजी मेडिकल कलेजहरूलाई महामारी अवधिभरका लागि कारोना उपचारमा प्रयोग गर्ने सुझावसमेत दिएको छ।
काठमाडौँ उपत्यका र जिल्लाहरूमा आवश्यकता अनुसार डेडिकेटेड अस्पताल, क्वारेन्टाइन र संक्रमितहरूलाई अलग्गै राख्ने स्थान आइसोलेसन सेन्टरको व्यवस्था गर्न समेत सरकारलाई आग्रह गरेको छ।
कोभिड-१९ का अलावा अन्य विमारीहरूले सहज उपचार पाउन नसकेको जनगुनासोलाई तत्काल सम्बोधन गर्न सरकारसँग अनुरोध नेकपाले गरेको छ।
साथै, 'खाद्यान्न भण्डारणको व्यवस्था मिलाउने र अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुन नदिने। रोजगारी गुमाएर जीवन धान्न नसक्ने अवस्थामा पुगेका अतिविपन्न परिवारहरूलाई जीवनयापनका लागि श्रम सहभागिताका आधारमा खाद्यान्नको प्रवन्ध गर्ने,' अन्तरपार्टी निर्देशिकामा भनिएको छ, 'कोभिड-१९ बाट प्रभावित आर्थिक क्षेत्र, विशेषगरी संकटग्रस्त बन्न पुगेका होटल, रेष्टुरेण्ट, हवाई सेवा, शिक्षा, स्वास्थ्य, कृषि, उद्योगहरूको पुनरुत्थानका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने।'
त्यस्तै, पर्यटन, यातायातलगायत अन्य प्रभावित क्षेत्रका मजदूर तथा कर्मचारीहरूलाई राहतको व्यवस्था गर्नसमेत सरकारलाई नेकपाले अनुरोध गर्ने निर्णय गरेको छ।
विदेशमा रोजगारी गुमाएर फर्केका र स्वदेशमै बेरोजगार अवस्थामा रहेका युवाहरूको रोजगारीको प्रबन्धका लागि आवश्यक अनुसन्धान, योजना र स्रोत व्यवस्थाप गर्नसमेत नेकपाले सरकारसँग अनुरोध गरेको छ।
'कोरोनाको बढ्दो संक्रमणका कारण दैनिक श्रम गरी जीवनयापन गर्ने वर्ग तथा समुदायलाई स्थानीय तहमार्फत खाद्यान्न र अत्यावश्यक वस्तुहरू समेत राहतको व्यवस्था गर्ने,' अन्तरपार्टी निर्देशिकामा भनिएको छ, 'कोभिड-१९ महामारीले गर्दा नेपालको सामाजिक तथा आर्थिक क्षेत्रका परेको र पर्नसक्ने असरका बारेमा विशेषज्ञहरूद्वरा अध्ययन गर्ने र आर्थिक-समाजिक पुनरुत्थानका लागि कोभिड पछिको योजना निर्माण गर्ने।'
कोभिड नियन्त्रणमा स्थानीय तहको कामको समीक्षा गर्न निर्देशन
यसैबीच नेकपाले स्थानीय तहमा कोभिड-१९ नियन्त्रणका लागि भएका कामहरुको समीक्षा गर्न स्थानीय पार्टी पंक्तिलाई निर्देशन दिएको छ। कोभिड-१९ विरुद्धको लडाईँमा पार्टी पंक्तिलाई स्वययसेवी भूमिकामा रहन निर्देशन दिँदै अगाडि भनिएकोछ, 'स्थानीय पार्टी कमिटीको कम्तिमा पनि सचिवालयस्तरको बैठक (भौतिक दूरी कायम गरेर वा सम्भव नभए विद्युतीय प्रणालीको प्रयोग गरेर) गरी महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि हालसम्म सम्बन्धित तह (प्रदेश र स्थानीय तह) मा चालिएका कदमहरूको वस्तुनिष्ठ समीक्षा गर्ने।'
त्यस्तै, क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बसेकाहरुको अनुगमन गर्नसमेत नेकपाले स्थानीय कमिटीका सदस्यहरुलाई निर्देशन दिएको छ।
'आफ्नो तहमा विदेशबाट आएकाहरूको लगत व्यवस्थित गर्दै उनीहरू अनिवार्य रूपमा एकान्तवास (क्वारेन्टाइन) मा रहेको सुनिश्चित गर्ने। घरमै एकान्तवासमा रहेकाहरूको अनुगमन गर्ने,' निर्देशनमा अगाडि भनिएको छ, 'आम नागरिकहरूमा स्वास्थ्य चेतना फैलाउने।'
त्यस्तै, नेकपाले कोभिड-१९ विरुद्ध भ्रम सिर्जना गर्ने विरुद्ध पनि कार्यकर्तालाई उतार्ने भएको छ। निर्देशिकामा भनिएको छ, 'विपत्तिको बेला विभिन्न भ्रमहरू सिर्जना गरेर समाजमा अराजकता र अस्थिरता फैलाउने प्रवृत्तिहरूलाई निरुत्साहित गर्ने।'