विराटनगर : विराटनगर महानगरपालिकामा मंगलवार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज थपिएका संक्रमितहरुमा १४ महिला र १५ पुरुष रहेका छन्।
महानगरपालिका वडा ११ का वडा अध्यक्षसहित २९ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको महानगरका जनस्वास्थ्य निरीक्षक तथा कोभिड १९ टिमका राजेन्द्र कुइकेलले जानकारी दिए।
कुइकेलका अनुसार वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेमा कोरोना संक्रमणका सामान्य लक्षण देखिएको थियो। उनको सम्पर्कमा रहेका वडाध्यक्षहरुमा संक्रमण पुष्टि भइसकेको छ। संक्रमणको शंका लागेर सोमवार कोशी अस्पतालमा उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो।
‘उहाँमा ज्वरो आउने जिउ दुख्ने जस्ता कोरोनाका केही लक्षण देखिए र उहाँ संक्रमित वडा अध्यक्षहरुको प्रत्यक्ष सम्पर्कमा पनि रहनुभएकाले परीक्षण गराउनु भएको हो,’ कुइकेलले भने, ‘हिजो स्वाब दिनुभएको थियो र आज रिपोर्ट पोजेटीभ आयो।’ वडाध्यक्ष अहिले होम आइसोलेसनमा छन्।
न्यौपाने विराटनगर महानगरपालिकामा कोरोनाबाट संक्रमित भएका तेस्रो वडा अध्यक्ष हुन्। वडा नम्बर २ र ५ का वडा अध्यक्षहरु कोरोना संक्रमित भइ उपचारत अवस्थामा रहेका छन्। भने महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पनि आइतवार कोरोना संक्रमण पुष्टि भएको छ।
जसकारण महानगरका मेयर स्वास्थ्य महाशाखाका प्रमुखसहित जैन भवन क्वारेन्टाइनमा बसिरहेका छन्। भने उपमेयर र अन्य कर्मचारी तथा जनप्रतिनिधिहरु होम क्वारेन्टाइमा बसेका छन्।
त्यस्तै आज थपिएका अन्य संक्रमितहरु ३ वर्षका बालक र ७२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको कुइकेलले जानकारी दिए।
आज रिपोर्ट आएकाहरुको महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको गत भदौ २५ गते जैन भवनमा स्वाब संकलन गरिएको थियो। भने बाँकीको गत आइतवार कोशी अस्पतालले स्वाब संकलन गरेको थियो।
महानगरपालिकाको तथ्याकंअनुसार आज थपिएका संक्रमितसहित महानगरमा संक्रमितको संख्या १ हजार ५०२ पुगेको छ।
कुन वडामा कति संक्रमित थपिए?
विराटनगर महानगरपालिकामा आज थपिएका २९ जना संक्रमितहरुमध्ये वडा नम्बर १५ का सबैभन्दा बढी आठ जना रहेका छन्। त्यस्तै वडा नम्बर १ मा पाँच जना संक्रमित थपिएका छन्।
वडा नम्बर २, ११ र १३ का चार/चार जनामा संक्रमण पुष्टि भएको महानगरपालिका जनस्वास्थ निरीक्षण कुइकेलले जानकारी दिए।
त्यसैगरी वडा नम्बर ५ र ७ का एक/एक जनामा कोरोना संक्रमण देखिएको छ। भने वडा नखुलेका दुइजनामा पनि कोरोना संक्रमण पुष्टि भएको कुइकेलले बताए।