PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

वीरगंजका ३ भन्सार नाकामा १५ सय कार ‘होल्ड’, पार्किङ शुल्क मात्रै ३ करोड ८ लाख



राधेश्याम पटेल

वीरगंजका ३ भन्सार नाकामा १५ सय कार ‘होल्ड’, पार्किङ शुल्क मात्रै ३ करोड ८ लाख

वीरगंज : दशैँ नजिकिँदै गर्दा पनि वीरगंज नाकाबाट पहिले जस्तो गाडी आयात भएको छैन। दशै–तिहारमा विशेष गरी मोटरसाइकलदेखि विलासी कार र हेभी सवारी साधनहरुको विगतमा खुबै आयात हुन्थ्यो।

विगत ६ महिनादेखि नेपालले कोरोनाको महामारी खेप्दै आएको छ। जसको असर देशकै पूरै अर्थव्यवस्थामा नकारात्मक परिरहेको छ। चैत ११ देखि नेपालमा शुरु भएको लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण बजार बन्द छन्। सडकमा गाडी गुड्न पाएका छैनन्। शोरुममा राखिएको कारहरु बिक्री नभएर त्यसै थन्किएका छन्।

त्यसमाथि पूर्व अर्थमन्त्री डा युवराज खतिवडाको गाडी आयातमा फेरबदल गरेको भन्सार नीतिको कारण नेपालका गाडी आयातकर्ताहरु निराश बन्नुको साथै खरबौँको लगानी रहेको व्यवसाय पनि घाटाको व्यापार बन्न थालेको बताउँछन्। गाडी आयात रोक्दा व्यापार घाटा घटाउन सरकारले त्यस्तो नीति ल्याएको अर्थमन्त्रीको दावी थियो। तर, गत जेठ १५ को बजेट भाषणमा पनि विद्युतीय गाडीको आयातमा कडाई गर्दै राजश्वको दर बढाउँदा अहिले विद्युतीय गाडीहरु पनि भन्सार नाकामै होल्ड भएर खिया लाग्न शुरु भएको छ।

वीरगंजमा अहिले ३ वटा भन्सार नाकामा १ हजार ५ सय सवारी साधनहरु होल्ड भएर बसेको भन्सार अधिकारीहरुले बताएका छन्। वीरगंज भन्सारको पुरानो भन्सार नाकामा ३ सय कार, आइसीपी नाकामा १ हजार १४ गाडी (ट्रक, ट्रिपर, कार, जिप भ्यान, ट्रयाक्टर, लरी) गरी करिब १३ सय गाडी अडकेका छन्। त्यस्तै, श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको यार्डमा करिब २ सय विभिन्न ब्रान्डका गाडीहरु रहेका छन्। कुल गाडीमध्ये ८० प्रतिशत विलासी कारहरु रहेका छन्।

कारहरुमा मारुती सुजुकी, हुन्डाई, महिन्द्रा, किया, ईसुजु, फोर्ड, टोयोटा, निसान, प्राडोलगायतका गाडीहरु रहेको आइसीपी भन्सार सञ्चालन हेर्ने नेपाल ईन्टरमोडेल यातायात विकास समिति, आइसीपी वीरगंजका वरिष्ठ सहायक प्रकाशकुमार झाले बताए। उनका अनुसार २ दिनदेखि ५३२ दिनसम्म पनि होल्ड भएको थुप्रै कारहरु रहेको बताए।

उनले २ दिनदेखि ८ दिन सम्म २७३ रुपैयाँ प्रतिदिन लाग्छ भने त्यसपछि हरेक दिनको ५३२ रुपैयाँ पार्किङ शुल्क जोडिदै जाने नियम छ। आइसीपीमा रोकिएका करिब १ हजार १४ वटा गाडीको पार्किङ शुल्क मात्रै ३ करोड ८ लाख असुल गर्न बाँकी रहेको उनले बताए। होल्ड भएका गाडीको पार्किङ बढ्दै जाँदा पछि आयातकर्तालाई थप भार पर्दै जान्छ।

उनले हुन्डाई ब्रान्डको कार आयात गर्ने नेपाली आयातकर्ता लक्ष्मी इन्टरकन्टिनेटल लिमिटेडले गत जेठ अगावै मगाएको २७ वटा विद्युतीय कार पनि जाँचपास हुन नसकेर थन्केर बसेको बताए। त्यसैगरी, कन्टिनेटल ट्रेडिङले आयात गरेको किया, जिओ अटो मोबाइल्सले आयात गरेको फोर्ड ब्रान्डको कार, अग्नीले आयात गरेको महिन्द्राको गाडीहरु, सिप्रदीले आयात गरेको टाटाको गाडीहरु, चौधरी समूहले मगाएको मारुती सुजुकीको कारहरु, जापानीज ब्रान्डको टोयोटा र निसानको गाडीहरु पनि होल्ड भएको छ।

त्यसैगरी, १० वटा प्राडो कार पनि होल्ड भएको छ। बजार बन्द र माग कम भएपछि गाडी आयातकर्ताहरुले गाडी भन्सार विन्दुबाट नछुटाएको भन्सार अधिकारीहरुले बताएका छन्।वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहका अनुसार डिजेल पेट्रोलबाट चल्ने विलासी गाडीको आयातमा ६० देखि ८० प्रतिशत सम्म भन्सार महसुल, शतप्रतिशत अन्तशुल्क, १३ प्रतिशत भ्याट र ८ प्रतिशत सडक निर्माण दस्तुर जोड्दा करिब २ सय प्रतिशत राजश्व तिर्नु पर्छ। त्यसकारण गाडी बुक भएर ग्राहक किन्न पक्का भएपछि मात्र आयातकर्ताले भन्सार नाकाबाट गाडी छुटाएर शोरुममा लग्छन्।

विद्युतीय गाडीमा पनि राजश्व बढाउँदा विद्युतीय गाडीको आयात ठप्प भएको छ भने भन्सार नाका सम्म आईसोको गाडी जाँचपास गराउन पनि व्यवसायी उदासिन बनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell