विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीसँग छलफल गरेका छन्।
आगामी असोज ५ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने संघीय सरकारको निर्णयपछि मुख्यमन्त्री राईले मङ्गलबार यातायात क्षेत्रका सरोकारवाला निकायसँग भर्चुअल छलफल गरेका हुन्।
मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुव सुवेदीका अनुसार लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने बारेमा मुख्यमन्त्री राईले सरोकारवालासँग छलफल गरेका थिए।
छलफलमा मुख्यमन्त्री राईले असोज ५ गतेअगाडि यातायात व्यवसायीलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीको विवरण तयार गर्न आग्रह गरे। उनले यातायात व्यवसायीका साझा समस्यालाई सरकारले सम्बोधन गर्दै जाने आश्वासन दिए।
मुख्यमन्त्री राईले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन यातायात व्यवसायीलाई आग्रह गरे।
उनले मास्क, स्यानिटाइजरजस्ता स्वास्थ्य सुरक्षाका साधन प्रयोग गरेर सावधानी अपनाउन, यात्रुको विशेष ध्यान दिन र यात्रुलाई पनि स्वास्थ्य सावधानी तथा सजगता अपनाउन यातायात व्यवसायीले पनि ध्यान दिनुपर्ने कुरामा जोड दिए।
राईले लामो दूरीका यात्रुको विवरण राख्न आग्रह गरे।
छलफलमा यातायात व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयलाई स्वागत गरे। व्यवसायीले स्वास्थ्य सजगता अपनाउँदै यातायातका साधन सञ्चालन गर्नै प्रतिबद्धता व्यक्त गरे।
छलफलमा यातायात व्यवसायीका साथै यातायात क्षेत्रका मजदुर सङ्गठनका प्रतिनिधिको समेत उपस्थिति थियो।
