PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रहरीको दावी व्यर्थ : रोकिएन तस्करी, सीमा क्षेत्रमा ‘क्यारिङ’बाट आउन थाल्यो चामल र चिनी



अनन्तराज न्यौपाने

प्रहरीको दावी व्यर्थ : रोकिएन तस्करी, सीमा क्षेत्रमा ‘क्यारिङ’बाट आउन थाल्यो चामल र चिनी

विराटनगर : प्रहरीले सीमा क्षेत्रको तस्करी नियन्त्रण भएको दावी गरे पनि यथार्थ त्यस्तो छैन। मोरङ र सुनसरीका दक्षिण सीमावर्ती क्षेत्रबाट चोरबाटो प्रयोग गर्दै विभिन्न वस्तुको तस्करी हुने क्रम यथावत् छ।

कोभिड-१९ को विश्वव्यापी प्रकोपसँगै नेपाल-भारत सीमा सिल गरिएपछि ठप्प भएको तस्करी फेरि मौलाउन थालेको छ।

विराटनगरका चामल आयातकर्ता जितु बोथडाले भने, ‘चैत लागेपछि सीमा क्षेत्रका उपभोक्ता हाम्रो पसलमा चामल र चिनी खरिद गर्न आउन थालेका थिए। तर, भदौको पहिलो हप्तापछि सीमा क्षेत्रका ग्राहक आउन छाडेका छन्। सीमा क्षेत्रमा तस्करी फेरि शुरु भएको यसैबाट थाहा हुन्छ।’

व्यवसायी बोथडाका अनुसार लकडाउन शुरु भएपछि सीमा क्षेत्रका उपभोक्ताहरू चिनी खरिद गर्न पनि विराटनगरको बजार आउन थालेका थिए। तर, भदौको पहिलो हप्तादेखि कोही आएका छैनन्। जोगबनीका व्यापारीले ‘क्यारिङ’ गराएर प्रति किलोग्राम ७५ रुपैयाँमा वारिका बजारमा चिनी ल्याइदिन्छन्।

आफूले प्रति किलोग्राम ७५ रुपैयाँ हालेर खरिद गरेको तर तस्करीको उक्त चिनी सीमा क्षेत्रका पसलेहरू प्रति किलोग्राम ८० रुपैयाँमा विक्री गरिरहेका छन्। यता कानुनी रूपमा ल्याइएको चिनीको खुद्रा मूल्य प्रति किलोग्राम ८५ रुपैयाँ पर्दछ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको गस्ती टोलीले विराटनगर महानगरपालिकाको वडा नम्बरमा पर्ने सीमा क्षेत्र तरिगामाबाट करिब १५ हजार रुपैयाँ मूल्यको ७ बोरा हरियो मटर पक्राउ गरेको छ।

उक्त मटर भारततर्फ तस्करी गर्न लगिँदै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ। उक्त मटरका बोराहरू साइकलमा लोड गरिएको र प्रहरी देख्नेबित्तिकै साइकल र मटरका बोरा छाडेर तस्कर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङको दावी छ।

मोरङको रतुवामाई नगरपालिकाको झुर्किया, सुनबर्सी गाउँपालिकाको सिक्टी, रङ्गेली नगरपालिकाको चोप्रा, धनपालथान गाउँपालिकाको खयरबोना र नोचा तथा विराटनगर महानगर क्षेत्रभित्रका बुधनगर, इस्लामपुर, मटेरवा र दरैया तस्करीका मुख्य नाका मानिन्छन्।

त्यस्तै, सुनसरीका साहेबगञ्ज, कप्तानगञ्ज, छिटाहा, भूटाहा र अमडुवा पनि तस्करीका मुख्य केन्द्र भएको प्रहरी स्रोतको दावी छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको र चाडपर्वलाई लक्षित गरेर विशेष सतर्कता अपनाइएको स्पष्ट पारे। एसपी खड्काले चाडबाडका बेला सीमा क्षेत्रमा थप प्रहरी राखिने र यसका लागि प्रदेश प्रहरी कार्यालयबाट थप बल प्राप्त भइसकेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell