वीरगंज : प्रदेश २ मा कोभिड १९ को संक्रमण नियन्त्रण गर्न प्रदेशका ८ जिल्लाको चारकिल्लामा विशेष सर्तकता अपनाउन सरोकारवालाले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्।
पर्साका दुई जना संघीय सांसदको टोलीले आज पर्सासँग जोडिएको भारतीय सीमानाको स्थलगत निरीक्षण गरेर सीमामा कडाईं गर्नुपर्ने निष्कर्ष निकालेको हो।
प्रदेश २ मा कोरोना महामारी नियन्त्रण उन्मुख रहे पनि काठमाडौं, हेटौडा, भरतपुर, विराटनगर एवं भारतको विहारको अवस्था बिग्रिँदै गइरहेको छ। यी ठाउँहरु प्रदेश २ सँग जोडिएका छन्। सांसदको टोलीले प्रदेशका चारैतिरको सीमानामा विशेष कडाई गर्न सुझाव दिएको बताइएको छ।
कोभिड जोखिम बढ्दै जाँदा पर्सा क्षेत्र नम्बर १ का संघीय सासद प्रदीप यादव र क्षेत्र नम्बर ४ का लक्ष्मणलाल कर्ण, पर्साका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी एसपी राजेन्द्र खड्का, नेपाल प्रहरीका अधिकारीसहितको टोलीले आजदेखि पर्सासँग जोडिएका भारतीय सीमानाको स्थगलत अनुगमन शुरु गरेका छन्।
वीरगंज–रक्सौल मितेरी पुलबाट शुरु भएको निरीक्षण अनुगमन बलिरामपुरको नाका, सिवानटोलाको नाका, श्रीसिया, भिस्वालगायतको क्षेत्रमा मंगलवार दिनभर जारी रहने सांसद प्रदीप यादवले बताए। ‘हामीले बोर्डर क्षेत्रको अनुगमन गरी पछिल्लो अवस्था बुझ्ने प्रयासमा छौं,’ उनले भने, ‘बोर्डरमा काडाई भएन भने प्रदेश २ कहिले सुरक्षित हुन सक्दैन, साथै प्रदेशको पूर्वी, पश्चिमी र उत्तरी सीमानामा पनि कडाई गर्नुपर्ने आवश्यकता छ।’
पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले संक्रमण नियन्त्रणका लागि प्रदेश प्रवेशलाई व्यवस्थित बनाउन लागिएको बताए।
पर्सामा २४ सय ५१ कुल संक्रमितमध्ये १८३३ जना निको भएर फर्किसकेका छन्। जिल्लामा ६१८ जना सक्रिय संक्रमितको सख्या छ। पर्सा विगतभन्दा सहज बन्दै गएको छ। तर बारा, मकवानपुर, काठमाडौं र भारतबाट हुने प्रवेशमा व्यवस्थित बनाउन लागिएको सिडिओ तामाङको भनाई छ।
उनको अनुसार पर्साको गण्डक कोभिड अस्पतालमा हाल ३४ जनामा ६ जना आईसीयूमा छन्। सामुदायिक आइसोलेशनमा ८९ जना छन्। पर्सामा ४३ जनाको मृत्यु भइसकेको छ।
प्रदेश २ मा समाजिक विकास मन्त्रायलको अनुसार ८ जिल्लाका १ सय ११ जनाको मृत्यु भएको छ भने ११ हजार ९ सय ६३ कुल संक्रमितमध्ये ६४ सय २ जना निको भएका छन्। हाल आठ जिल्लामा ५४ सय संक्रमितहरुको संख्या रहेको छ।