काठमाडौं: काडमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन कमलपोखरीको २ स्थानका ट्राफिक लाइट आजदेखि सञ्चालनमा आएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्य र कामनपा वडा नम्बर १ को सक्रियतामा कमलपोखरी ल्होत्से चोकको र कामनपा वडा नम्बर ५ को सहकार्यमा हाडीगाउँ (भाटभटेनी अगाडि)को ट्राफिक लाइट नयाँ जडान गरी सञ्चालनमा ल्याइको एसएसपी भीम ढकालले जानकारी दिए। उनले उपत्यकाको अन्य स्थानहरूमा पनि स्थानीय तहसँग समन्वय गरी ट्राफिक लाइट जडान गर्न पहल भइरहेको बताए।
पछिल्लो समय महाशाखाले उपत्यकाका स्थानीय तहको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ। यसअनुसार कुपण्डोल, झम्सिखेल, हनुमानस्थान, मैतीदेवी, सोह्रखुट्टे चोक, सितापाईला, बौद्ध, ग्रान्डी लगायतका ११ स्थानमा ट्राफिक लाइट जडानका काम शुरू भैरहेको र उपत्यकाको अन्य थप ४६ स्थानमा पनि ट्राफिक लाइट जडानको लागि पहल भैरहेको महाशाखाले जनाएको छ।
ट्राफिक लाइट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाइटको पूर्ण पालना गर्न पैदलयात्री तथा सवारी चालकलाई महाशाखाले अपिल गरेको छ।
प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (सभागृह जाने मोड), पद्मोदय (अनामनगर जाने मोड), पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयाँ ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वर, महापाल, पुल्चोक, हरिहरभवन र अल्का अस्पताल अगाडि लगायत क्षेत्रका ट्राफिक लाइट सञ्चालनमा ल्याइसकेको छ।
