काठमाडौं : कक्षा कोठा कहिले खुल्ने पत्तो छैन। धेरैजसो स्कुल र विश्वविद्यालय छलफलमै छन् - पढाउन त जसोतसो मिल्ला तर परीक्षा कसरी लिने? एसइइको परीक्षा आन्तरिक मूल्याङ्कनमै टर्यो। अब महामारीबाट जोगाउँदै शैक्षिक संस्था कसरी खोल्ने?
सरकारसँग न त रणनीति न त कुनै योजना नै। जेनतेन अनलाइनबाट भएको पढाइको परीक्षा लिन स्कुल कलेजलाई सकस छ - सबैको पहुँचमा इन्टरनेट छैन। भएको ठाउँको पनि गुणस्तरीय छैन। यही तनावमा छन् शैक्षिक संस्थादेखि अभिभावक र विद्यार्थी।
तर, लुम्बिनी बौद्ध विश्वविद्यालयले भने अभिभावक र विद्यार्थीलाई यो फिक्रीबाट छुटकारा दिएको छ। समस्याको समाधान खोजेर विश्वविद्यालयले स्नातक र स्नातकोत्तरको परीक्षा अनलाइन र अफलाइन(प्रत्यक्ष)बाट धमाधम लिइरहेको छ। कोरोना संक्रमणको त्रासका कारण शैक्षिकसत्र नै डामाडोल भएको बेलामा कसरी सम्भव भयो त परीक्षा?
'डोर टु डोर इक्जाम'
दुई महिनाअघि विश्वविद्यालयका रजिष्टार डा तिलकराम आचार्यको अध्यक्षतामा रहेको परीक्षा समितको बैठक बस्यो। साउन १५ देखि अनलाइनबाटै परीक्षा सुरु गर्ने निर्णय गर्यो बैठकले। तर, परीक्षा तोकिएको समयमा हुन सकेन।
इन्टरनेटको पहुँचमा नभएका विद्यार्थीले कसरी परीक्षा दिने?
जवाफ थिएन विश्वविद्यालयसँग।
केही सीप नलागेपछि विद्यार्थीबारे अध्ययन गरे। उनीहरु बस्ने भूगोल, इन्टरनेटको पहुँच, कोरोना संक्रमणको जोखिमबारे अध्ययन केन्द्रित थियो। अनलाइनबाट परीक्षा लिन चाहियो- इन्टरनेट।
अध्ययनले देखायो - इन्टरनेट धेरैजसोको पहुँचमा छैन।
अध्ययनको अर्को निष्कर्ष थियो - प्रत्यक्ष परीक्षा दिन नै विद्यार्थी उत्सुक छन्।
त्यसपछि 'डोर टु डोर इक्जाम' मोडलबाट परीक्षा लिन सकिने निष्कर्षमा पुग्यो शिक्षा समिति। जसरी पनि शैक्षिक गतिविधिलाई निरन्तरता दिने पक्षमा थिए रजिष्टार आचार्य पनि।
थोरै विद्यार्थी भएको संकायमा अनलाइनबाट र धेरै विद्यार्थी भएकोमा परीक्षा केन्द्रमै परीक्षा लिने तयारी भयो। यसको पछाडिको एउटै कारण थियो-धेरैको पहुँचमा इन्टरनेट छैन भन्ने नै। धेरैको प्रत्यक्ष परीक्षा लिनुपर्ने भएपछि अर्को चिन्ता थपियो- कोरोना संक्रमणबाट कसरी जोगिएर लिने परीक्षा? विद्यार्थी नै संक्रमित भए के गर्ने?
जहाँ विद्यार्थी त्यही परीक्षा
यस्तै झन्झट्को समाधान खोज्दा झण्डै ७ महिनासम्म विद्यार्थी परीक्षाबारे अन्योलमा बस्नुपर्यो। विश्वविद्यालयले पनि परीक्षाबारे ठोस निर्णय गर्न सकेन। तर परीक्षा सुरु हुनु १५ दिनअघि विद्यार्थीलाई विश्वस्त पारियो- परीक्षा जसरी पनि हुन्छ।
परीक्षाका लागि दुई हप्ताको होम क्वारेन्टाइन अनिवार्य गरियो।
होम क्वारेन्टाइनबाट विश्वविद्यालयको परीक्षा हलसम्म विद्यार्थी बोलाएर परीक्षा लिन असम्भव नै भयो। त्यसैले जहाँ विद्यार्थी त्यही परीक्षा लिने नीति अपनायो विश्वविद्यालयले। आठवटा परीक्षा केन्द्र तोकियो, ९२ जना विद्यार्थीका लागि।
'विश्वविद्यालयको हलमा ल्याएर परीक्षा लिन त कठिन हुने भयो। संक्रमणको जोखिम पनि हुने भयो,' आचार्यले भने, ' त्यसो भए जहाँ विद्यार्थी त्यहाँ परीक्षा लिनुपर्छ भन्ने भयो।'
विद्यार्थीलाई ३ देखि ५ किलोमिटरको दुरीमा पायक पर्ने गरी परीक्षा केन्द्र तोकियो। विभिन्न ठाउँका क्याम्पस प्रमुखसँग छलफल गरेर परीक्षा हलको व्यवस्था गरियो। कपिलवस्तुको महाराजगञ्जमा, अर्घाखाँचीको सन्धिखर्कमा, नवलपरासीको सुनवल, बुटवलको तीनवटा ठाउँमा परीक्षा केन्द्र तोकिएको छ। आफ्नो घरबाटै हिँडेरै परीक्षामा विद्यार्थी सामेल भइरहेको आचार्यले बताए।
बीए/एलएलबी, ह्युमनिटिज्, मेडिसिन सम्बन्धीको परीक्षा भइरहेको छ भने बिबिटीएमको परीक्षा असोज ११ गतेदेखि सुरु हुँदै छ। लगातार ५ दिनसम्म परीक्षा तोकिएको छ।
प्रश्नपत्र र उत्तरपुस्तिका इमेलबाटै
विश्वविद्यालयलाई सबैभन्दा धेरै समस्या भयो प्रश्नपत्र र उत्तरपुस्तिका हलसम्म कसरी पुर्याउने? र सुरक्षित कसरी राख्ने? सुरक्षाबारे स्थानीय प्रशासनले सहयोग गर्न तयार भयो भने इमेलबाटै प्रश्नपत्र पठाउने र इमेलमै उत्तरपुस्तिका स्क्यान गरेर पठाउने व्यवस्था गरियो। परीक्षा व्यवस्थित गर्नसम्बन्धित क्याम्पसका क्याम्पस प्रमुखलाई केन्द्राध्यक्ष तोकियो।
यसरी परीक्षा लिनु आफ्ना लागि नयाँ अनुभव भएको आचार्यले बताए। महामारीका बेला प्रत्यक्ष परीक्षा लिने आफ्नो विश्वविद्यालय नै पहिलो भएको दाबी छ उनको।
'यसरी प्रत्यक्ष परीक्षा लिने हामी नै हो पहिलो। यो नयाँ अनुभव पनि हो। अलि खर्चिलो त हुने नै भयो। जनशक्ति पनि धेरै चाहिने भयो,'उनले भने। अनलाइनमा परीक्षा लिन एकदमै कठिन भएको अनुव छ आचार्यसँग। परीक्षा लिँदालिँदै कतिपय ठाउँमा इन्टरनेट गएपछि, विद्यार्थीलाई इन्टरनेट राम्रो भएको ठाउँमा राखेर परीक्षा लिनुपरेको उनी सुनाउँछन्। राज्यका लागि आफूले गरेको काम राम्रो उदाहरण हुनसक्ने आचार्यको बुझाइ छ।
एक जनाका लागि पनि परीक्षा केन्द्र!
