काठमाडौं : पछिल्लो २४ घण्टामा ५२ जिल्लामा कोभिड-१९ का थप संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालाबाट गरिएको १० हजार ३७५ नमुना परीक्षणका क्रममा महिला ४४६ र एक हजार १३ पुरुष गरी एक हजार ४५९ जना संक्रमित पहिचान भए छन्।
योसँगै नेपालमा कोभिड-१९ संक्रमण पुष्टि हुनेको संख्या ५६ हजार ७८८ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये ४० हजार ६३८ संक्रमण मुक्त भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जनाकारी दिए। पछिल्लो २४ घण्टामा मात्र संक्रमण मुक्त हुनेको संख्या एक हजार ६२ पुगेको छ।
हाल संक्रमण पुष्टि भएकामध्ये १५ हजार ७७९ जना आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
काठमाडौं उपत्यकामा मात्र ६७६ संक्रमित पहिचान
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६७६ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। जुन पछिल्लो २४ घण्टामा नेपालमा पहिचान भएका संक्रमितको ४६.३३ प्रतिशत हो।
काठमाडौंमा उपत्यकामा मात्र १६९ महिला र ३८६ पुरुष गरी ५५५ जना संक्रमित पहिचान भएका छन्। यो नेपालमा पहिचान भएका संक्रमितको ३८ प्रतिशत हो।
योसँगै काठमाडौंमा संक्रमण पुष्टि हुनेको संख्या १० हजार ५८३ पुगेको छ। जुन नेपालमा कुल संक्रमितको १८.६३ प्रतिशत हो।
हालसम्म १० हजार बढी संक्रमित पहिचान भएको जिल्ला काठमाडौं मात्र हो।
त्यस्तै, पछिल्लो २४ घण्टामा भक्तपुरमा ३७ महिला र ४९ पुरुष गरी ८६ जनामा संक्रमण पुष्टि भएको छ। ललितपुर जिल्लामा १६ महिला र १९ पुरुष गरी ३५ जना संक्रमित पहिचान भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
वाग्मतीमा ५६ प्रतिशत
पछिल्लो २४ घण्टामा पहिचान भएका संक्रमित मध्ये ५६ प्रतिशत वाग्मती प्रदेशका मात्र छन्। काठमाडौं उपत्यकामा ६७६ सहित वाग्मती प्रदेशमा ८२३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये मकवानपुरमा ८७ र चितवनमा ३७ जना छन्।
प्रदेश २ मा २३५ संक्रमित पहिचान भएका छन्। जसमध्ये सबैभन्दा बढी सिरहा जिल्लामा ५ महिलासहित १६२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
प्रदेश ५ मा १३० जना संक्रमित पहिचान भएका छन्। जसमध्ये सबैभन्दा बढी रुपन्देहीमा २६ महिला र २५ पुरुष गरी ५१ जना छन्। प्रदेश १ का १२ जिल्ला मध्ये ८ जिल्लामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४० जना संक्रमित पहिचान भएका छन्। सबैभन्दा बढी त्यहाँ मोरङ जिल्लामा ४२ महिलासहित १११ जना संक्रमित पहिचान भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
गण्डकीमा ६१, सुदूरपश्चिममा ४३ र कर्णाली प्रदेशमा २७ जना संक्रमित पहिचान भएका छन्।
११ मृत्यु मध्ये ४ जना काठमाडौंका
यसैबीच, पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुनेको संख्या ३७१ पुगेको छ। मृत्यु हुनेमा ४ महिला र ७ पुरुष रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
मृत्यु हुनेमा काठमाडौं जिल्लाका मात्र चार जना रहेका छन्। जसमध्ये ८६ वर्षकी महिलासहित ३४, ६६ र ९६ वर्षका तीन पुरुष छन्।
त्यस्तै, बारा जिल्लामा पनि दुई जनाको मृत्यु भएको छ। ५५/५५ वर्षका एक महिला र एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, सिरहाकी ३५ र रुपन्देहीकी ६४ वर्षकी संक्रमित महिलाको मृत्यु भएको छ। त्यस्तै, सर्लाहीका ६४, मकवानपुरका ६१ र कपिलवस्तुका ५८ वर्षका संक्रमित पुरुषको मृत्यु भएको छ।

