PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

डोटीका २९ सहित सुदूरपश्चिममा थप ५४ जनामा संक्रमण पुष्टि



एम बम

डोटीका २९ सहित सुदूरपश्चिममा थप ५४ जनामा संक्रमण पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १३ जनामा कोरोना पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार गोदावरी नगरपालिकाका दुई महिला र सात पुरुष गरी ९ जना र धनगढी उपमहानगरपालिकाका तीन महिला र एक पुरुष गरी चार जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ।

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६८ जनाको कोरोना परीक्षण गरिएकोमा थप १२ जनामा सङ्क्रमण पुष्टि भएको छ। बैतडीका ८, दार्चुलाका तीन र बझाङका एक जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ७ का ६ जना, डिलाशैनी गाउँपालिकाका दुई जना, दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना, महाकाली नगरपालिका वडा नम्बर ४ का एक जना र बझाङको दुर्गा थली गाउँपालिका वडा नम्बर २ का एक जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए।

यस्तै डोटीका थप २९ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा थप २९ जनामा सङ्क्रमण पुष्टि भएको हो। प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा एक सय ४५ जनाको कोरोना परीक्षण गर्दा २६ पुरुष र ३ महिलामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए।

उनका अनुसार डोटीको सुल्लेखका १९ जना, दिपायल सिलगढी नगरपालिकाका ९ जना र आदर्श गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ६ हजार ५ सय ९० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell