PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बहराइनको राजपरिवार उत्रियो काठमाडौं, पर्यटन क्षेत्रमा 'बाउन्स ब्याक'को आशा

बहराइनको राजपरिवार उत्रियो काठमाडौं, पर्यटन क्षेत्रमा 'बाउन्स ब्याक'को आशा


काठमाडौं : कोभिड-१९ संक्रमण रोकथाममा लागि लगाएको लकडाउन र निषेधाज्ञाका कारण पर्यटन क्षेत्र लगभग ठप्प रहेको बेला पहिलोपटक बुधवार नेपालमा 'हाइप्रोफाइल' पर्यटक भित्रिएका छन्।

बहराइनका राजपरिवारको टोली हिमाल आरोहणका लागि आज दिउँसो ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका हुन्।

राष्ट्रिय सुरक्षा सल्लाहकार तथा रोयल गार्ड प्रमुखसमेत रहेका बहराइनका ३३ वर्षे राजकुमार शेख नसिद बिन हमाद अल खलिफाको टोली चार्टड् फ्लाइटबाट विमानस्थल उत्रेका हुन्। टोलीमा १५ जना सदस्य रहेका छन्।

बहराइनी टोली भित्रिएसँगै लामो समयदेखि अन्योलमा रहेको नेपाली पर्यटन क्षेत्रमा उत्साह थपिएको छ। पर्यटक भित्रिएसँगै नेपाली पर्यटन क्षेत्रमा 'बाउन्स ब्याक' हुने पर्यटन व्यवसायीले बताएका छन्।

राजकुमारको टोलीलाई सेभेन समिट ट्रेक्सको टोलीले प्रशिक्षण दिने र हिमाल आरोहणमा साथ दिनेछन्।

भदौ दोस्रो साता सरकारले बहराइनका राजकुमारलाई हिमाल आरोहणका लागि नेपाल आउन दिने निर्णय गरेको थियो।

भदौ दोस्रो साता बसेको मन्त्रिपरिषदको बैठकले सेप्टेम्बर १५ पछि बहराइनका राजकुमारसहित १५ बहराइनी र ३ जना ब्रिटिस गरी १८ जनाको टोलीलाई लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आउन दिने निर्णय गरेको थियो।

स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गरी चार्टर फ्लाइटबाट नेपाल आउन दिने निर्णय गरिएको थियो। बहराइनबाट आइपुगेको टोली एक हप्ता होटल क्वारेन्टाइनमा बस्नेछन्। र, हिमाल आरोहणका लागि तालिममा सहभागी हुन मनास्लु क्षेत्रमा लाग्नेछन्।

अर्को वर्ष सगरमाथा आरोहण

राजकुमार सेख नासिर विन हमाद अल खलिफाको नेतृत्वको टोलीले अर्को वर्ष सगरमाथाको आरोहण गर्नेछन्।

यस वर्ष नेपालका ८ हजार उचाईका हिमालको आरोहण गरी सगरमाथा आरोहणको तयारी गर्ने छन्। यस वर्ष दुई चरणमा सगरमाथा आरोहणको तालिम हुने छ। जसमध्ये मनास्लु र सगरमाथा नजिकको लोबुचे इस्टको आरोहण गर्ने छन्।

बहाराइनको राज परिवारले यससम्बन्धी घोषणा गत अप्रिलमा नै गरेको थियो। अगस्टमा नै सगरमाथा आरोहण गर्ने टोलीलाई त्यहाँको रोयल गार्डको सर्भिसमेन झण्डा हस्तान्तरण गरिएको थियो।

सगरमाथा आरोहणका लागि राजकुमारले नै टोलीको छनोट गरेका थिए। बहराइनका राजा हमाद विन इसा खलिफाका चौथो सन्तान सेख नासेर गल्फ राष्ट्रहरुको ओलम्पिक कमिटीका अध्यक्षसमेत हुन्।

बहराइन गल्फ क्षेत्रको नेपालको महत्त्वपूर्ण साझेदार कम्पनी हो।

यो टोलीमा राजकुमारसहित बहराइनको रोयल गार्डका १५ सदस्य सहभागी हुँदै छन्। उनीहरुलाई ५० जना शेर्पाले साथ दिने छन्।



ट्रेन्डिङ पोस्ट

Ncell