PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सुनसरीमा थप ५८ जनामा देखियो कोरोना संक्रमण: जिल्ला, प्रदेश र केन्द्रको तथ्यांक भने फरक



फूलमाया पुरी

सुनसरीमा थप ५८ जनामा देखियो कोरोना संक्रमण: जिल्ला, प्रदेश र केन्द्रको तथ्यांक भने फरक
फाइल फोटो

विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ को सुनसरीमा मात्र ५८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीकी फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार १८ जना महिला र ४० जना पुरुषमा संक्रमण देखिएको हो।

लिङ्थेपका अनुसार धरानमा ३१, इटहरीमा १६, दुहवीमा ९ र झोक्राहामा २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५८ जनाको रिपोर्ट पोजेटीभ आएको हो।

यससँगै सुनसरीमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १३ सय पुगेको छ। जसमा ३२७ जना महिला र ९७३ जना पुरुष रहेको लिङ्थेपले जानकारी दिइन्। त्यस्तै कोरोना संक्रमणकै कारण ७ जनाको मृत्यु भइसकेको छ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले ५८ जना संक्रमित थपिएको तथ्यांक दिँदा प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्याकंमा २२ जना मात्र संक्रमित थपिएको उल्लेख छ। संक्रमित मध्ये सुनसरीमा हालसम्म ५९२ जना डिस्चार्ज भइसकेका छन् भने भने ७०१ जना संक्रमित उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार सुनसरीको दुहवीमा ३ महिला ११ पुरुष, धरानमा ३ महिला १ पुरुष, इटहरीमा २ पुरुष, देवानगञ्ज र स्थानीय तह नखुलेका १/१ पुरुषमा पनि आजै कोरोना संक्रमण पुष्टी भएको छ। 

जिल्लामा आजमात्रै आएका रिपोर्टहरुको तथ्याकं प्रदेशसम्म नपुगेकोले प्रदेश र जिल्लाको तथ्याकं फरक भएको हुनसक्ने अधिकारीहरुले बताएका छन्। यता केन्द्रले भने सुनसरीमा आज मात्र १७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell