काठमाडौं : सोमवारसम्मको तथ्यांक अनुसार चितवन एक हजार ३ सय ४४ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। संक्रमण पुष्टि भएमध्ये हाल ५ सय ४६ जना आइसोलेसनमा उपचाररत छन्।
चितवनमा पुष्टि भएका संक्रमितहरुको कनेक्सन कतै न कतै रुपमा अस्पतालसँग जोडिएको तथ्यांकले देखाएको छ। जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी)ले गरेको अध्ययनले जिल्लामा पुष्टि भएका संक्रमित मध्ये ५० प्रतिशतको कनेक्सन अस्पतालसँग रहेको उल्लेख छ।
डीसीसीएमसीले संक्रमणको स्रोत पत्ता लगाउनका लागि संक्रमित एक हजार २ सय ७७ व्यक्तिहरुको तथ्याङ्क विश्लेषण गरेको थियो। संक्रमित व्यक्तिहरुलाई संभावित संक्रमणको बारेमा सोधेको थियो।
एक हजार २ सय ७७ संक्रमितमध्ये अध्ययनले २ सय ५४ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहेको देखाएको छ। यो संख्या कूल संक्रमित संख्याको २० प्रतिशत हो। त्यस्तै, सबै जसो संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको परिवारमा कम्तिमा थप एक जना व्यक्ति संक्रमित भएको पाइएको छ। यो समेत संख्या हिसाब गर्दा कूल संक्रमित व्यक्तिको ४० प्रतिशत हुन आउने देखिएको डीसीसीएमसीले जनाएको छ।
त्यसबाहेक संक्रमितमध्ये अन्य १ सय १ जना व्यक्तिहरुले समेत आफूलाई अस्पतालमा उपचारको लागि जाँदा वा विरामीको कुरुवा भएर बस्दा संक्रमण भएको बताएका छन्।
'यसरी हेर्दा कुनै न कुनै हिसाबले कूल संक्रमणको ५० प्रतिशत जति हिस्सा अस्पतालहरुको रहेको पाइन्छ,' डीसीसीएमसीको रिपोर्टमा उल्लेख छ।
त्यस्तै व्यापार, होटेल, फलफूल, तरकारी पसल वा अन्य व्यवसाय गर्ने १ सय ११ जनामा संक्रमण देखिएको छ। त्यस्तै बजारमा घरमाडामा दिएर एउटै घरमा धेरै व्यक्तिहरु भाडामा बस्ने धेरै व्यक्तिहरु भएका स्थानमा कुनै व्यक्ति अन्य जिल्लामा घर गएर आउने र डेरामा बसिएको घरमा अन्य व्यक्तिहरुसँग साझा शौचालय, धारा प्रयोग गर्ने गरेका कारण कोठाभाडामा वस्ने अरु व्यक्तिहरुलाई संक्रमण भएको केहि संक्रमित व्यक्तिहरुले बताएका छन्।
'केही व्यक्तिलाई सोध्दा आफूले पसलमा बसेर सामान बेच्ने गरेको बताएका छन भने र कतिपयले पसलबाट खाद्यान्न र मेसिनरी सामान डेलिभरी भ्यानमा राखेर होम डेलिभरी सेवा दिने गरेको बताएका छन्,' डीसीसीएमसीको रिपोर्टमा भनिएको छ, 'खास गरी पसलबाट डलिभरी भ्यानमा सामान बोकेर होम डेलिभरी सेवा दिने व्यक्तिहरु बढी संक्रमित भएको पाइएको छ।'
त्यस्तै, संक्रमणको अर्को स्रोत सब्जी मन्डी तथा तरकारी बजार देखिएको छ।
'संक्रमित व्यक्तिमध्ये केहिले संक्रमणको स्रोतको रुपमा सब्जी मन्डी बताएका छन्,' रिपोर्टमा भनिएकोछ ,'सब्जी मन्डीमा तरकारी बेच्ने र किन्न गएका मानिसहरु रहेको पाइएको छ।'
संक्रमित व्यक्तिहरु मध्ये कतिपय व्यक्तिहरु ट्रक चालक खासगरी भारतीय सीमा नाकादेखि चितवन लगायत विभिन्न स्थानमा सामान बोकेर जाने व्यक्तिहरु रहेका छन्। जिल्लाको सीमा नाका लोथर र पुल्चौक जस्ता स्थानमा सवारी साधन चेकजाँच गर्ने सुरक्षाकर्मीहरुमा पनि संक्रमण पुष्टि भएको छ।
त्यस्तै, उद्योगमा काम गर्ने कामदारहरु बाहिरबाट ल्याइएको र परीक्षण नगरेका कारण उनीहरुको सम्पर्कमा आएका अरुमा पनि संक्रमण देखिएको डीसीसीएमसीले जनाएको छ।
त्यस्तै, बैंकहरुमा फ्रन्टलाइनमा बसेर ग्राहकहरुलाई सेवा दिने १६ जना कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएको छ। त्यस्तै विद्युत कार्यालयबाट मर्मत सेवा प्रदान गर्ने कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएको छ।
त्यस्तै अन्य जिल्लामा गएका कारणले संक्रमित हुनेहरु १७ जना रहेको तथ्यांकमा उल्लेख छ।
'कोभिड १९ का संक्रमित व्यक्ति (जसको मृत्यु भइसकेको छ) तपाईँ कतै नजाने मानिसमा कसरी संक्रमित हुनुभयो भनि सोध्दा उहाँले मेरो छोरो साथिहरुसँग कहाँ कहाँ जान्थ्यो थाहा हुँदैन थियो उसैबाट मलाई सरेको हुनुपर्छ भन्ने जवाफ प्राप्त भएको थियो,' रिपोर्टमा भनिएको छ।
संक्रमणको पहिलो स्रोत अस्पतालहरु भएको हुँदा अस्पतालहरुले कोभिड १९ को संक्रमण फैलिन नदिन आन्तरीक कार्ययोजना बनाई काम गर्ने डीसीसीएमसीले निर्देशन दिएको छ।
डीसीसीएमसीले अस्पतालमा जाँदा विरामीको साथमा १ जना मात्र कुरुवा जाने। पुरै अवधि सोहि व्यक्ति मात्र अस्पतालमा बस्ने। बीचबीचमा कुरुवा परिवर्तन गर्न नपाउने व्यवस्था गर्न भनेको छ। साथै अस्पतालमा उपचारका लागि गएका र कुरुवा वसेका व्यक्तिहरु केही समय (हप्ता १ कम्तिमा)होम क्वारेन्टाइन पालना गरी बस्ने र अन्य व्यक्तिको सम्पर्कमा नजानसमेत डीसीसीएमसीले सुझाब दिएको छ।