धेरैजसो विद्यार्थी बुटवल, नवलपरासी, अर्घाखाँचीका छन्। तर एक जना विद्यार्थी भने हुम्लाका रहेछन्। उनलाई पनि परीक्षामा सहभागी गराउनुपर्ने भएकाले परीक्षाकेन्द्र तोकियो सदरमुकाम सिमिकोटमा। निकै विकट ठाउँमा विद्यार्थीको घर भएकाले ५ दिन हिँडेर विद्यार्थी सिमिकोट आएको र उनका लागि मात्रै परीक्षा केन्द्र तोकिएको आचार्यले बताए।
'उनी ५ दिन हिँडेर सदरमुकाम आए। हामीले उनका लागि पनि परीक्षा केन्द्र बनाइदियौं,' उनले भने। जेलमा समेत परीक्षा दिन सकिने भएकाले एक जनाकै लागि पनि परीक्षा केन्द्र तोकेर परीक्षा लिएको आचार्यको भनाई छ। स्थानीय प्रशासनको समन्वयमा सिमिकोटमा परीक्षा भइरहेको छ। कुनैपनि विद्यार्थीलाई परीक्षाबाट बन्चित नगराउने उद्यश्य भएकाले पनि जहाँ विद्यार्थी त्यही परीक्षा लिएको आचार्यले बताए। यो परीक्षा सकिनसाथ अनलाइन कक्षा सुरु गर्ने र पुसमा फेरि परीक्षा लिने तयारी छ, विश्वविद्यालयको।
मास्क, पन्जा र ४ मिटरको दुरी अनिवार्य
परीक्षार्थी नै संक्रमित भए वा संक्रमित भएर आइसोलेसनमा बसिरहेको भए पनि परीक्षा दिलाउने मनस्थितिमा थिए आचार्य। आइसोलेसनमै परीक्षा लिने तयारी पनि थियो। सुखद् पक्ष के रह्यो भने, ९२ जना विद्यार्थीमध्ये कोही पनि संक्रमित छैनन्। संक्रमित नभए पनि सुरक्षाका सम्पूर्ण उपाए भने अपनाइएकै छ।
मास्क, पन्जा र स्यानिटाइजर अनिवार्य नै छ। यसबाहेक संक्रमणबाट बच्न विद्यार्थीलाई आफ्नो हरेक दिनको ज्वरोबारे क्याम्पस प्रशासनलाई जानकारी दिने ब्यवस्था छ। संक्रमणको जोखिम नहोस भनेर सुरुदेखि अन्तिम दन सम्म एउटै सिटमा राखिएको छ, परीक्षार्थीलाई।पानी पनि आफ्नै घरबाट लिएरै पिउनुपर्ने बाध्यकारी ब्यवस्था गरिएको आचार्यले बताए।
परीक्षा हलभित्र ४ देखि ६ मिटरको दुरी कायम गरेर परीक्षा सञ्चालन गरिएको आचार्यले जानकारी दिए।
'३ मिटर मात्रै होइन हामीले त ४ देखि ६ मिटरको दुरी भनेका छौं। ढुक्कसँग विद्यार्थीले परीक्षा देउन् भन्ने हाम्रो उद्देश्य हो,' उनले भने। होम क्वारेन्टाइनमा बसेकाले पनि संक्रमणको जोखिम कम भएको र विद्यार्थीले निर्धक्क परीक्षा दिइरहेको उनले बताए। परीक्षा दिन पाएकोमा विद्यार्थी एकदमै खुसी भएको आचार्यको भनाई छ।
'हामीले परीक्षा नलिएर अर्को सेमेस्टरमा पढाउने पनि कोसिस गर्यौ। तर अनलाइनमा पढ्न आएनन्। उनीहरु त्यति उत्साहित भएनन्। अर्कोतिर शिक्षक पनि त्यति सक्रिय भएनन्,'उनले भने। परीक्षा नलिँदा विद्यार्थी मानसिक रुपमा अर्को ग्रेडमा पढ्न तयार नहुने भएकाले परीक्षा लिनु जरुरी भएको आचार्यको तर्क छ।
हरेक वडामा परीक्षा केन्द्र तोके सबैको परीक्षा लिन सकिन्छ
रजिष्टार आचार्य स्कुलदेखि क्याम्पससम्मका परीक्षा सञ्चालन गर्न सकिने तर्क गर्छन्। अनलाइनमा पढाइ र प्रत्यक्ष परीक्षा विधि अपनाए हाल देखिएको शिक्षा क्षेत्रको समस्या हल उनको उनको धारणा छ। त्यसका लागि परीक्षा लिने जिम्मा स्थानीय तहलाई दिनुपर्ने सुझाव छ, उनको। घर गएका विद्यार्थीलाई आफ्नै वडामा परीक्षा दिलाउन सकिने उनको भनाई छ।
'हरेक वडामा वडा अध्यक्षको मातहतमा शिक्षा समिति हुन्छ। त्यसलाई जिम्मा दिएर परीक्षा लिन सकिन्छ। अहिले कम्तीमा वडामा एउटा स्कुल त हुन्छ नि। त्यही परीक्षा सेन्टर बनाउँदा देशभर परीक्षा लिन सकिन्छ,' उनले भने। ११ कक्षाको स्थगित परीक्षा पनि यसै विधिबाट गर्न सकिने उनको उनको धारणा छ। 'डोर टु डोर इक्जाम' नै अहिलेको सबैभन्दा शैक्षिक सत्र जोगाउने उत्तम विकल्प भएको आचार्यको मत छ।