विराटनगर : नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरमा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ की ६४ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।
प्रबन्धक दाहालका उनी अनुसार भदौ २८ गते आइतवार अस्पताल भर्ना भएकी थिइन्। उनको पित्तथैलीको शल्यक्रिया गर्नुपर्ने थियो। तर, शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण अनिवार्य भएकाले सोही दिन राति उनको स्वाब संकलन गरिएको थियो।
‘जुनसुकै प्रकारको शल्यक्रिया गर्नुअघि पीसीआर परीक्षण गराउनुपर्ने हाम्रो अस्पतालको नियमै छ’, प्रबन्धक दाहालले भने, ‘रिपोर्ट नेगेटिभ आए शल्यक्रिया गर्छौं, नत्र गर्दैनौं। अस्पतालकै नियम अनुसार उहाँको पीसीआर परीक्षण गरियो, रिपोर्ट पोजिटिभ आयो तर भोलिपल्ट उहाँको मृत्यु पनि भयो।’
ती महिलाको २९ गते सोमवार पीसीआर रिपोर्ट आएको र मंगलवार मृत्यु भएको प्रबन्धक दाहालले बताए।
‘२८ गते स्वाब संकलन गरियो, २९ गते राति करिब १२ बजे रिपोर्ट आयो, अनि मृत्यु भयो ३० गते राति १० बजे,’ उनले भने।
दाहालका अनुसार संक्रमण देखिएपति अस्पतालले ती महिलालाई आइसीयूमा राखेर उपचार शुरु गरेको थियो। ती महिलामा ढाड दुख्ने र श्वासप्रश्वासको समस्या रहेकाले अस्पतालमै उपचारको क्रममा मृत्यु भएको पनि उनले जानकारी दिए।
बेलबारी नगरपालिका वडा नम्बर ७ मा पहिलो संक्रमण देखिएको वडा अध्यक्ष चेत बहादुर बस्नेतले बताए। यसअघि कसैमा पनि कोरोना संक्रमण नदेखिएको र ती मृतक महिला नै वडाको पहिलो संक्रमित र संक्रमणबाट मृत्यु हुने व्यक्ति रहेको उनले बताए।
‘हाम्रो वडामा त यो नै पहिलो संक्रमण र संक्रमितको मृत्यु हो’, वडा अध्यक्ष बस्नेतले भने, ‘आइतवार नोबेल उपचारका लागि जानुभएको उहाँको मृत्युपछि पोजिटिभ रिपोर्ट आएको भन्ने जानकारी पाएको छु।’
कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको बुधवार नै नेपाली सेनाको टोलीद्वारा शव व्यवस्थापन गरिएको पनि अस्पतालका प्रबन्धक दाहालले जानकारी दिए।