
काठमाडौं : सडक दुर्घटनामा घाइते भएका नेपाली राष्ट्रिय टिमका सदस्य ललितसिंह भण्डारीलाई सहयोग गर्न इच्छुकका लागि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आग्रह गरेको छ। आज एक विज्ञप्ति निकाल्दै सिप्यानले क्रिकेट प्लेयर्स एसोसिएसनको सेञ्चुरी बैङ्कमा रहेको खातामा सहयोग गर्न सक्ने जनाएको छ।
सुरुमा धनगढीमा उपचार गराएका भण्डारीलाई त्यसपछि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको थियो। थप उपचारका लागि भण्डारीलाई सोमवार दिउँसो हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। हाल ग्राण्डीमा इन्टरनेसनल हस्पिटलमा उपचार गराइरहेका भण्डारी खतरा मुक्त छन्,’ सिप्यानको विज्ञप्तिमा भनिएको छ, ‘खेलाडीको हकहितका लागि विगतदेखि नै काम गर्दै आएको सिप्यानले भण्डारीको सहयोगका लागि पहलकदमी लिने जानकारी गराउँछौं।’
विज्ञप्तिमा सिप्यानसँग सहयोगका लागि हातेमालो गर्न पनि आग्रह गरेको छ। सेञ्चुरी बैङ्कको ०० १००० २५२९ सी ए खातानम्बरमा उनलाई सहयोग गर्न सकिने सिप्यानले जनाएको छ।
यसअघि नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले क्यानको तर्फबाट भण्डारीको उपचारका लागि सहयोग र समन्वय गरिने प्रतिबद्धता गरेका थिए।
आइतवार दुर्घटनामा परेका भण्डारीको सिटी स्क्यान गर्दा टाउकोमा चोट नदेखिएको उपचाररत डाक्टरलाई उदृत गर्दै क्यानले हिजो जनाएको थियो।
त्यस्तै उनको अवस्था अहिले सामान्य रहेको तर हातखुट्टामा भने चोट लागेको बताइएको छ। धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो।
झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि भण्डारीलाई धनगढी रिफर गरिएको थियो। त्यहाँ उनको निसर्ग अस्पतालमा उपचार भएको र त्यसपछि काठमाडौं ल्याइएको थियो।
शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० निवासी २८ वर्षीय भण्डारीसँगै उनका भाइ नाता पर्ने २४ वर्षीय करन ठगुन्ना घाइते भएका थिए।